१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस: सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र

फायल तस्वीर

नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ। तर कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै विभाग र निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा भए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन।

सभापति शेरबहादुर देउवाले शुक्रबार विधानको धारा ३७ को १ (ग) अनुसार १५ जना केन्द्रीय सदस्यलाई विभिन्न १५ विभागको प्रमुख तोकेका छन्। कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय, पुष्पा भुसालले महिला, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, किरण यादवले तराई-मधेस समन्वय, योगेन्द्र चौधरीले थारु, गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ। तर कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन।

त्यस्तै प्रकाश रसाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख तोकिएको छ।

प्रमुख तोकिएका यी विभागले कहिले पूर्णता पाउँछन् र बाँकी विभागका प्रमुख कहिलेसम्म तोकिन्छन् भन्ने निश्चित छैन। पार्टीभित्रको गुटगत सन्तुलन मिलाएर विभाग गठन र तिनलाई पूर्णता दिने गृहकार्यमा सभापति देउवा जुटेको निकटहरूको दाबी छ।

संस्थापन इतर पक्षले विभाग प्रमुखका लागि नाम दिन विलम्ब गरेकै कारण गठनमा ढिला भएको संस्थापन पक्षका नेताहरूको दाबी छ। गुटगत सन्तुलन मिलाउन विद्यमान विभागको संख्या थप गर्ने प्रस्ताव साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा पेस गरिएको थियो। सोहीअनुसार विभाग गठन गृहकार्यमा सभापति देउवासहितका पदाधिकारी जुटेका छन्।

कांग्रेस विधानमा ४८ विभाग रहने व्यवस्था छ। केन्द्रीय समिति बैठकमा २२ वटा विभाग थप्न प्रस्ताव भएको थियो ।

यसअघि सभापति देउवाले प्रचार, अनुशासन, निर्वाचन, लेखा समितिको प्रमुख तोकेका थिए। उपसभापतिको नेतृत्वमा रहने नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएका सभापति देउवाले केहीदिन अघि अनुशासन समितिलाई पूर्णता दिएका थिए।

संस्थापन इतर पक्षले विभाग प्रमुखका लागि नाम दिन विलम्ब गरेकै कारण गठनमा ढिला भएको संस्थापन पक्षका नेताहरूको दाबी छ।

प्रमुख तोकिएका समिति र विभाग पनि पूर्णता पाउन नसक्दा क्रियाशील हुन सकेका छैनन्। साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले भदौ १५ गतेभित्र विभाग गठन गरिसक्नुपर्नेलगायतका प्रस्ताव राखेका थिए। सोही कार्यतालिकाअनुसार पनि कांग्रेस विभाग र समितिलाई पूर्णता दिन असफल भएको छ।

विभागहरू मात्र होइन, कांग्रेस केन्द्रीय समितिले पनि पूर्णता पाउन सकेको छैन। १६८ सदस्यीय केन्द्रीय समितिमा झन्डै एक दर्जन सदस्य मनोनीत गर्न बाँकी छ। कोषाध्यक्ष पद पनि रिक्त छ। महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठजना सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुने व्यवस्था विधानमा छ।

विधानको धारा २१ (४) मा कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै एकजनालाई मनोनयन गर्न सभापतिले प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। सभापतिको यो प्रस्तावलाई केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यले अनुमोदन गर्नुपर्छ। केन्द्रीय समितिमा निर्वाचित झन्डै ८० प्रतिशत केन्द्रीय सदस्य सभापति देउवा पक्षका छन्। तर देउवाले अहिलेसम्म कोषाध्यक्ष मनोनयन प्रक्रिया अघि बढाएका छैनन्। कांग्रेस १४औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानको धारा ६० मा महाधिवेशन सकिएको ६ महिनाभित्र केन्द्रीय विभाग लगायतका निकाय गठन गरिसक्नुपर्ने व्यवस्था छ।

पार्टीका भ्रातृ संगठनको अवस्था पनि लथालिंग छ। कार्यकाल गुजारेका भ्रातृ संगठनका केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशनमा जानेगरी २०७९ फागुनमा तदर्थ समिति गठन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष तोकेको एक वर्षपछि सभापति देउवाले विधानको व्यवस्थाविपरित केन्द्रीय समिति गठन गरेका छन्।

युवा तथा विद्यार्थी पार्टी छाडेर अन्यत्र जान थालेपछि सभापति देउवाले सात सय सदस्यीय नेपाल विद्यार्थी संघ र चार सय सदस्यीय नेपाल तरुण दलको केन्द्रीय समिति गठन गरेका हुन्। महिला संघ, किसान संघ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन भए पनि अपूर्ण छन्। महिला संघसहितका संगठनमा केन्द्रीय समिति गठनसँगै आन्तरिक विवाद तीब्र बन्न पुगेको छ। प्रजातन्त्र सेनानी संघ, भूतपूर्व सैनिक संघ, मुस्लिम संघ, ठाकुर समाज, दलित संघको तदर्थ समिति गठन हुन सकेको छैन।

पार्टीका भ्रातृ संगठनको अवस्था पनि लथालिंग छ। कार्यकाल गुजारेका भ्रातृ संगठनका केन्द्रीय समितिलाई विघटन गर्दै महाधिवेशनमा जानेगरी २०७९ फागुनमा तदर्थ समिति गठन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो।

गुटगत विवाद र सन्तुलन मिलाउन नसक्दा सभापति देउवाले केन्द्रीय समिति र विभागलाई पूर्णता दिन नसकेका हुन्। त्यसैगरी प्रदेश, जिल्ला हुँदै वडा तहसम्मका संरचना पनि पूर्ण नहुँदा क्रियाशील हुन सकेका छन्। आन्तरिक विवाद समाधान गरी संगठनलाई चलायमान बनाउने भन्दै कांग्रेसले साउन २० गतेदेखि १० दिने अभियान चलाएको थियो। १० दिने अभियानमा पनि गुटगत विवाद देखिएपछि भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणमा गर्ने भनिएको ‘समुदायमा कांग्रेस’ कांग्रेस अभियान स्थगित भएको छ।

प्रकाशित: १७ भाद्र २०८० ०१:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App