१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पोखरामा शुक्रबार मोर्चाको सन्देश सभा, प्रधानमन्त्री सहित शीर्ष नेता आउने

गण्डकी संयोजकमा गायत्री गुरुङ

समाजवादी मोर्चाको गण्डकी संयोजकमा गायत्री गुरुङ चयन भएकी छन्। समाजवादी मोर्चाले गुरुङको संयोजकत्वमा समाजवादी मोर्चा गण्डकी प्रदेश संयोजन समिति गठन गरेको हो।

समाजवादी मोर्चाको केन्द्रीय संयोजन समितिले सातै प्रदेशमा प्रदेश सन्देश सभा गर्ने घोषणा गर्दै त्यसको संयोजन गर्ने जिम्मेवारी पनि बाँडफाँट गरेको थियो। सो अनुसार गण्डकी प्रदेशको पोखरामा हुने सन्देश सभाको संयोजन गर्ने जिम्मेवारी माओवादीको भागमा परेको थियो।

त्यस्तै, केन्द्रले सन्देश सभाको संयोजन गर्ने जिम्मेवारी जुन प्रदेशमा जसले पाएको हो त्यहाँ त्यही पार्टीको संयोजनमा प्रदेश संयोजन समिति गठन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको संयोजकत्वमा संयोजन समिति गठन गरेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

समाजवादी मोर्चाको गण्डकी प्रदेश संयोजन समितिमा माओवादीबाट संयोजक गुरुङसहित ज्ञामनाथ गैह्रे र जगन्नाथ खनाल, नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ जनता समाजवादी पार्टी जसपा बाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली तथा नेपाल कम्यनिष्ट पार्टीबाट राजन सी. दीपा सी र काजी सी गरेर १२ सदस्यीय संयोजन समिति बनेको नेकपा माओवादीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जानकारी दिए। मोर्चाकी संयोजक हाललाई माओवादीबाट भएपनि चार–चार महिनामा आलोपालो हुने उनले बताए।

इन्चार्ज पौडेलले समाजवादी मोर्चाको मूल उद्देश्य सासन, समृद्धि र सामाजिक न्याय स्थापना गर्नु रहेको बताए। ’मोर्चाको उद्देश्य अनुसार सामाजिक न्यायसहितको समृद्धि र सुशासनका पक्षमा संयोजन समितिले पहरेदारी गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि भूमिका खेल्नेछ,’ उनले भने। उनले अहिले बनेको मोर्चा भोलि एउटै पार्टी बन्न सक्ने बताए। ‘सहकार्य गर्दै जाँदा, मिल्दै जाँदा भोलि एकता पनि हुनसक्छ,’ उनले भने, ’बिचार, भावना, लक्ष्य र उद्देश्य मिल्दै गयो भने एकतासम्म पनि हुनसक्छ। नत्र मूलभूत विषयमा सहकार्य जारी रहन्छ।’

पोखरामा शुक्रबार मोर्चाको सन्देश सभा 

पोखरामा शुक्रबार हुने मोर्चाको सन्देश सभामा भाग लिन शीर्ष नेताहरु पोखरा आउने भएका छन्। 

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द पोखरा आउने आयोजकले बताएको छ। सन्देश सभा पोखरा सभागृहमा हुने आयोजकले बताएको छ। 

प्रकाशित: १४ भाद्र २०८० १२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App