असार २१ गतेदेखि अबरुद्ध वाग्मती प्रदेशसभाको बैठक यही भदौ १७ गते बस्ने भएको छ। वाग्मती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान र्णय गरेको हो। यस्तै विनाविभागीय मन्त्री रहँदै आएका रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने, वाग्मती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने, प्रदेशको आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० स्वीकृत गर्ने, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा संख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने निर्णय समेत गरेको छ।
यसैगरी, प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने, ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने, प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको वाग्मती प्रदेशका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत गर्ने र विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णयसमेत गरेको छ।
प्रकाशित: ६ भाद्र २०८० ०२:०६ बुधबार





