१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सातै प्रदेशमा सन्देशसभा गर्दै समाजवादी मोर्चा

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।

मोर्चाले भदौ ८ गते वीरगञ्ज, १२ गते बुटवल र १३ गते धनगढीमा सभा गर्ने भएको छ। त्यस्तै, भदौ १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।

असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले सबै प्रदेशमा सभा आयोजना र व्यवस्थापनको जिम्मेवारी पनि तोकेको छ। जसअनुसार वीरगञ्ज र विराटनगरको जनता समाजवादी पार्टी, बुटवलमा नेपाल कम्युनिस्ट पार्टी, धनगढी र हेटांैडामा नेकपा एकीकृत समाजवादी तथा पोखरा र सुर्खेतको कार्यक्रमको व्यवस्थापन माओवादी केन्द्रले गर्नेछ।  

सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा उनीहरूले उसलाई सन्देशसभा नाम दिएका छन्। मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ।  

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको बताए। बैठकले सन्देशसभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ। मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देशसभा गर्न लागिएको हो।

मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ। कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुखसहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन÷तीन जना र जिल्लामा दुई÷दुईजना रहने छन्। प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ।  

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ। त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ ।

प्रकाशित: ५ भाद्र २०८० ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App