१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री थापाले लिएको विश्वासको मत विवादमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव मुख्यमन्त्री थापाले राखेका थिए।

थापाले राखेको विश्वासको मतको पक्षमा ४७ र विपक्षमा ३० मत प्राप्त भएको कोशी प्रदेशसभामा सभामुखको भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सांसद इस्रायल मन्सुरीले जानकारी दिए।

विश्वासको मत लिनेक्रममा सभामुखको भूमिका निर्वाह गरिरहेका सांसद इस्रायल मन्सुरीलाई समेत मतदान गर्न लगाइए पछि विपक्षी दलका सांसदहरूले प्रदेशसभा भित्रै नाराबाजी गरेका थिए।

विपक्षी सांसदहरूको नाराबाजीकैबीचमा सभामुख मन्सुरीले मत परिणाम सार्वजनिक गरेका थिए। प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुख सृजना दनुवारलाई बिरामीको बहानामा प्रदेशसभामा उपस्थित नगराई काठमाडौँ पठाएपछि नेपाली कांग्रेसका सांसद तथा अध्यक्ष मण्डलका सदस्य  इस्रायल मन्सुरीले प्रदेश सभा सञ्चालन गरेका थिए। सत्तारुढ गठबन्धनसँग ४७ मत मात्रै रहेका कारण सभाध्यक्ष मन्सुरीलाईसमेत मतदान गर्न लगाइएको थियो।

सभामुखको भूमिकामा रहेका मन्सुरीले अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई सभाध्यक्ष बस्न लगाएर मतदान गरेका थिए। सभामुखको भूमिका निर्वाह गरिरहेका मन्सुरीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि प्रदेशसभा केहिबेर अशान्त बनेको थियो। नेकपा एमालेका सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। मन्सुरीले मतदान गरेको विषयले कोशी प्रदेशमा पुनः विवाद सृजना गरेको छ।

सभामुखको जिम्मेवारी सम्हालेका मन्सुरीलाई मतदान गर्न लगाएको विषय कानुन विपरीत नभएको कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बताए। आफैले बाेलाएको प्रदेशसभा बैठक छलेर उपसभामुख भागेका कारण यस्तो परिस्थित आएको थापाको भनाई छ। उनले मन्सुरी सभामुख, उपसभामुख केही पनि नभएका कारण जवर्जस्ती सभामुखको जिम्मेवारीमा पुर्‍याउने उपसभामुखले नै उत्पन्न परिस्थितिको जिम्मेवारी लिनुपर्ने स्पष्ट पारे।

‘सभामुखको हैसियतले नभई सांसदको हैसियतले मतदान गरेका कारण मन्सुरीले गरेको मतदान विधिसम्मत छ’ थापाले भने।

सभामुखलाई प्रयोग गरेर विश्वासको मत लिएपछि मुख्यमन्त्रीले लिएको विश्वासको मत विवादमा परेको छ। प्रतिपक्षी दल नेकपा एमालेले संविधान र कानुन विपरीतको गतिविधि सत्तापक्षबाट भएका कारण राजनीति र कानुनी दुवैखाले उपचार खोज्ने जनाएको छ। एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमालेले राजनीतिक र कानुनी दुवैखाले उपचार खोज्ने बताए।

कार्कीले भने ‘संविधान, कानुन र विधि मिच्ने काम सत्तापक्षबाट बारम्बार भएको छ। आज पनि  भएका कारण राजनीतिक र कानुनी दुवै खालको उपचार खोज्छौँ।’

कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ४७ जना सांसदहरू छन्। जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सदस्य छन्। यस्तै विपक्षी गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्।

९३ जना सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते नै विश्वासको मत लिन चाहेका थिए। तर, उपसभामुख सृजना दनुवारले भदौ ४ गतेलाई समय दिएकी थिइन्। आफैले दिएको समयमा समेत उपस्थित नभई विपक्षी ९ जना ज्येष्ठ सदस्यहरूलाईसमेत बिदामा राखेर दनुवार सोमबार बिहान ८ बजेलाई तोकिएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित नभई बिरामी भएको बहाना बनाई प्लेन चढेर काठमाडौँ लागेकी थिइन्।

दनुवार काठमाण्डौं लागेपछि कोशी प्रदेशसभामा बिदाको जानकारी गराएकी थिइन्। साथै उनले कोशी प्रदेशसभाका अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्रायल मन्सुरीलाई सभामुखको जिम्मेवारी तोकेकी थिइन्।

प्रकाशित: ४ भाद्र २०८० १५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App