१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना त्याग्नुपर्छ: आरजु राणा

नेपाली कांग्रेसकी नेत्री एवं सांसद डा. आरजु राणा देउवाले पार्टीभित्र जति ठूलो विवाद भए पनि पार्टीको विधिविधानभित्रै बसेर समाधान खोजिनुपर्ने बताएकी छिन्।

आज धनगढीमा आयोजित नेपाली कांग्रेस कैलालीको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै प्रधिनिधिसभा सदस्य डा. राणाले भनिन्, “जुनसकै पनि जीवन्त पार्टीभित्र विवाद उत्पन्न हुन्छ, त्यो नेपाली कांग्रेसमा पनि हुनसक्छ। तर त्यस्ता विवादलाई झन् चर्काउने होइन कि पार्टीकै विधिविधानभित्र बसेर सबै विवादहरूको समाधान खोज्नुपर्छ।”

उनले देश, पार्टी र जनताका लागि आफूले के गरिरहेको छु भनेर मनैदेखि सोच्नुपर्ने सुझाव कार्यकर्तालाई दिइन्। उनले भनिन्, “म मात्रै हुँ, म बाहेक अरुबाट पार्टी चल्दैन भन्ने भावना सबैले त्याग्नुपर्छ।”

नेत्री डा. राणाले पार्टीले गरेका राम्रा कामको प्रचार प्रसार गर्न जरुरी रहेकोमा पनि जोड दिइन्। अरु राजनीतिक दलहरूले आफूले गरेका साना कामहरूको पनि तिललाई पहाड बनाएर प्रचार गर्ने गरेको तर कांग्रेसले देश, व्यवस्था र नेपाली नागरिकका पक्षमा गरेका कैयौँ राम्रा कामहरूको पनि प्रचार गर्न नसकेको बताइन्।

अर्को एक छुट्टै प्रसङ्गमा नेत्री राणाले आफूबाट कुनै गल्ती या कमीकमजोरी नभए पनि आफ्ना विरुद्ध राजनीतिक षड्यन्त्र हुने गरेको गुनासो गरिन्। 

उनले भनिन्, “मैले कहीँ कतै कुनै गल्ती गरेको छैन। राजनीतिकरूपमा जे गरेको छु आफ्नो पार्टी तथा देशका लागि गरेको छु, तर पछिल्लो समयमा मेरा विरुद्धमा षड्यन्त्र हुने गरेको छ। मेरा विरुद्धमा अनर्गल प्रचारमात्र हुने गरेको छ।”

प्रकाशित: ४ भाद्र २०८० १३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App