१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्को अवरोध हटाउन सर्वदलीय बैठक डाक्ने तयारीमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्। संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूको समयलाई समेत मध्यनजर गरेर राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।  

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोगको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गतेदेखि संघीय संसद्का दुवै सदन अवरुद्ध गरेसँगै राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालदेखिका नेताहरूलाई शीतल निवास बोलाएर दबाब दिँदै आएका छन्। तर पनि संसद् अवरोध हटाउन दलहरूबीच सहमति जुट्न सकेको छैन।  

त्यसले जनतामा नकारात्मक प्रभाव पर्ने जनाउँदै राष्ट्रपति पौडेलले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शीतल निवास बोलाएरै संसद्को गतिरोध अन्त्यका लागि सहमति खोज्न लागेको शीतल निवास स्रोतले जनाएको छ।  

राष्ट्रपतिले पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई साउन २५ गते नै शीतल निवास बोलाएर संघीय संसद् सुचारुका लागि पहल लिन आग्रह गरेका थिए। त्यसको भोलिपल्ट साउन २६ गते संघीय संसदन्तर्गत प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई शीतल निवास बोलाएका थिए। सोही क्रमलाई निरन्तरता दिँदै राष्ट्रपति पौडेलले साउन ३१ गते प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन्। साउन २६ गतेदेखि नै ओलीलाई भेट्ने प्रयासमा रहेका राष्ट्रपतिले साउन ३१ गते बुधबार ओलीलाई शीतल निवास बोलाएर संसद्लाई सुचारु गर्न पहल लिन आग्रह गरेका हुन्। त्यसका साथै संक्रमणकालीन न्याय अझै टुंगोमा पुग्न नसकेको त्यस विषयमा पनि चासो राख्दै पौडेलले शिक्षा ऐनसहितका पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल गरेका थिए।  

सोही दिन सत्तारूढ तीन दलका शीर्ष नेताहरूले संघीय संसद्को जारी अवरोध हटाउन विपक्षी दलसँग संवाद तीव्र बनाउने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू छलफलमा जुटेका थिए। छलफलमा सरकार उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। शुक्रबार सभामुख घिमिरेले संसद्को जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए।

प्रकाशित: २ भाद्र २०८० ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App