८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

छाडा चौपाया व्यवस्थापनमा मुख्यमन्त्री चौधरीको प्रतिबद्धता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकराल समस्या बनेको छाडा चौपाया व्यवस्थापनका लागि आफूले ठोस पहल गर्ने बताएका छन्। जिल्ला समन्वय प्रमुख, २ प्रदेश सदस्य, ४ वटा पालिका प्रमुखसहितको टोलीले आइतबार भेटघाटका क्रममा दाङको देउखुरीस्थित मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई छाडा चौपाया व्यवस्थापनका लागि पहल गर्न ध्यानाकर्षण गराएपछि उनले सो प्रतिबद्धता व्यक्त गरेको बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले बताए।

बुद्धभूमि नगरका मेयर श्रेष्ठले छाडा चौपाया व्यवस्थापनमा मुख्यमन्त्री गम्भीर र सकारात्मक रहेको बताए। ‘मुख्यमन्त्रीले छाडा चौपायाको ठोस रूपमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने।

छाडा चौपाया व्यवस्थापनका लागि आगामी भदौ ९ मा बुद्धभूमि नगरपालिकाको बुढ्ढीमा मुख्यमन्त्री चौधरीको सहभागितामा बृहत् बैठकसमेत आयोजना गर्ने तय भएको छ। बैठकमा जिल्लाका १० वटै पालिका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख प्रदेश सदस्य, प्रजिअ, सुरक्षा निकायमा प्रमुख वन डिभिजनका प्रमुखलगायतको बृहत् सहभागितामा बैठक हुनेछ।

यसअघि प्रशासन कार्यालयको अगुवाइमा एक वर्षअघि छाडा चौपाया व्यवस्थापनका लागि प्रयास गरिएको थियो। बुद्धभूमिको गब्दाहवा वन क्षेत्रको सय हेक्टर क्षेत्रफलमा चौपाया राख्नका लागि निर्णयसमेत गरिएको थियो, तर वनको स्वीकृति नहुँदा अझसम्म त्यसले मूर्त रूप भने लिन सकिएको छैन। कपिलवस्तु नगरपालिकाका मेयर सुदी पौडेलले आफूहरू छाडा चौपाया व्यवस्थापनमा गम्भीर भएको र त्यसैका लागि आज मुख्यमन्त्रीसँग भेटसमेत गरेको बताए। ‘मुख्यमन्त्रीसँगको भेटपछि कपिलवस्तुमा छाडा चौपाया व्यवस्थापन हुन्छ भन्ने आशा पलाएको छ’, उनले भने।

छाडा चौपायाका कारण कृषकले लगाएको धान बालीसमेत सखाप हुने अवस्थामा पुगेको छ भने चौपायाको समेत बेहाल भएको छ। जिल्लामा गाई र गोरु पाल्न छाडिए पनि भारतबाट सीमा नाका कटाएर पठाइने गरिएकाले दिनप्रतिदिन जिल्लामा छाडा चौपायाको संख्या बढ्दै गएको युवा नेता राजेश ज्ञवालीले बताए। सुरक्षा निकायले सीमा नाकासमेत यसलाई रोक्न विशेष पहल गर्नुपर्ने उनले बताए।

टोलीमा प्रदेश सदस्य अर्जुन केसी र नवराज लामिछाने, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, शिवराज नगरपालिका मेयर अजय थापा, यशोधरा गाउँपालिका प्रमुख शिवदयाल तिवारीलगायत रहेका थिए।

प्रकाशित: २९ श्रावण २०८० ०४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App