७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद अवरोधका विषयमा राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा चासो देखाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिहीबार शीतल निवासमै बोलाएर संसद्को जारी अवरोधका विषयमा चासो राखेका राष्ट्रपति पौडेलले शुक्रबार बिहान सभामुख देवराज घिमिरेलाई बोलाएका हुन्।

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह हुने भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्। संसद् सञ्चालनका लागि आवश्यक पहलकदमी लिन पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा चासो देखाएका छन्।

संक्रमणकालिन न्याय अझै टुंगोमा पुग्न नसकेको भन्दै राष्ट्रपति पौडेलले त्यस विषयमा पनि चासो राखेका छन्। संक्रमणकालीन न्याय टुंगोमा पु¥याउन आवश्यक पहल लिन राष्ट्रपतिले आग्रह गरेको शीतल निवासनिकट स्रोतले जनाएको छ।

त्यस्तै, शिक्षा ऐनका विषयमा समावेश गरिएका विषयमा प्रश्न उठेको भन्दै राष्ट्रपतिले त्यस विषयमा चासो राखेका छन्। शिक्षा ऐनमा उठेका प्रश्नलाई छिट्टै समाधान गरेर जान सुझाउँदै राष्ट्रपतिले विवाद बढ्दै जाँदा त्यसले थप समस्या ल्याउनसक्नेतर्फ प्रधानमन्त्रीलाई सचेत गराएको स्रोतको दाबी छ।

जवाफमा प्रधानमन्त्री दाहालले संसद्को अवरोधसहितका विषयमा राष्ट्रपतिलाई जानकारी गराउँदै त्यसका लागि सरकारले आवश्यक पहल जारी राखेका जनाएका थिए। त्रिभुवन विमानस्थलबाट पक्राउ परेको सुनका विषयमा सिआइबीले अनुसन्धान जारी राखेका बेला अर्को समिति गठनको कुरा जायज नभएको भन्दै प्रधानमन्त्री दाहालले अनुसन्धान प्रतिवेदन नआएसम्म पर्खन विपक्षी एमालेलाई आग्रह गर्दै आएको जनाएका थिए। तर, एमालेले राज्यको अंगलाई विश्वास नगरेर समिति गठनको माग गर्दा समस्या उत्पन्न भएको जनाउँदै प्रधानमन्त्री दाहालले विगतमा पनि छानबिन समिति गठन हुने तर त्यसबाट परिणाम नआएको भन्दै सरकार त्यसतर्फ सचेत रहेको राष्ट्रपतिलाई जानकारी गराएको स्रोतको दाबी छ।

एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ। सोही सन्दर्भमा राष्ट्रपति पौडेलले शुक्रबार बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका हुन्। संसद्को जारी अवरोधका विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बिहान १० बजे सभामुखलाई शीतल निवास बोलाएका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले संसद्को अवरोधसहितका विषयमा राष्ट्रपतिलाई जानकारी गराउँदै त्यसका लागि सरकारले आवश्यक पहल जारी राखेका जनाएका थिए।

लामो समयदेखि अस्वस्थ रहेका राष्ट्रपति पौडेलले केहीदिन यता राजनीतिक भेटघाट बढाएका छन्। यद्यपि बिहानको थेरापी अझै केही दिन चल्ने भएकाले राष्ट्रपति पौडेलले बिहानको समयमा भने भेटघाट सुरु गरेका छैनन्।

यसैबीच, प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद् अवरोधका विषयमा छलफल गर्न नेपाली कांग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकको पूर्वतयारीका लागि बिहीबार साँझ संसदीय दलका नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका छन्।

प्रकाशित: २६ श्रावण २०८० ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App