२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कमजोर पार्टीका शक्तिशाली दाहाल

टिप्पणी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी तथा सत्ता राजनीतिमा एकपछि अर्को गर्दै शक्तिशाली बन्दै गएका छन्। १० वर्षे हिंसात्मक आन्दोलनलाई १२ बुँदे समझदारीमार्फत शान्तिप्रक्रियामा बदलेका दाहाल त्यसपछिका डेढ दशकमा तीनपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। तर तिनै दाहालको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र (नेकपा माओवादी हुँदै हाल माओवादी केन्द्र) भने कमजोर बन्दै गएको छ।

१२ बुँदे समझदारी हुँदै पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २४० सिटमध्ये १२० निर्वाचन क्षेत्रमा माओवादी एक्लैले जितेको थियो। २०७९ सालको निर्वाचनमा कांग्रेससहित पाँच दलको टेको समाउँदा पनि माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ३२ सिटमा सीमित रहनुपर्यो। तापनि माओवादी केन्द्रका अध्यक्ष दाहाल नै मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारीमा छन्। प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गर्दै आएका दाहाल सत्ता राजनीतिमा थप बलशाली बन्दै गएका छन्। गत मंसिरमा प्रदेश प्रतिनिधिसभा निर्वाचनपछि दाहाल सरकारको नेतृत्वमा पुगेका हुन्। यसबीच दाहालले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाबाहेक सबै दललाई आफू नेतृत्वको सरकारमा सामेल गराइसकेका छन्। आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी तथा ललिता निवास जग्गा प्रकरण सुरु गरेको छानबिनले सुशासनको पक्षमा दृढतापूर्वक उभिएको दाहालले बताउँदै आएका छन्।

प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गरिरहेका दाहाल ३२ सिटमा खुम्चिए पनि सत्ता राजनीतिमा भने थप बलशाली बन्दै गएका छन् । उनी यसअघि पनि दुईपटक प्रधानमन्त्री भइसकेका छन्।  

त्यति मात्र होइन, यसविरुद्ध सत्ता साझेदार दलबाट दबाब आए सरकार छाड्न पनि पछि नपर्ने बताउँदै आएका उनले गठबन्धन जोगाइराख्न भन्दै एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) तथा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहितको समाजवादी मोर्चा बनाएका छन्। त्यो पनि अर्को सत्ता साझेदार कांग्रेसलाई विश्वासमा लिएर सल्लाहमै मोर्चा बनाएको सरकारका उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीको बैठकमै जानकारी गराएका छन्।  

त्यति मात्र नभएर दाहाल नेतृत्वको सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना दुई विश्वासपात्र उपसभापति खड्का र पार्टी प्रवक्ता प्रकाशशरण महतलाई सहभागी गराएका छन्। अहिलेको गठबन्धनले निरन्तरता पाउँदा प्रधानमन्त्री बन्नेमा देउवा निश्चिन्त छन्।  

पार्टीभित्रको सन्तुलन कायम गर्न नेता शेखर कोइराला समूहबाट उपसभापति धनराज गुरुङलाई पनि उनले दाहाल नेतृत्व सरकारमा सहभागी गराएका छन्। कांग्रेस र माओवादी केन्द्रभन्दा बढी नेकपा एस गठबन्धनको पक्षमा छ। अहिले गठबन्धन टुटेर नयाँ गठबन्धन निर्माण हुँदा एमालेसहितको बन्नेछ। त्यस्तो गठबन्धनमा नेकपा एसको भूमिका कमजोर बन्नेछ। त्यसले गर्दा पनि उनीहरू अहिलेकै गठबन्धनको पक्षमा भएकाले पार्टी खुम्चिए पनि दाहाल सत्ता राजनीतिमा भने शक्तिशाली रहेको निकटहरूको दाबी छ। मोहनविक्रम सिंहसहितका नेतालाई पाखा लगाउँदै २०४५ सालमा नेकपा मशालको महामन्त्रीको जिम्मेवारीमा पुगेका दाहाल त्यसयता निरन्तर पार्टी नेतृत्वमा छन्। माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गराएका दाहालले पाकाबाट परिवर्तन सम्भव नभएको जनाउँदै मोहन वैद्यलाई गुरु थाप्दै वर्षमान पुन, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, नन्दकिशोर पुनसहितका युवालाई साथ लिएर २०५२ सालमा हिंसात्मक आन्दोलनको नेतृत्व गरे।

माओवादीभित्र निर्विकल्प देखिएका दाहाल उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई रोक्न बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई भित्र्याउने तयारीमा देखिन्छन्।

बाबुराम भट्टराईजस्ता सहकर्मी, नेत्रविक्रम चन्द (विप्लव), रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टसहितको साथले दाहाललाई आफ्नो उद्देश्य प्राप्तिमा बल पुर्याएको जानकार बताउँछन्। पुराना अधिकांश सहकर्मी अहिले दाहालका साथमा छैनन्। वैद्य, बाबुराम, चन्दले आआफ्नै पार्टी खोलेका छन् भने रामबहादुर, टोपबहादुर, लेखराज एमालेमा भित्रिएका छन्। जसले गर्दा दाहाललाई पार्टी नेतृत्वका लागि चुनौती नै देखिएको छैन। दाहाल माओवादीभित्रको निर्विकल्प नेताजस्ता देखिएका छन्। दाहालपछिको दोस्रो मर्यादा क्रममा नारायणकाजी श्रेष्ठ छन्। तर माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र पार्टी एकीकरण गरेर आएको भन्दै पुराना नेता तथा कार्यकर्ता श्रेष्ठलाई नेता मान्न तयार देखिएका छैनन्।

अध्यक्ष दाहालले कृष्णबहादुर महरालाई पार्टीमा स्थापित गराउन चाहेको निकटहरू बताउँछन्। तर सभामुख भएका बेला संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपपछि महराले राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाउन सकेका छैनन्। नेता जनार्दन र वर्षमान पार्टी नेतृत्वका लागि आकांक्षी छन्। उनीहरू दुवैसँग आन्तरिक प्रतिस्पर्धामा खेल्दै आएका दाहालले पार्टीमा बाबुराम र नेत्रविक्रमलाई ल्याउने तयारी गरेका छन्। त्यसबाट वर्षमान र जनार्दनको नेतृत्वमा पुग्ने आकांक्षामा पनि ठेस लाग्ने र दाहाल थप बलशाली बन्ने माओवादी केन्द्रनिकट नेताको दाबी छ। नेत्रविक्रम र बाबुराम दुवै पार्टी एकीकरणका लागि सकारात्मक देखिएका छन्। त्यसले माओवादी केन्द्रभित्रको शक्ति सन्तुलन फेरिने जनाउँदै आन्तरिक विवाद थप बढ्ने विश्लेषण गरिएको छ।

तर आइतबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष दाहालले भनेका थिए, ‘अब यो बैठकबाट निक्लँदै गर्दा भन्न सक्छौं कि हामी एक ढिक्का भएका छौं, विधि पद्धतिभन्दा बाहिर जानेछैनौं।’ अध्यक्ष दाहालले पार्टी एक ढिक्का भएको जनाए पनि आन्तरिक मनमुटाव कायमै रहेको नेताहरू बताउँछन्। साढे ७ लाख सदस्य रहेको दाबी गरेको माओवादीले पार्टी संगठन कमजोर रहेको र जनतासँगको सम्बन्ध विच्छेद रहेको स्वीकार गरेको छ। त्यसलाई जोड्न माओवादीले भदौ १६ गतेदेखि तीन महिना ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।  

प्रकाशित: २३ श्रावण २०८० ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App