८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलियोः गणेशप्रसाद तिमिल्सिना

फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताएका छन्।

अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याएका हुन्।

‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताए। नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ थियो। उनले युवा पुस्तालाई नेतृत्वदायी भुमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रो जीवन वास्तवमा धेरै आन्दोलनमा बित्यो। व्यवस्था परिवर्तनका लागि बित्यो। हामीले निरंकुशताका अनेक जन्जालहरुलाई चुँड्दै आजको यो सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नेपालमा हामी प्रवेश गर्न पाएका छौं। यो म र मभन्दा अघिल्लो पुस्ताको अत्यन्तै ठूलो योगदान र देन हो। तर व्यवस्थामा परिवर्तन गरेर पनि अवस्था परिवर्तन गर्ने कुरामा अलमलिएका छौं। रुमलिएका छौं। यसकारण यो रुमलिएकोलाई युवाहरुले चिर्नु हुनेछ। र, नेपालको अवस्था सुधार गर्ने जिम्मेवारी यहाँहरुको काँधमा छ। यहाँहरुले भविष्यमा नेतृत्व गर्नुहोस्।’

प्रकाशित: १२ श्रावण २०८० ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App