४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

टिकटपछि दलहरूमा तीव्र असन्तुष्टि

पूर्वेली ब्युरो

विराटनगर- स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर १ का जिल्लामा टिकट टुंगो लागेका राजनीतिक दलमा तीव्र असन्तुष्टि देखिएको छ। उम्मेदवार बन्न आकांक्षी कार्यकर्ताको संख्या धेरै भएकाले असन्तुष्टि बढेको हो।

‘आफू’ ले नपाएपछि टिकट वितरणमा ‘मनोमानी’ गरेको आरोप लगाउँदै पार्टीविरुद्ध नाराबाजी गर्ने, दलको कार्यालयमा तालाबन्दी गर्ने र पदबाट राजीनामा दिने क्रम बढेको छ।

टिकट वितरणमा ‘मनोमानी’ गरेको आरोप लगाउँदै पार्टीविरुद्ध नाराबाजी गर्ने, दलको कार्यालयमा तालाबन्दी गर्ने र पदबाट राजीनामा दिने क्रम बढेको छ।

एमालेले मोरङको सुन्दरहरैचा नगरपालिकामा ‘राम्रो’ उम्मेदवार छनोट नगरेकोमा आपत्ति जनाउँदै सांसद चन्द्रबहादुर गुरुङले नेता माधवकुमार नेपालसित गुनासो गरेका छन्। तीनपटक गाविस अध्यक्ष र पछिल्लो संविधानसभाको चुनावमा मोरङ निर्वाचन क्षेत्र नम्बर ८ बाट विजयी गुरुङले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटको नेतालाई टिकट दिएकोमा आपत्ति जनाएका छन्। मोरङ एमालेमा ओली पक्षले टिकट वितरणमा एकलौटी गरेको आरोप छ।

कांग्रेस मोरङले भने तीव्र असन्तुष्टिकै कारण एक गाउँपालिका र एक नगरपालिकाबाहेक अन्य स्थानीय तहमा उम्मेदवार घोषणा गर्न सकेको छैन। केराबारी गाउँपालिका र उर्लाबारी नगरपालिकाबाहेक कांग्रेसले विराटनगर महानगरपालिकासहित अन्य ६ वटा नगर र गाउँपालिकामा पार्टीको आन्तरिक असन्तुष्टिकै कारण उम्मेदवार टुंग्याउन ढिलाइ गरेको छ। विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसभित्र १५ जनाभन्दा बढी आकांक्षी भएकाले उम्मेदवार टुंग्याउन समस्या भइरहेको छ।

गुटको असर चुनावमा

कांग्रेस केन्द्रीय कमिटीले इटहरी उपमहानगरपालिकाको  मेयरमा रोहितकुमार प्रसाईलाई लडाउने टुंगो लगायो। त्यसको विरोधमा मेयरका दाबेदार हेमकर्ण पौडेलका समर्थकले शुक्रबार र शनिबार इटहरीमा प्रदर्शन गरे।

असन्तुष्ट पक्षले हेमकर्णलाई टिकट नदिएर पार्टी नेतृत्वले त्रुटि गरेको जनाउँदै प्रदर्शन गरेका थिए। शनिबार दिउँसो पार्टीका अगुवा नेतासँगै इटहरीका २० वटै वडाका वडाध्यक्ष र वडाध्यक्षका उम्मेदवारबीच अलगै भेला गरियो। भेलामा पार्टीले गरेको निर्णय स्वीकार गरेर अघि बढ्ने सहमति भयो। प्रसाईले पार्टी सभापति शेरबहादुर देउवा कोटाबाट उम्मेदवारी पाएका हुन्। हेमकर्ण भने नेता रामचन्द्र पौडेल पक्षका मानिन्छन्।

 एमाले इटहरीमा शनिबार मेयरमा द्वारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतमको टंुगो लागेको छ। मेयर र उपमेयरका तीनतीन जना दाबेदार थिए। मेयर–उपमेयरको प्रदेश कमिटीले उम्मेदवार टुंगो लगाउन सकेर केन्द्रीय कमिटीले तय गरेकाले एमालेमा पनि असन्तुष्टि देखिएको छ।

एमालेको इटहरी वडा नं. १ की खुला सदस्य मीना चौधरी र दलित सदस्य सजिना नेपालीले वडाध्यक्ष दलबहादुर मगरलाई परिवर्तन गर्न पार्टीसँग माग गरे। मीना र सजिना दुवै चुनावी अभियानमा सक्रिय छैनन्।

'मेरो उम्मेदवारी घोषणा गरेर घरदैलो अभियानमा छु। तर मीना र सजिनाले जबरजस्ती छुटाउन पहल गरिहेका छन्,' मगरले भने, 'उम्मेदवारी फिर्ता लिन कुनै हालतमा मान्दिनँ।' मगरको सट्टा लालबहादुर लुइँटेललाई उम्मेदवार बनाउन एउटा समूह सक्रिय छ। वडा नं. १४ मा पनि एमालेका दुःखीलाल चौधरीले वडाध्यक्षको उम्मेदवार हुनुपर्ने माग राखेर असन्तुष्टि जनाउँदै आएका छन्।

विवाद टुंग्याउन आइतबार प्रदेश नं. १ को कार्यालयमा वैकल्पिक केन्द्रीय सदस्य धर्मराज निरौला, मेयरका उम्मेदवार द्वारिकलाल चौधरी, उपमेयरकी उम्मेदवार लक्ष्मी गौतम र असन्तुष्ट पक्षबीच बैठक बस्यो। इटहरीमै एमालेका देवी खनाल संघीय समाजवादी फोरम नेपालबाट मेयरमा उम्मेदवारी दिने तयारी गरेका छन्। यहाँ फोरम नेपाल, नयाँ शक्ति नेपाल र कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक सम्बद्ध संघीय लिम्बुवान मञ्चबीच तालमेल हुने पक्कापक्की भएको छ। यो गठबन्धनबाट मेयरमा खनाल उठ्न लागेका हुन्। खनाल अवकाशप्राप्त सरकारी कर्मचारी हुन्।

सुनसरीमा दुई उपमहानगरपालिका, चार नगरपालिका र  ६ गाउँपालिका छन्। यी निकायमा सबैभन्दा बढी कांग्रेस र त्यसपछि एमालेका कार्यकर्तामा असन्तुष्टि छ। कांग्रेसका भोक्राहाका नेता मुलिम अनसारी अध्यक्षको दाबेदार थिए। उनले टिकट नपाएपछि एमालेमा प्रवेश गरेका छन्। एमालेले उनलाई नै अध्यक्षको उम्मेदवार बनाउने भएको छ। तर औपचारिक घोषणाचाहिँ भएको छैन।

आफ्नैलाई मिलाउन समस्या

 झापाका १५ मध्ये कम्तीमा १० वटा स्थानीय तह जित्ने दाबी गरिरहेका कांग्रेस र एमालेमा पार्टीभित्रैका असन्तुष्टले समस्या भइरहेको छ। गुटगत प्रतिस्पर्धाले आक्रान्त दुवै दलभित्र धेरै ठाउँमा व्यक्तिगत टकरावले पनि समस्या छ।

 झापामा कांग्रेस र एमालेमा वडा तहबाटै उम्मेदवारको नाम सिफारिस गर्दादेखि सुरु भएको असन्तोषको स्वर मनोनयन दर्ता नजिकै आइपुग्दासम्म साम्य हुन सकेको छैन। दुवै दलका नेताहरुले यस्तो विवादलाई 'पार्टीभित्रको स्वाभाविक समस्या' भन्दै टार्ने प्रयास गरे पनि असन्तोष रहेका क्षेत्रका कार्यकर्ता भने आफूले भनेअनुसार नभएर विद्रोह गर्ने सोचमा पुगिसकेका छन्।

 कांग्रेसको सबैभन्दा ठूलो समस्या भद्रपुरमा देखिएको छ। पार्टीका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा उनकै दल दुई ध्रुवमा उभिएको छ।  चुनावका लागि टिकट पाएको समूह चुनावी अभियानमा छ भने अर्को समूहचाहिँ उम्मेदवार नै फेर्ने अभियानमा छ। नगर प्रमुख पदका उम्मेदवार गणेश पोखरेल र उपप्रमुखकी उम्मेदवार तारादेवी भुर्तेल मतदाताको घरदैलोमा मत मागिरहेका छन्। तर, नगरभित्रैको अर्को कांग्रेस टोलीचाहिँ उम्मेदवार चयन प्रक्रिया नै गलत भएकाले सच्याउनुपर्ने मागसहित हस्ताक्षर संकलन गरिरहेको छ।

 झापाकै दमक नगरपालिकामा पनि कांग्रेसमा असन्तुष्टि छ। मेयरको उम्मेदवार भनेर प्रचार गरिरहेका घनेन्द्र सुब्बा टिकट नपाएर बिच्किएका छन्। टिकट पाएका ढुण्डीराज भण्डारी भने चुनाव प्रचार थालेका छन्।

एमालेको सबैभन्दा ठूलो समस्या पार्टी अध्यक्ष केपी शर्मा ओलीकै जिल्लामा देखिएको छ। ओलीको एकछत्र प्रभाव रहेको दमकदेखि उनको गुटको प्रभाव कमजोर रहेको मेचीनगरसम्मै विवादले पार्टीपंक्ति विभक्त छ। ओलीकै गृहनगर दमकमा रोमनाथ ओलीलाई मेयरको उम्मेदवार बनाउने निर्णयविरुद्ध नेता अम्बिका खनालको टिम खुलेरै उभिएका छन्।

 मेयर उम्मेदवार विवादरहित रूपमा टुंगिएको अर्जुनधारामा उपमेयर पदमा भने एमालेले दुई जनालाई उम्मेदवार बन्ने पत्र दिएको छ। अहिलेसम्म कमला आचार्यको नाम उम्मेदवारका रूपमा चर्चामा रहे पनि देवीमाया भट्टराईको हातमा पनि उम्मेदवार बन्ने पार्टीको पत्र छ। पार्टीका नेताहरु भने यसलाई नकार्छन्। अध्यक्ष ओलीकै इच्छामा बिर्तामोडमा ध्रुव शिवाकोटी मेयरको उम्मेदवार बनेको बुझाइ कार्यकर्ता तहमा छ। नगर तहबाट नाम सिफारिस हुँदा एकराज कार्की, लोकबन्धु कन्दङ्वा, हरिचरण शिवाकोटी र ध्रुव शिवाकोटीको नाम गएको थियो। तर, यी नाममा प्रदेश कमिटीमा निर्णय हुन नसकेपछि ओली आफैंले अन्तिममा ध्रुवको नाममा लालमोहर लगाएका थिए। यसले एमालेभित्र आन्तरिक असन्तोष बढाएको कार्यकर्ता बताउँछन्।

सिफारिस एउटाको, टिकट अर्कैलाई

 जिल्ला समिति बैठकले सिफारिस गरेका उम्मेदवारलाई टिकट नदिएको भन्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिसहित १५ जनाले राजीनामा दिए। जेठ १४ गते बसेको जिल्ला समिति बैठकले सूर्याेदय नगरपालिकाको प्रमुख (मेयर) मा क्षेत्रीय सभापति दुर्गा बरालको नाम सिफारिस गरेको थियो। तर, बिहीबारको केन्द्रीय समिति बैठकले बरालको ठाउँमा महासमिति सदस्य प्रेम चाम्लिङको नाम मेयरका लागि निर्णय गरेर पठाएपछि सभापति बरालसहित क्षेत्रीय समितिका पदाधिकारीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

 सभापति बरालसहित क्षेत्रीय उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ, कोषाध्यक्ष पुण्य मुखिया, सदस्यहरू राजकुमार सेरेङ, सोनामछिरिङ काजी, ज्ञानबहादुर राई, विमल श्रेष्ठ, पुष्पा कार्की, मेनुका प्रधान, हीराबहादुर लाप्चा, अर्जुन पोख्रेल, राजु बमजन, हरि बुढाथोकी र नरेन्द्र सापकोटाले राजीनामा दिएका हुन्। ‘हामीले अब पदमा नरहने निर्णय गरी केन्द्रीय समितिलाई इमेल पठाइसकेका छौं। जिल्ला समितिका पदाधिकारीलाई चाहिँ फोन गरी राजीनामाबारे जानकारी दियौं,' सभापति बरालले भने, ‘जिल्ला समितिकै निर्णयअनुसार माथिको निर्णय नआएसम्म राजीनामा फिर्ता हुँदैन।'

 बरालले कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङले बिहीबार दिउँसो फोन गरी सूर्याेदय नगरपालिकाको मेयरमा प्रेम चाम्लिङको नाममा केन्द्रको निर्णय भएको जानकारी दिएको बताए। ‘राजाले रैतीसँग बोल्ने शैली प्रयोग गरी केबी गुरुङले मलाई अर्कैको नाममा केन्द्रीय समितिले निर्णय गरेको सूचना दिए,' बरालले भने, ‘हामी पुरानै निर्णयअनुसार उम्मेदवारी नआउँदासम्म पार्टीका कुनै पनि चुनावी गतिविधिमा संलग्न हुनेछैनौं।'

 बराल बिहीबारसम्म सूर्याेदय नपाका विभिन्न वडासम्म ‘मेयरको उम्मेदवार' कै रूपमा चुनावी अभियानमा थिए। ‘ममाथि ज्यादै अन्याय भएको छ,' निर्णय नसच्चिएसम्म हामी चुनावका कुनै पनि गतिविधिमा भागसमेत लिने छैनौं,' बरालले भने। 

कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले क्षेत्र नम्बर १ को क्षेत्रीय समितिका पदाधिकारीले राजीनामा दिएकोबारे जिल्ला समितिमा औपचारिक जानकारी नआएको बताए।

प्रकाशित: २९ जेष्ठ २०७४ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App