७ वैशाख २०८१ शुक्रबार
राजनीति

विद्यासुन्दर शाक्य : वडाध्यक्षदेखि मेयरसम्म

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना स्थल प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा उनी दिनहुँ पुग्थे। सभागृहमा एकसाथ विभिन्न वडाको मतगणना भइरहेको हुन्थ्यो। आफूले प्राप्त गरेको मत उनी आफंै टिप्थे। विभिन्न वडाबाट प्राप्त मत जोड्थे, अनि मुस्कुराउँथे। कहिले निस्केर बाहिर चौरमा बस्थे, कहिले मतगणना भइरहेको ठाउँमा छिर्थे उनी अर्थात् विद्यासुन्दर शाक्य। 

'इतिहास इतिहास हो, पुरानो इतिहास बताउनेभन्दा पनि नयाँ इतिहास बनाउनुपर्छ,' मतगणना भइरहेका बेला विगत कोट्याउन खोज्दा उनले भनेका थिए।

उनको सभागृह भित्र–बाहिर गर्ने दैनिकी आइतबार विहानबाट सकिएको छ। राष्ट्रिय सभागृहबाट आइतबार घोषणा गरियो– 'काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेददार विद्यासुन्दर शाक्य विजयी हुनुभएको छ।'

नयाँ इतिहास रच्न लालायित शाक्यआफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई  व्यवस्थित पराजित गर्दै मेयर पदमा निर्वाचित भएका हुन्। यो विजयसँगै अबको पाँच पर्ष महानगरपालिकाको बागडोर उनले सम्हाल्नेछन्। 'पद पाइन्छ भनेर म राजनीतिमा लागेको थिइनँ। जे जति प्राप्त हुँदै आएको छ त्यो मेरो कल्पनाभन्दा बाहिरको कुरा हो,' उनले खुसी साटे।

काठमाडौंको मेयरमा उठ्न एमालेका केही केन्द्रीय नेताले नै इच्छा देखाएका थिए। उनीहरूले शीर्ष नेतालाई रिझाउने प्रयास पनि गरे, तर सबैको रोजाइमा शाक्य नै परे।

'कुनै दिन काठमाडौंको मेयर हुम्ला भन्ने मैले सोचेको पनि थिइनँ। तर सबै कुरा मिल्यो। नेता र जनता सबैले मलाई विश्वास गर्नुभयो,' उनले सबैप्रति कृतज्ञता प्रकट गरे।

.....

एमाले काठमाडौं जिल्ला कमिटीको सचिव रहेका शाक्यको जन्म २०२० जेठ ९ गते काठमाडौंका लगन टोलमा भएको थियो, जुन अहिले काठमाठौं महानगरपालिकाको वडा नम्बर २१ मा पर्छ। उनले विद्यालय शिक्षा विश्वनिकेतन स्कुलबाट लिएका थिए। उनले आइकम र बिकम. शंकरदेव क्याम्पसबाट गरे। त्यसपछि उनको औपचारिक शिक्षामा पूर्णविराम लाग्यो।

'विद्यासुन्दर शाक्य एक संगठक हुनुहुन्छ। थोरै बोल्ने, काम धेरै गर्ने उहाँको पहिचान हो। जनस्तरमा लामो समयदेखि निरन्तर काम गरिरहेको जुझारु व्यक्ति हो। यसकारण काठमाडौंको मेयरमा उहाँको नाम आउँदा पार्टीभित्रबाट  विरोध भएन,' उनको व्यक्तित्वबारे एमाले काठमाठौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले भने।

दाइ र दिदीपछि जन्मेका उनी परिवारको तेस्रो तथा कान्छो सन्तान हुन्। २०३६ सालको विद्यार्थी आन्दोलनमा उनी खुलेर बहुदल पक्षमा लागे, जतिबेला उनलाई पार्टी राजनीतिबारे धेरै ज्ञान थिएन। उनलाई यत्ति थाहा थियो, जुन शासनव्यवस्था त्यतिबेला देशमा थियो त्यसले जनताको हित गर्दैन। '२०३६ सालसम्म म कोही नेता चिन्दैनथें। परिवर्तन हुनुपर्छ भन्ने मेरो मनमा थियो,' उनले विगत सम्भि्कए।

२०४६ सालको आन्दोलनमा उनी झनै सक्रिय बने। जनआन्दोलन संघर्ष समितिको उनी संयोजक बने। उनको बुझाइमा त्यतिबेला परिवर्तन खोज्ने दुई शक्ति थिए– संयुक्त वाममोर्चा र नेपाली कांग्रेस। त्यतिबेलासम्म पनि उनी कुनै पार्टीमा लागेका थिएनन्। त्यसैले ०४६ सालको जनआन्दोलनमा उनले दुई हातमा दुईथरी झण्डा बोकेका थिए रे। एउटामा कम्युनिस्टको हँसिया हथौडा र अर्कोमा कांग्रेसको चार तारे झण्डा।

०४६ सालको आन्दोलन सफल भएपछि उनी संयोजक रहेको संघर्ष समितिलाई त्यतिबेलाको नेकपा मालेमा समाहित गर्ने निर्णय भयो, त्यसपछि मात्र उनमा 'कम्युनिजम्' प्रति चासो बढ्यो। २०४७ सालमा तत्कालीन नेकपा माले र मार्क्सवादी मिलेर नेकपा एमाले बन्यो। त्यसै वर्ष शाक्य पनि नेकपा एमालेमा आबद्ध भए । पार्टी राजनीतिको यात्रा सुरु गरे। त्यो यात्रा अहिले मेयरसम्म आइपुगेको छ।

एमालेमा आबद्ध भएको तीन पर्ष बित्न नपाउँदै शाक्य २०४९ सालमा सम्पन्न पहिलो स्थानीय निर्वाचनमा तत्कालीन काठमाडौं नगरपालिकाको वडा नम्बर २१ मा पार्टीको तर्फबाट वडाध्यक्ष उम्मेदवार बने। विजयी पनि भए। २०५४ को स्थानीय निर्वाचनमा पनि सोही वडाबाट एमालेले उनलाई अध्यक्षमा उठायो। दोस्रो पटक पनि उनले जिते।

'मैले कहिल्यैं पनि मलाई टिकट (उम्मेदवार बनाउनुस्) दिनुस् भनेर कसैसँग भनेको छैन। पार्टीले जे जस्तो निर्णय गर्छ त्यसलाई मान्दै अघि बढेको छु। अहिले पनि पार्टीको निर्णय मानेको हुँ। पद पाउँदा पार्टीसँग नजिक र नपाउँदा टाढा हुने गरेको छैन,' शाक्यले स्पष्ट पारे। उनले थपे, 'अहिले पनि सबैले मेयरमा उठ्नुपर्छ भने मैले नाई भनिनँ।'

दोस्रो र तेस्रो स्थानीय निर्वाचनको बीचमा लामो समय ग्याप रहे पनि उनी भने निरन्तर नगरवासीको घरदैलोमै हुन्थे। सर्वदलीय संयन्त्रमा रहेर निरन्तर जनताको पक्षमा उभिए। महानगरको विकास निर्माण सहभागी भइरहे। तेस्रो पटक मेयरमा निर्वाचित भएपछि उनले र उनले लगातार तीन स्थानीय निर्वाचनमा विजयको 'ह्याटि्रक' गरेका छन्।

‘हिजोसम्म म एमालेको प्रतिनिधि थिएँ। निर्वाचन जितिसकेपछि अब म सबै महानगरवासीको प्रतिनिधि हुँ। सबैलाई समेटेर अघि बढ्नु मेरो दायित्व हो,’ शाक्य आफ्नो जिम्मेवारीमा स्पष्ट छन्।

.....

बीस वर्षसम्म स्थानीय निर्वाचन हुन नसक्दा जनताले जनप्रतिनिधि पाएका थिएनन्। अब शाक्यसँगै महानगरमा जनताबाट निर्वाचित जनप्रतिनिधि आएका छन्। जनतासँग टुटेको सम्बन्ध र घटेको विश्वास बढाउने जिम्मवारी उनीहरूकै काँधमा आएको  छ।

अहिले महानगरपालिका सञ्चालन ऐन बनिसकेको छैन।  ऐन नहुँदा धेरै काम गर्न नसिकने बुझाइ शाक्यको छ। उनले थपे, ‘ऐन नहुँदा मेयरलाई काम गर्न गाह्रो छ। सरकारले महानगरलाई कति कर्मचारी दिने हो, कर्मचारी कसरी परिपूर्ति गर्ने हो, केही टुंगो छैन।’

काठमाडौं महानगरमा समन्वय अभाव उनले देखेका छन्। यही समन्वय गर्न नसक्दा पछिल्ला महिनामा महानगरवासी धुवाँधुलोबाट पीडित हुनुपरेको उनको बुझाइ छ। कार्यभार सम्हालेपछि सबैभन्दा पहिला यही धुवाँधुलो हटाउन लागिपर्ने सोच उनले बनाएका छन्। भन्छन्, ‘काठमाडौंको धुवाँधुलो हटाउने योजना छ, यो काम तुरुन्तै गर्छु।’

उनले काठमाडौंमा देखेको अर्को समस्या हो– सार्वजनिक यातायात। सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने उनीसँग दुई विकल्प छन्। पहिलो, मेट्रो रेल र मोनो रेलको अध्ययन गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने। यसको तत्काले अध्ययन थाल्ने सोच उनको छ। ‘काठमाडौंमा रेल सञ्चालन गर्ने सम्बन्धमा विभिन्न अध्ययन अनुसन्धान भएका छन्। ती अध्ययनलाई तत्काल अघि बढाउँछु,’ शाक्यले सुनाए। चक्रपथमा मोनो रेल गुडाउने सपना उनले बुनेका छन्। यसका लागि छिमेकी नगरपालिकाको साथ र सहयोग आवश्यक पर्ने उनको बुझाइ छ।

सार्वजनिक यातायातालाई व्यवस्थित गर्न सुविधा सम्पन्न गाडी सञ्चालनमा ल्याउने योजना उनको छ। यो उनको दोस्रो विकल्प हो। विकल्प दिएपछि निजी सवारी साधन कम चल्ने अनुमान उनको छ। उनी भन्छन्, ‘सडक विस्तारले मात्र समस्या समाधान हुँदैन। विभिन्न रुटमा सुविधा सम्पन्न ठूला गाडी चलाउनुपर्छ। सर्वसाधरणलाई पनि सार्वजनिक सवारी साधन चढ्न हामी प्रोत्साहन गर्छौं।’

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौंको विभिन्न स्थानमा पार्किङ क्षेत्र निर्माण गर्ने योजना शाक्यको छ।

शाक्यको प्राथमिकतामा अर्को विषय छ– पुनर्निर्माण। पुनर्निर्माणका लागि पुराताŒिवक विभाग र गुठीहरूसँग समन्वय गर्नुपर्ने धारणा उनको छ। भूकम्पले क्षति पुर्‍याएका सम्पदा महानगरभित्र रहे पनि ती महानगरको मातहतमा छैनन्। कुनै सम्पदा पुराताŒिवक विभाग त कुनै गुठी मातहत छन्। ‘पुनर्निर्माणका लागि विदेशी गुहार्नैपर्दैन, स्थानीय स्तरबाटै ठूलो सहयोग उठ्छ। यसका लागि दृढ संकल्प चाहिन्छ,’ उनले भने।

काठमाडौंलाई पर्यटकीय नगर बनाउने उनको अर्को सपना हो। धार्मिक स्थल र सम्पदालाई जोडेर पर्यटकका लागि आकर्षक प्याकेज तयार पार्न सकिने उनी बताउँछन्। पर्यटक आकर्षण गर्न ऐतिहासिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रबर्द्धनमा जुट्नुपर्छ। 

शाक्यको अर्को सपना छ काठमाडौंलाई ‘जीवन्त सहर’ बनाउने। अहिले महानगर राति नौ नबज्दै सुत्छ। राति न सार्वजनिक सवारी साधन पाइन्छ, न त कुनै पसलनै खुलेका हुन्छन्। सुरक्षा दिने प्रहरी नै अबेरसम्म पसल खुले बन्द गराउँछन्। शाक्य अब यो शैली फेर्ने सोचमा छन्। ‘हामी काठमाडौंलाई जीवन्त सहरको रुपमा विकास गर्छौं। प्रहरीसँग समन्वय गरी पसल बन्द गराउने काम रोक्छौं। राति काम गर्न चाहनेलाई काम गर्न दिनुपर्छ,’ उनले भने।

फुटपाथमा होइन, व्यवस्थित ठाउँमा व्यापार व्यवसाय गर्ने वातावरण बनाउने उनको योजना छ। उत्पादन बढाएमात्र रोगजारीका अवसर सिर्जना हुने विश्वास उनको छ। ‘प्रतिघण्टा यति रुपैयाँ भन्ने हिसाबले काम गर्ने थिति काठमाडौंमा बनाउनु छ,’ शाक्यले भने।

प्रकाशित: १५ जेष्ठ २०७४ ०३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App