केही दिनयता पश्चिम तराईसहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा (लु) चल्दा बिरामी हुनेको संख्या बढ्दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित भएको छ।
जल तथा मौसम पूर्वअनुमान विभागले सोमबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालगन्जको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुगेको छ। त्यस्तै दिपायलमा ३८ देखि ४०, धनगढीमा ३९ देखि ४१, वीरेन्द्रनगरमा ३७ देखि ३९, घोराहीमा ३६ देखि ३८, भैरहवामा ३८ देखि ४० डिग्री सेल्सियस तपक्रम मापन गरिएको छ।
जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिम नेपालको तराई क्षेत्रमा केही दिनयता ‘लु’ अर्थात् तातो हावाको प्रभाव बढिरहेको बताए। विशेषगरी लुम्बिनी प्रदेशदेखि सुदूरपश्चिमसम्म, बुटवल क्षेत्रमा अहिले ‘लु’ चलेको छ। उनका अनुसार सरकारले तोकेका दुई वा दुईभन्दा बढी मौसम मापन केन्द्रमा लगातार दुई दिनभन्दा बढी ४० डिग्री सेल्सियस वा सोभन्दामाथि तापक्रम पुगेको अवस्थालाई ‘लु’ भनिन्छ। अहिले पश्चिम तराईका धेरै मौसम केन्द्रमा तापक्रम ४० डिग्री नाघेकाले लुको अवस्था पुष्टि भएको उनको भनाइ छ। उप्रेतीले यो अवस्था तीन–चार दिनअघिदेखि सुरु भएको बिहीबारसम्म रहने बताए। ‘पश्चिम तराईमा अहिले सबैभन्दा बढी जोखिम छ तर पूर्वी तराईमा भने लु नचले पनि अत्यधिक गर्मीको अवस्था छ,’ उनले भने।
उप्रेतीले अत्यधिक गर्मीको असर व्यक्तिअनुसार फरक हुने बताए। गर्मीबाट बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा तथा मुटुरोगीहरू बढी जोखिममा पर्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरे। स्थानीय तहले सार्वजनिक स्थानमा पिउने पानीको पर्याप्त व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए। ‘पानीको अभाव हुँदा गर्मीबाट ज्यानै जान सक्ने जोखिम हुन्छ,’ उनले चेतावनी दिए। उप्रेतीका अनुसार पश्चिम नेपालका केही क्षेत्रमा तापक्रम ४१ देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ। भारतको उत्तर प्रदेश क्षेत्रमा भने ४७ डिग्रीसम्म तापक्रम पुगेको जानकारी उनले दिए।
उनले शुक्रबारदेखि भने गर्मी केही कम हुने र २० गतेपछि वर्षाको सम्भावना बढ्दै जाँदा उखरमाउलो मौसम घट्ने अनुमान गरिएको बताए। तामक्रम बढ्दा विद्यालय र विद्यार्थीहरू अत्यधिक जोखिममा पर्ने अवस्था रहेकाले तराईका क्षेत्रमा आवश्यक परे अस्थायी रूपमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आउन सक्ने पनि उनले संकेत गरेका छन्। गर्मी छल्न सुरक्षित तरिकाले मात्रै पौडी खेल्न र नदीमा प्रवेश गर्न उनले आग्रह गरे्।
कसरी जोगिने
मौसमविद्हरू गर्मीबाट जोगिन दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कन, प्रशस्त पानी तथा फलफूलको रस पिउन, अत्यधिक पसिना आएमा जीवनजल सेवन गर्न सुझाव दिन्छन्। बाहिर निस्कनै परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने तथा खेतबारीमा बिहान वा बेलुका मात्र काम गर्न उनीहरू सुझाउँछन्। मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, सोडा) कम प्रयोग गर्न र चिनी बढी भएको झोल पदार्थ नपिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
के हो लु
अत्यधिक गर्मी वा तातो हावाको लहरका लागि पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य कार्ययोजनाका अनुसार अत्यधिक गर्मीका कारण सिर्जना हुने मौसमी अवस्थालाई तातो हावाको लहर (लु) भनिन्छ। नेपालको संघीय तथा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनेर उल्लेख गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार चैतदेखि भदौ महिनासम्म तापक्रमका आधारमा ताता दिनहरू छुट्याइन्छ। अधिकतम तापक्रम विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि पुगेमा त्यसलाई तातो दिन भनिन्छ। कार्यविधिमा भनिएको छ, ‘जब लगातार तीन वा बढी दिनसम्म तातो दिन रहन्छ भने हल्का तातो लहर, धेरै तातो दिनको अवस्था रहेमा मध्यम तातो लहर र अत्यधिक तातो दिन भइरहे अत्यधिक तातो लहरको रूपमा वर्गीकृत गरिन्छ।’
कैलालीमा तापक्रम ४१ डिग्री नाघ्यो
धनगढी संवाददाता दिलबहादुर छत्यालका अनुसार पश्चिम तराईमा डेढ सातायता अत्यधिक गर्मी बढेको छ। कैलाली र कञ्चनपुरमा तापक्रम ४१ डिग्री सेल्सियस नाघेको छ। अत्यधिक गर्मीले सुदूरपश्चिमका तराईका जिल्लाको जनजिवन प्रभावित बनेको छ। गर्मीले बिरामीको संख्या ह्वात्तै बढेको छ। गर्मीबाट बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्। दिउँसो तातो हावा चल्न थालेको छ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका श्याम सुनारका अनुसार डेढ सातायता गर्मी अत्यधिक बढेको हो। एक सातायता ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन हुने गरेको उनले बताए। अत्तरियामा सोमबार अधिकतम तापक्रम ४१.४ डिग्री सेल्सियस डिग्री मापन भएको उनले बताए। ‘हावामा पानीको मात्रा नहुनु र एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुनुले अत्यधिक गर्मी बढेको हो’, उनले भने, ‘तातो हावा चल्नुको कारण यही हो।’ गत बिहीबार ४१.३ डिग्री सेल्सियस तापक्रम मापन भएको उनले बताए।
अत्यधिक गर्मीले बजारमा चहलपहल घटेको छ। नियमित काममा जान पनि समस्या हुने गरेको स्थानीयले बताएका छन्। गर्मीले गर्दा कक्षा कोठामा पठनपाठनमा समस्या हुने गरेको छ। समय समयमा विद्युत सेवा अवरुद्ध हुँदा घरभित्र पनि गर्मीले समस्या हुने गरेको छ।
अत्यधिक गर्मीले बिरामीको संख्या पनि बढेको छ। सेती प्रादेशिक अस्पतालदेखि यहाँका निजी अस्पताल तथा स्वास्थ्य संस्थामा विरामी भिड लाग्ने गरेको छ। वरिष्ठ फिजिसियन डा. शुभेशराज कायस्थ अत्यधिक गर्मीले बिरामीको संख्या बढेको बताउँछन्।
‘अस्पतालमा र क्लिनिकमा गर्मीकै कारण सयौं बिरामी आउने गरेका छन्’, उनले भने। गर्मीले भाइरल ज्वरो आउने, पेट दुख्ने, अपच हुने र झाडापाखाला हुने समस्या बढेको छ।
तातो हावाको कहरमा नेपालगन्ज
बाँके संवाददाता गणेश विशुका अनुसार बाँकेसहित पश्चिम तराईका जिल्लामा बढ्दो गर्मीले जनजीवन प्रभावित भएको छ। अत्यधिक तापक्रमसँगै चलिरहेको तातो हावा र अनियमित विद्युत् आपूर्तिका कारण सर्वसाधारणले सास्ती भोगिरहेका छन्। बाँकेको खजुरामा सोमबार देशभरिमै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार खजुरामा तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको हो। नेपालगन्ज क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन थप कष्टकर बनेको छ।
नेपालगन्जमा सोमबार तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुगेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। नेपालगन्ज देशकै सबैभन्दा बढी गर्मी हुने क्षेत्रमध्ये पर्छ। यहाँ हरेक वर्ष जेठ सुरु भएसँगै तापक्रम ४२ देखि ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। हालसम्म नेपालगन्जमा मापन गरिएको सबैभन्दा बढी तापक्रम ४४.२ डिग्री सेल्सियस हो। यो रेकर्ड सन् २०२४ को मे ३० मा मापन भएको हो। यस वर्ष पनि गर्मी निरन्तर बढ्दो क्रममा छ।
अत्यधिक गर्मीसँगै विद्युत् खपत बढेपछि नेपालगन्ज क्षेत्रमा पटकपटक विद्युत् आउनेजाने समस्या देखिएको छ। पंखा, कुलर, फ्रिज, पानी तान्ने मोटरलगायत उपकरणको प्रयोग बढेपछि विद्युत् प्रणालीमा चाप परेको हो। तर हरेक वर्ष दोहोरिने यस्तै अवस्थालाई ध्यानमा राखेर समयमै पूर्वतयारी नगरिएको भन्दै स्थानीयले नेपाल विद्युत् प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। स्थानीयवासीका अनुसार केही दिनयता पटकपटक विद्युत् अवरुद्ध हुने गरेको छ। कतिपय स्थानमा राति लामो समयसम्म लाइन काटिँदा सर्वसाधारण सुत्नसमेत नसक्ने अवस्थामा पुगेका छन्। गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी बढी प्रभावित छन्।
नेपालगन्ज–१० का व्यवसायी रमेश गुप्ताले गर्मीका बेला नियमित विद्युत् नहुँदा व्यवसाय नै प्रभावित भएको बताए। ‘पसलमा ग्राहक बस्नै सक्दैनन्। इन्टरनेट चल्दैन, कम्प्युटर बन्द हुन्छ। दिनहुँ काम प्रभावित भइरहेको छ,’ उनले भने। त्यस्तै नेपालगन्ज–१८ की गृहिणी सुष्मा थापाले रातिको समयमा पटकपटक लाइन जाँदा गर्मीले सुत्न कठिन भएको बताइन्। ‘पानी तान्ने मोटर चल्दैन। गर्मीले बच्चाहरू रातभर छटपटाउँछन्,’ उनले भनिन्। नागरिक अगुवाहरूले समस्या हरेक वर्ष दोहोरिने भए पनि दीर्घकालीन समाधानतर्फ सम्बन्धित निकाय गम्भीर नदेखिएको आरोप लगाएका छन्। उनीहरूले ट्रान्सफर्मरको क्षमता विस्तार, पुराना लाइनको मर्मत, वैकल्पिक आपूर्ति व्यवस्था तथा व्यवस्थित लोड व्यवस्थापनको योजना समयमै कार्यान्वयन गर्न माग गरेका छन्।
नागरिक सरोकार मञ्च बाँकेको नेतृत्वमा नागरिक अगुवाहरूले नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र पुगेर विद्युत् सेवा नियमित गर्न माग गरेका छन्। मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्रलाई भेटेर अत्यधिक गर्मीका बेला विद्युत् कटौतीले जनजीवन अस्तव्यस्त भएको गुनासो गरेको हो। नागरिक अगुवाहरूले गर्मीको समयमा नेपालगन्जमा नियमित विद्युत् आपूर्ति अत्यावश्यक भए पनि बारम्बार लाइन अवरुद्ध हुँदा सर्वसाधारण रातभर जाग्राम बस्न बाध्य भएको बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख मिश्रले भने अत्यधिक गर्मीका कारण विद्युत् माग ह्वात्तै बढेकाले समस्या देखिएको बताए। ‘अहिले विद्युत् खपत अत्यधिक बढेको छ। त्यसैले केही स्थानमा लाइन ट्रिप हुने तथा विद्युत् आउने–जाने समस्या भइरहेको छ,’ उनले भने, ‘कार्यालयको जनतालाई दुःख दिने कुनै नियत छैन। समस्या समाधानका लागि प्राविधिक टोली निरन्तर खटिएको छ।’
दिउँसो अत्यधिक गर्मीका कारण साँझपख मात्र मानिस घरबाहिर निस्कन थालेका छन्। जलाधार क्षेत्र, पार्क तथा खुला स्थानहरूमा मानिसको भीड बढ्न थालेको छ। कतिपय नागरिक गर्मी छल्न स्वीमिङ पूलतर्फ आकर्षित भइरहेका छन्। पंखाबाटसमेत तातो हावा आउन थालेपछि सर्वसाधारण थप आजित बनेका छन्। विद्यालयहरूमा समेत गर्मीको प्रभाव देखिएको छ। पर्याप्त रूपमा पंखा नचल्दा विद्यार्थीले कक्षाकोठामा हैरानी खेपिरहेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार अत्यधिक गर्मीका कारण डिहाइड्रेसन, टाउको दुख्ने, ज्वरो आउने तथा थकान बढ्ने समस्या देखिन थालेको छ।
गर्मीसँगै अस्पतालमा बिरामीको चाप
चितवन संवाददाता वसन्त ढुंगानाका अनुसारचितवनमा पछिल्ला दिनहरूमा अत्याधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ। गर्मीका कारण बजारमा चहलपहल घटेको छ भने अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ।
भरतपुर विमानस्थलका अनुसार सोमबार चितवनको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको छ। मौसम विभागको तथ्यांकअनुसार यस वर्ष चितवनमा सबैभन्दा बढी तापक्रम वैशाख ९ गते ३९ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो। अघिल्लो वर्ष भने अधिकतम तापक्रम ३९ दशमलव ८ डिग्री सेल्सियससम्म पुगेको थियो।
दिउँसो अत्यधिक गर्मी भए पनि साँझपख पानी पर्दा केही राहत मिलिरहेको स्थानीयले बताएका छन्। तर लगातारको गर्मीले दैनिक जनजीवनमा असर परेको छ। गर्मी बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि बढेको छ। भरतपुर अस्पतालका तथ्यांक अधिकृत नारायण रिजालका अनुसार अघिल्लो सोमबार २ हजार ८ सय ४८ बिरामीले सेवा लिएका थिए। पछिल्लो सातामा १३ हजार ८ सय ६० बिरामी अस्पताल पुगेका छन्। ‘विगतका वर्षमा एकै दिन १ हजार ९ सयदेखि बढीमा २ हजारसम्म बिरामी आएको तथ्यांक छ,’ रिजालले भने, ‘यस वर्ष भने एकै दिन २८ सयभन्दा बढी बिरामी आएका छन्।’
उनका अनुसार गर्मीको समयमा विशेषगरी ज्वरो, झाडापखालालगायतका समस्या लिएर बिरामी आउने गरेका छन्।
गर्मीका कारण व्यापारसमेत प्रभावित बनेको व्यवसायीहरूले बताएका छन्। नारायणगढका व्यवसायी कृष्णहरी महर्जनले दिउँसो अत्यधिक गर्मीका कारण ग्राहकको आवागमन घटेको बताए। ‘अहिले दिउँसो बाहिर निस्कनै मुस्किल छ। बेलुकीपख मात्रै केही ग्राहक आउँछन्,’ उनले भने, ‘विगतजस्तो व्यापार अहिले छैन।’
प्रकाशित: १२ जेष्ठ २०८३ १४:२२ मंगलबार





