सांसद कृष्णहरी बुढाथोकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको साताको दुई दिन बिदा व्यवहारिक नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रामेछापमा अभिभावक, शिक्षक तथा स्थानीय नेतृत्वसँग भएको छलफलमा दुई दिन बिदाप्रति व्यापक असन्तुष्टि रहेको बताए।
उनले दुई दिनको बिदाका कारण विद्यार्थीहरू पढाइभन्दा बाहिर अल्मलिने गरेको र पाठ्यक्रमको अध्यापन प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ गुनासो रहेको बताए। साथै, स्वास्थ्य क्षेत्रमा पनि दुई दिन बिदाका कारण सर्वसाधारण आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको बताए।
सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा साताको दुई दिन बिदा दिने व्यवस्था पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।
चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णणसगैं सरकारी कार्यालय र शैक्षिकमा सातामा दुई दिन बिदा हुन थालेको हो।
प्रकाशित: १२ जेष्ठ २०८३ १४:४१ मंगलबार





