४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आचारसंहिता लत्याउँदै दलहरू

इलाम- जेठ ३१ को स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालनामा राजनीतिक दलहरू चुक्दैछन्। आचारसंहिताविपरीत सार्वजनिक स्थानमा आफ्नो दलको झन्डा र चुनाव चिह्न राख्न, अनुमतिबिनै सवारी साधन प्रयोग गरी चुनाव प्रचार गर्न दलहरूको ‘होडबाजी’ चलिरहेको छ।

इलाम चोकबजारको पार्कमा केही महिनाअघिसम्म नेपालको राष्ट्रिय झन्डा फहराइएको देखिन्थ्यो। चुनाव मिति घोषणा भएकै बेला नेपाली कांग्रेसको चारतारे झन्डा त्यसको छेवैमा फहरायो। त्यसको केही दिनपछि नेकपा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हँसिया–हथौंडा भएको अर्काे झन्डा गाडियो। त्यसको साता पनि नबित्दै नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौंडा भएको झन्डा छेवैमा थपियो। र, त्यसकै सिको गर्दै संघीय समाजवादी फोरमको हरियो र रातो भुइँमा सेतो तारा भएको झन्डा पनि नजिकै राखियो।

सार्वजनिकस्थलमा यसरी विभिन्न दलले चुनावी प्रचारका लागि झन्डा राखेपनि त्यसलाई नियन्त्रण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन। दिनहुँ हजारौंको आउ–जाउ हुने चोकबजारमै आफ्नो दलको झन्डा राख्ने प्रतिस्पर्धा चलिरहे पनि स्थानीय प्रशासन वा निर्वाचन कार्यालयमा अहिलेसम्म त्यसविरुद्ध कुनै उजुरी भने नपरेको ती कार्यालयले जनाएका छन्।

निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता २०७२’ र ‘स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३’ तथा आयोगले बेला–बेला कार्यालयमा पठाएका परिपत्रअनुसार सार्वजनिकस्थलमा कुनै दलको प्रचारका लागि पर्चा, पोस्टर, पम्प्लेट टाँस्न, झन्डा फहराउन नपाइने जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए। ‘कसैले आचारसंहिता उल्लंघन गरेको उजुरी आए त्यसको अध्ययन र कारबाहीका लागि तत्काल पहल हुनेछ,’ उनले भने। निर्वाचन आचारसंहिता–२०७२ को परिच्छेद २ को (झ)मा निर्वाचनसम्बन्धी प्रचारप्रसारका लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल, सार्वजनिक संस्थाका भवन, स्मारक, पर्खाल र सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न नपाइने उल्लेख छ।

चुनावको मिति नजिकिँदै जाँदा विभिन्न दलका चुनाव चिह्न भएका टि–सर्ट, झोला, टोपीलगायत लगाएर हिँड्ने कार्यकर्ताको लर्काे देखिन थालेको छ। भोट माग्न जाँदा कांग्रेसको चुनाव चिह्न रूख भएका झोला, टि–सर्ट, एमालेको चुनाव चिह्न सूर्य भएका भएका टि–सर्ट र माओवादीको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौंडा भएका टि–सर्ट लगाएर जाने कार्यकर्ता प्रसस्त देखिँदैछन्। तर, चुनावी प्रचारक्रममा यस्ता गतिविधि आयोगले जारी गरेको आचारसंहिता र निर्देशनविपरीत छन्।

आयोगले निर्वाचन कार्यालयलाई गत वैशाख १७ मा पठाएको परिपत्रमा उल्लेख छ– प्रचारप्रसारका क्रममा टिसर्ट, झोला तथा जिन्सी सामग्रीमा आफ्नो चुनाव चिह्न छपाइ गरी मतदातालाई वितरण गर्दा निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र मितव्ययी हुन नसक्ने हँुँदा उक्त कार्य निर्वाचन आचारसंहिता–२०७२ को परिच्छेद २ को (च) विपरीत हुने भएकाले उल्लेखित सामग्री वितरणमा रोक लगाउनेतर्फ सम्बद्ध निकाय तथा तोकिएका अधिकारीमार्फत कार्यान्वयन गर्न–गराउन अनुरोध छ। आचारसंहिता–२०७२ को को परिच्छेद २ को (च) मा मतदातालाई नगद, जिन्सी वितरण गर्न नहुने उल्लेख छ।

चुनाव प्रचारक्रममा दलहरूले सवारीका साधन प्रयोग गर्दा पनि आयोगबाट अनुमति लिनुपर्ने उल्लेख छ। अहिले दलहरू लर्केताँत सवारी साधन लिएर चुनावी अभियानमा गाउँ–गाउँ पुगेका देखिन्छन्। तर, अहिलेसम्म कुनै पनि दलले चुनावमा प्रयोग गर्न सवारी साधनको अनुमति नलिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। सार्वजनिक सवारीका साधनमा पनि दलहरूका झन्डा र चुनाव चिह्न भएका झन्डा फहराइएको देखिन्छ। प्रचारका सामग्री पनि आचारसंहिताले तोकेको मापदण्डभन्दा फरक देखिएका छन्।

उम्मेदवार वा राजनीतिक दलले  निर्वाचन खर्चका लागि अलग्गै बैंक वा वित्तीय संस्थामा खाता खोली निर्वाचनसम्बन्धी आर्थिक कारोबार त्यही खाताबाट सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर, अहिलेसम्म उम्मेदवार र दलहरूले यसरी निर्वाचनका लागि अलग्गै खाता नखोलेको जनाएका छन्। उम्मेदवार वा दलले ५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा वित्तीय संस्था वा बैंकमार्फत मात्र लिन पाउने र रकम बुझेको रसिद दिनुपर्ने, गरेको खर्चको बिल–भरपाई स्पष्ट राख्नुपर्ने व्यवस्था आचारसंहितामा छ। निर्वाचनक्रममा आचारसंहिता उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिमानासहितको कारबाही हुनसक्ने आयोगले जनाएको छ। 

राजनीतिक दलका प्रतिनिधि भने निर्वाचन आचारसंहिता पालनामा आयोगले कडाई गर्नुपर्ने बताउँछन्। चुनावका क्रममा आएका सानातिना व्यावहारिक कठिनाईबाहे आचारसंहिताको पूर्ण पालना गराउनु आवश्यक रहेको नेकपा एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले बताए। ‘आचारसंहिता र चुनावी नियमअनुसार कार्यान्वयनक्रममा केही प्रश्न अनुत्तरितसमेत छन्,’ उनले भने, ‘त्यस्ता जटिलताको सघन समाधान गर्नतर्फ आयोगले पहल गरोस्।’ नेकपा माओदी केन्द्रका कार्यालय सचिव जीवन शर्माले निर्वाचनमा शिक्षक, कर्मचारीलगायत सबैलाई आचारसंहिताबारे सचेत गराउनुपर्ने बताए। ‘केही शिक्षकसमेत दलको प्रचारमा लागेको देखिएको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने।

मुख्य निर्वाचन अधिकृत दाहालले राजनीतिक दलहरू निर्वाचनमा प्रत्यक्ष सहभागी हुने भएकाले उनीहरू आचारसंहिताबारे सचेत हुनुपर्ने बताए। उनले दलहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न–गराउन पनि आग्रह गरे। ‘आचारसंहिता उल्लंघनको उजुरी परे, सञ्चारमाध्यम वा कतैबाट सूचना आयो भने त्यसमा अनुसन्धान र कारबाहीप्रक्रिया अघि बढ्नेछ,’ उनले भने, ‘निर्वाचन सफल बनाउन आचारसंहिता नैतिक बन्धन हो, सबैले पालना गर्नु उचित हुन्छ।’

प्रकाशित: १३ जेष्ठ २०७४ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App