१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा विधान अधिवेशन भोलिदेखि

फाइल तस्वीर

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ। काठमाडौंको कमलादीमा आइतबारदेखि मंगलबारसम्म तीन दिन चल्ने विधान अधिवेशनमा पार्टी कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले दुई अध्यक्ष रहने विधानको नयाँ मस्यौदा पेस गर्नेछन्। यादव आफैं विधान मस्यौदा समितिको संयोजक हुन्।

जसपाको पहिलोपटक विधान अधिवेशन हुन लागेको हो। यादवले प्रस्तुत गर्ने विधान मस्यौदालाई अधिवेशनले पास गरेपछि पार्टीभित्र नयाँ विधान लागु हुने प्रवक्ता मनीष सुमनले बताए। उनका अनुसार विधान मस्यौदामा दुई अध्यक्षको व्यवस्था कायमै राखिएको छ। संघीय परिषद् र कार्यासमितिमा अलगअलग अध्यक्षको प्रावधान राखिएको छ। अहिले संघीय परिषद् अध्यक्षमा अशोक राई छन् भने कार्यकारिणी समिति अध्यक्षमा यादव छन्।

जनता समाजवादी पार्टी (जसपा) को काठमाडौंमा हुन लागेको विधान अधिवेशनले दुई अध्यक्षको अवधारणालाई कायमै राख्ने भएको छ।

तीन वर्षअगाडि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन हुँदा नेताहरूलाई व्यवस्थापन गर्न दुई अध्यक्षको व्यवस्था गरिएको थियो। जसपा विभाजनपछि कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले बेलाबेलामा एकजना मात्र अध्यक्ष राख्नुपर्ने धारणा राख्दै आएका थिए। तर अहिले आफैं संयोजक भएको विधान मस्यौदामा भने उनले पुनः दुई अध्यक्षको प्रावधान कायम राखेका छन्। जसपा स्रोतका अनुसार राईलाई व्यवस्थापन गर्न संघीय परिषद्को अध्यक्षको व्यवस्था कायमै राख्न लागिएको हो।

प्रवक्ता सुमनका अनुसार विधान अविधेशनमा ७७ जिल्लाबाट करिब ८ सय प्रतिनिधि सहभागी हुने छन्। जसपा स्रोतका अनुसार नयाँ विधानमा संघीय परिषद्, कार्यकारिणी समिति तथा अन्य समितिको आकार घटाइने भएको छ। हाल जसपा कार्यकारिणी समितिका आकार ४ सय ३५ सदस्यीय छ। ४ सय ३५ बाट झारेर बढीमा १ सय ५१ सदस्यीय कार्यकारिणी समिति तय हुने सुमनले बताए।

तीन वर्षअगाडि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन हुँदा नेताहरूलाई व्यवस्थापन गर्न दुई अध्यक्षको व्यवस्था गरिएको थियो।

विधान अधिवेशनको उद्घाटन आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। सोमबार र मंगलबार बन्द सत्र हुनेछ। उनका अनुसार विधान अधिवेशनको तयारीको विषयमा शनिबार काठमाडौंमा जसपाको केन्द्रीय समिति बैठक बोलाइएको छ। उक्त बैठकमा विधान अविधेशनलाई सफल बनाउने विषयमा गम्भीर छलफल हुने प्रवक्ता सुमनले बताए।

२०६१ सालमा मधेसी जनअधिकार फोरमको महाधिवेशन वीगन्जमा भएको थियो। त्यस अधिवेशनबाट यावद अध्यक्ष चुनिएका थिए तर त्यसयता यादवले नेतृत्व गरेको पार्टीको महाधिवेशन भएको छैन तर उनी निरन्तर अध्यक्ष छन्।

संवैधानिक व्यवस्थाअनुसार कुनै पनि राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ। कुनै विशेष कारण भए थप ६ महिना लिन सकिन्छ। तर यादवले भने महाधिवेशन छल्न विभिन्न राजनीतिक दलसँग पार्टी एकता र विभाजन दुवै गर्दै दलको नाम परिवर्तन गर्दै आएका छन्। कानुनमा रहेको छिद्रलाई समाएर महाधिवेशन टार्दै आएका यादवले अहिले विधान अधिवेशन गर्न लागेका हुन्।

प्रकाशित: ९ असार २०८० ०१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App