१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी थप गर्नु नेपाल आमाको रगत खाए सरह होः सांसद भट्टराई

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु नेपाल आमाको रगत खाएजस्तै भएको टिप्पणी गरेका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना पर्ने नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका हुन्।

उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए। उनले यदी ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने बताए। उनले वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको बताए।

निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको उनको भनाइ छ। उनले निगमले ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताए। उनले नेपालका नीजि कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय कर्मचारीले पुगेको भन्दै वायुसेवा निगमसँग ४ वटा जहाज हुँदा ३ हजार कर्मचारी रहेको बताए।

उनले भने,‘ नेपाल वायुसेवा निगम हिमाल सिमेन्ट कारखाना जस्तो बन्न पुगेको छ। कारखानाका कर्मचारीहरु अहिले पनि तलव भत्ता माग गर्दै सडकमा हिँडिराख्नुभएको छ। यदी नेपाल वायुसेवा निगमलाई संरचनागत हिसावले सुधार नगर्ने हो भने यसको हालत त्यही हुन्छ। हाम्रो सरकारको पालामा सर्वसाधरणले समेत शेयर पाउने गरी पब्लिक कम्पनीमा लानुपर्छ भन्ने निस्कर्षमा पुगेका थियो। तर प्रत्येक वर्ष नीति कार्यक्रममा आउँछ । त्यसपछि निजीकरण ग¥यो भनेर काम गर्न दिइँदैन। पब्लिक कम्पनी र निजी कम्पनी पनि फरक हो भनेर नबुझ्नेहरुले यस्तो टिप्पणी गरिरहेका छन्। यसलाई सर्वसाधरण समेतलाई शेयर निस्काषन हुने गरी पब्लिक कम्पनीमा लानुपर्छ। त्यसको प्रबन्धपत्र तयार पारेका थियौं। मन्त्रालयमा अहिले पनि छ। निगमको संरचनागत सुधार बाहेक अन्य विकल्प छैन। यदी ग्राउण्ड ह्याण्डिलिङबाट उड्डयन प्राधिकरणले पैसा पाउँछ। भोलि अरु कुनै कम्पनीले त्यो भन्दा बढी दिन्छु। भन्यो भने दिने की नदिने? वायुसेवा निगमले ग्राउण्ड ह्याण्डिलिङ पाएन भने वायुसेवा निगम थला पर्छ। अर्को कुनै विकल्प छैन। नेपाल वायुसेवा निगमका कर्मचारीले तलव खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ हो। उडानबाट नाफा छैन। निगमलाई कति कर्मचारी आवश्यकता हो अध्ययन गर्नुपर्छ। ३ हजार कर्मचारी राखेर ४ वटा जहाज उडान भर्ने हो भने निगम आवश्यक छैन। नेपालका निजी कम्पनीमा १६ वटा जहाज हुँदा उनीहरुका कर्मचारी ११ सय छन्। वायुसेवा निगमसँग ४ वटा जहाज छन् ३ हजार कर्मचारी किन चाहियो। एमालेले सरकार चलाएको बेलामा एक जना पनि कर्मचारी थप भएको थिएन। त्यसपछि सयौं कर्मचारी वायुसेवा निगममा भर्ती गरिँदै छ किन? त्यसलाई सोमलियाकी आमा जस्तो बनाउने हो? जुन आमाको दुध आउँदैन। आमाको दुध चुसिराख्ने? त्यो आमाको रगत चुसे जस्तै हो। नेपाल वायुसेवा निगममा नयाँ कर्मचारी भर्ती गर्नु भनेको नेपाल आमाको रगत खानु जस्तै हो। आज त्यस्तै भइरहेको छ।’

प्रकाशित: ८ असार २०८० ०८:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App