१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले देशलाई भ्रष्टाचारको आहालबाट बाहिर निकाल्ने दाबी गरेका छन् । सभापति भएपछि पहिलो पटक पोखरा आएका उनले नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने,‘हिजो हिंसाबाट बाहिर निकालेको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ ।’ सभापति थापाले आज नेपाली जनता भ्रष्टाचारका कारण पुराना पार्टीहरुसँग रिसाएको बताए । 

सोहि कारण युवाहरु देशमा नबसी विदेश पलायन भएको तथा स्वदेशमा लगानी गर्न लगानीकर्ताहरु डराएको उनको भनाइ थियो । कांग्रेसले जित्यो भने नेपालमा भ्रष्टाचार घट्छ र नेपाल अगाडि बढ्छ भन्ने सन्देश लिएर जनतामाझ जान आग्रह गर्दै उनले थपे,‘आजको दिनमा भ्रष्टाचार यो देशको सबैभन्दा ठूलो मुद्दा हो । र भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएको कांग्रेस हो ।’  

सभापति थापाले देशलाई सम्हाल्ने र बदल्ने पार्टी कांग्रेस मात्र भएको बताए । जनता पुराना पार्टीहरुसँग अहिले रिसाएको बताउँदै उनले ती रिसाएका जनतालाई सम्हाल्ने र देशलाई बदल्ने शक्ति अहिले देशले खोजीरहेको उल्लेख गरे । ‘जनतामा रिस छ र आक्रोश छ,’ उनले भने,‘त्यसैले देशलाई मिलाउने शक्ति चाहिएको छ । त्यो शक्ति भनेको नेपाली कांग्रेस हो । किनकी हिजो संविधान निर्माण गर्ने क्रममा पनि सबै जातजाति, समुदायलाई मिलाएर लैजाने शक्ति कांग्रेस नै हो । आज पनि कांग्रेस सङ्कल्प गरेर आएको पार्टी हो । जसले देश सम्हाल्छ पनि र व्यवस्थालाई बदल्छ पनि ।’ आफ्नो पार्टीले बहुमत ल्यायो र आफू प्रधानमन्त्री बनिहाले पनि भर्खरै जादूको छडीजस्तो बदल्ने अवस्था भने नरहने उनले स्पष्ट पारे । तर बिस्तारै सम्हाल्न सकिने भन्दै उनले थपे,‘बदल्नका लागि नेता ठिक हुनुपर्छ । नेताको नियत ठिक भयो भने देश सुध्रिन्छ । नियत ठीक भएकाले नीति राम्रो बनाउँछ र ठीक नीति भयो भने र त्यसलाई कार्यान्वयन गर्ने संकल्प गरियो भने त्यसको परिणाम राम्रो निस्कन्छ ।’  

सभापति थापाले अर्को भदौ २४ मा गत भदौ २४ मा जस्तो देश जल्दैन भन्ने जिम्मा कांग्रेसले लिने बताए । आगो जसले पनि लगाउन सक्छ । तर निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । उत्तेजना जसले पनि फैलाउन सक्छ तर चेतना फैलाउने शक्ति चाहिएको छ’ उनले भने, ‘हामी मिलाउँछौं, हामी सम्हाल्छौं । त्यो सम्हाल्ने नेपाली कांग्रेसले हो ।’  

सभापति थापाले हिंसाको बदलाभाव कांग्रेसमा नरहेको स्पष्ट पारे । उनले भने, ‘हामी अचाक्ली (एक्सट्रीम)मा जान सक्दैनौँ । घृणाको राजनीति गर्नै सक्दैनौँ । बदलाको राजनीति गर्नै सक्दैनौँ । हाम्रो त्यो क्यारेक्टर हो, हाम्रो क्यारेक्टर नै मिलाउने हो ।’ उनले हिमाल, पहाडदेखि तराईसम्म तथा सबै जातजाति, भाषा र धर्मलाई मिलाउन सक्ने शक्ति कांग्रेस भएको उनले बताए । प्रश्न सोध्नूस् हामी सुन्न तयार छौँ, समस्या भन्नुहोस् समाधान दिन तयार छौ, उनले भने, ‘हामी समस्याबाट भाग्दैनौँ, बरु समस्यालाई समाधान दिन्छौं । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाउँछौं । हिमाल, पहाड र तराईसँगै देशभित्र र बाहिरकालाई पनि मिलाउँछौं ।’ उनले सबैलाई मिलाउँदै देशवासीलाई एकताबद्ध बनाएर विश्वास र भरोसा योग्य बनाउने दाबी गरे । अहिले सम्हाल्ने शक्ति मात्रै खोजेको छैन नेपाली जनताले,उनले अगाडि थपे,‘जनताले अहिले खोजेको भनेको सम्हालोस् पनि र र सुधारोस् पनि। र बदलोस् पनि ।’

कार्यक्रममा थापाले ‘अबकी बार, कांग्रेस सरकार’मा मात्र सिमित नरहन कार्यकर्ताहरुलाई आग्रह गरे । मधेशमा पनि आफूले यहि आग्रह गरेको बताउँदै उनले भने,‘मधेशमा जाँदा पनि मैले साथीहरूलाई अबकी बार कांग्रेस सरकार भन्ने मात्रको नारा लगाउन छोडिदिनुस् भनेँ, नारै लगाउने भए ‘अबकी बार सय पार’ भनेर नारा लगाउनुस् भनेको छु,।’ आगामी निर्वाचनबाट त्यो लक्ष्य पूरा गर्नसक्ने अवस्थामा कांग्रेस पुगेको उनको दाबी छ ।

प्रकाशित: २३ माघ २०८२ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App