६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

संसद्मा सभ्यता हराउँदै

जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले निकै मेहनत गरेर बोल्नुपर्ने हुन्छ। पछि इतिहास पल्टाएर हेर्दा आफंैले बोलेको कुराले आफैंलाई पश्चाताप नहोस्। कुनै पनि विषयको ज्ञान नभई संसद्मा बोल्दा त्यसले पदको गरिमालाई समेत हानि गर्ने हुँदा यसबारे सांसदले ध्यान दिनुपर्ने भए पनि कहिलेकाहीँ व्यंग्यात्मक शब्द र उखान टुक्काले बेला बेलामा संसदमा विवाद हुने गरेको छ। कतिपय अवस्थामा सांसदले बोलेको शब्द सभामुखले रेकर्डबाट समेत हटाउन निर्देशन दिनुपर्ने अवस्था छ। तर कहिलेकाहीँ भने असंसदीय शब्द पनि रेकर्डबाट हटाइएको छैन। सभामुखले आफैंले रेकर्डबाट हटाउन सक्ने अधिकार छ भने सांसदले उठाएमा पनि रेकर्डबाट हटाउने गरिन्छ।

संसद्मा विगतमा प्रयोग भएको चीरहरण भन्ने शब्द, तरुनी भन्ने शब्द, डार्लिङ भन्ने शब्द रेकर्डबाट हटाइएको छैन। तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्ले सांसदले बोलेका असंसदीय शब्दलाई सांसदले प्रश्न नउठाए पनि असंसदीय भन्दै आफैंले रेकर्डबाट हटाउन निर्देशन दिने गर्थे। तत्कालीन माओवादी सभासद गोपाल किरातीले संविधानसभाको बैठकमा संविधानसभाबाट संविधान बनाउन नदिएमा उनीहरूलाई खरानी बनाएर खरानीमाथि संविधान जारी गर्ने अभिव्यक्ति दिएका थिए। त्यसलाई तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङले यो शब्द असंसदीय भन्दै तुरुन्त रेकर्डबाट हटाउन निर्देशन दिएका थिए।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल भइरहँदा कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको ‘जप प¥र्यो राति तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेपछि जसपाकी रेखा यादवले असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन माग गरिन्। उनले यो उखानले महिलामाथि आक्रमण गेको भन्दै अब आइन्दा महिलामाथि हिंसा हुने परम्परागत उखान संसद्मा प्रयोग नहोस् भन्ने आग्रह गरिन्। त्यसपछि सभामुख देवराज घिमिरेले यो भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए। नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब प¥यो राति तब बुढी ताती’ भन्ने उखान सुनाएका थिए।  

उपसभामुख इन्दिरा रानाले अध्यक्षता गरेका बेला प्रतिनिधिसभाको बिहीबारकै बैठकमा ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनु परेको छ। बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने उखान प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुगेको भन्दै संसदको अभिलेखबाट हटाउन माग गरेका थिए। सांसद ढकालको नियमापत्तिपछि उपसभामुख रानाले सो उखान संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी हुन्। गत जेठ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरू आए’ भनेका थिए। सो कुरा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असंसदीय भन्दै रेकर्डबाट हटाउन माग गरेपछि रेकर्डबाट हटाइएको थियो।  

गत वैशाख २४ गतेको राष्ट्रियसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुरलाई ‘उहाँको (केपी ओलीको) झट्केलो छोरो हो टोपबहादुर रायमाझी भन्ने वाक्यांश,’ कांग्रेसका राष्ट्रियसभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले प्रयोग गरेपछि त्यसलाई रेकर्डबाट हटाएको थियो।  

२०७९ असार २ गते एमालेका तत्कालीन प्रमुख सचेतक विशाल भट्टराईले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा ‘देशप्रतिको गद्दारी’ गरेको भनेपछि सभामुखले भट्टराईले बोलेको शब्द असंसदीय भएको भन्दै हटाउन निर्देशन दिएका थिए।  

यसैगरी, २०७९ जेठमा तत्कालिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा बोल्दा प्रयोग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै आरोप लगाएका थिए। त्यसलाई रेकर्डबाट हटाउन माग भए पछि तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले रेडर्कबाट हटाएका थिए।  

२०७८ साउन २९ गते संसदमा माओवादी केन्द्रका सांसद मातृका यादवले एमाले अध्यक्ष केपी ओलीलाई ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न भन्ने अभिव्यक्ति दिएकाले त्यसलाई रेकर्डबाट हटाइएको थियो।  

०७६ वैशाख २४ मा नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरूबाट उठेका प्रश्नको जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री केपी ओलीले आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका कांग्रेसका सांसदले ती शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसलाई तत्कालिन सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। तर, रेकर्डबाट अझै हटाइएको थिएन।  

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले भैंसी राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने गोबरबाहेक केही पनि पाउन सक्दैनौं,’ भन्ने कुरा बताए। उनले संसदको गरिमा जोगाउन सबैलाई आग्रह गरेका थिए। उनले आफ्ना दलका सांसदहरूबाट भएका कमिकमजोरी प्रति आत्माआलोचना गर्ने बताए। ‘राष्ट्रका महत्वपूर्ण मुद्दामा कुराकानी गरिरहँदा आम सर्वसाधारणमा संसद्बाट गएको सन्देश राम्रो छैन,’ लामिछानेले भने,’ आफ्ना दलका तर्फबाट केही दिनहरूमा भएका बहसहरू अलिकति अमर्यादित भएकामा क्षमायाचना पनि गर्न चाहन्छु।’ आफ्ना सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहालललाई भैंसी चढेर आएको बताएपछि संसद्मा चर्काचर्की भएको थियो।  

यसैगरी, लामिछानेले सञ्चारमाध्यममा आएका विषयलाई नै लिएर कहिलेकाहीँ सदन अवरुद्ध हुने र होहल्ला हुने भएकाले त्यसको तथ्यजाँच गर्नुपर्ने बताए।

प्रकाशित: २६ जेष्ठ २०८० ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App