नेतैपिच्छे पत्रिका निस्कन थालेपछि उसले रेडियो मिर्मिरे र अंग्रेजी पाक्षिक 'रेड स्टार'सहित जनादेश, संश्लेषण र जनदिशा दैनिकलाई मात्र आफ्नो केन्द्रीय प्रकाशनको रुपमा मान्यता दिएको छ।
मात्रात्मकरुपमा माओवादीद्वारा संचालित संचारमाध्यम धेरै भए पनि प्रभावकारी हुन नसकेको ठहर गर्दै उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख बाबुराम भट्टराईले यस्तो कार्ययोजना प्रस्तुत गरेका हुन्। भट्टराईले आइतबार राजधानीमा राज्य समिति इन्चार्ज, राजधानीबाहिरबाट प्रचार ब्युरो इन्चार्ज र सेक्रेटरी र प्रचार विभागमा रहेका दुई दर्जन भन्दा बढी पत्रकारलाई प्रशिक्षण दिदैै उनले 'पार्टीको प्रचार नीति, योजना र कार्यक्रमसम्बन्धि प्रस्ताव' नामक ६ पेज लामो प्रस्ताव प्रस्तुत गरेका हुन्।
टेलिभिजनको तयारीका लागि प्रमुख भट्टराईको संयोजकत्वमा सम्पादकीय र दिनानाथ शर्माको संयोजकत्वमा व्यस्थापन टीमले टेेलिभिजनको लागि गृहकार्य सुरु गरिसकेको छ।
'टिभीको नाउँचाहिँ जुरेको छैन,' प्रशिक्षणमा सहभागीले भने, 'तर भट्टराई र शर्माको नेतृत्वमा बनेको कोर टिमले काम पनि सुरु गरिसकेको छ। उनीहरुको खाका तयार पारेपछि सुरु हुने छ।' शर्माको नेतृत्वमा रहेको व्यवस्थापकीय कोर टिममा हरिगोविन्द लुइँटेल, चन्द्रमान श्रेष्ठ, अर्जुन थपलियालगायत छन् भने यता भट्टराईको नेतृत्वमा रहेको सम्पाकीय टीममा रेड स्टारका सम्पादक कुमार शाहलगायत साप्ताहिक, दैनिक, पाक्षिक पत्रिकाका सम्पादक छन्। राजधानीबाट प्रसारण भइरहेको रेडियो मिर्मिरे एफएमलाई स्याटलाइटमा लगेर देशव्यापी बनाइने छ।
भट्टराईद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा अहिलेसम्मको प्रचार माध्यम मात्रात्मकरुपले विकास भए पनि गुणात्मक हुन नसकेको निष्कर्ष निकाल्दै माओवादीले प्रभावकारी बनाउन यस्तो नीति ल्याएको हो। प्रशिक्षणमा एक सहभागीले भट्टराईको भनाइ उद्धृत गर्दै भने, 'सबैलाई एकीकृत गराएर नयाँ ढंगले लान, 'जनताको मुक्तिको लागि संचार' भनेर यस्तो कार्यक्रम ल्याइएको छ।'
प्रतिवेदनमा अहिलेसम्म माओवादी प्रचार माध्यममा रहेका कमजोरी र सबल पक्षको पनि लेखाजोखा गरिएको छ।
'हाम्रा समस्याका पनि लेखाजोखा गरिएको छ। अहिले मात्रात्मक विकास त भयो तर गुणात्मक विकास हुन सकेन,' प्रशिक्षणमा सहभागी एक पत्रकारले भने, 'हामी लाल र निपुण दुवै भएपछि मात्र प्रचार लक्ष्यित ठाउँमा पुग्ने र प्रभावकारी हुनेमा जोड दिइएको छ।'
जनयुद्धकालमा माओवादीले रोल्पामा रेडियो जनगणतन्त्र विशेष प्रसारणसहित पूर्वी नेपाल, पश्चिम नेपाल र उपत्यकासहित पाँचवटा रेडियो र जनादेश, जनआव्हानजस्ता पत्रिका प्रकाशित गरेको थियो । शान्तिप्रक्रियापछि ती रेडियो बन्द भए हाल माओवादीले सहर तथा जिल्ला सदरमुकाममा डेढ दर्जन एफएम संचालित भने हाल जनादिशा दैनिकसहित १० वटा दैनिक गरी झण्डै तीन दर्जन पत्रिका संचालित छन्। हाल कृष्ण सेन अनलाइन, माओवादीको युसीपीएमएन नामक अनलाइन चालू छन्। स्थायीदेखि पोलिट्ब्युरो सदस्यसम्मका नेताले नेतैपिच्छे मासिक र त्रैमासिक पत्रिका प्रकाशित गरिरहेका छन्।
ब्रोडसिटमा जनदिशा दैनिकलाई बनाउने कि अर्को नयाँ चलाउने? यसबारे भने प्रतिवेदनमा खुलाइएको छैन। प्रेस किन्ने योजना पनि प्रतिवेदनमा छ। पाक्षिक म्यागाजिनको रुपमा अंग्रेजीमा भाषामा प्रकाशित भइरहेको 'रेड स्टार'लाई यथावत गरिने छ भने साप्ताहिक जनादेशलाई म्यागाजिनको रुपमा लाने र विचार प्रधान मासिक संश्लेषणलाई पाक्षिक बनाइने छ।
पाँचवटा पत्रिकालाई मात्र पार्टी पत्रिकाको मान्यता दिएपछि नेतैपिच्छे निस्किरहेका मासिक तथा त्रैमासिक पत्रिका धरापमा पर्ने छन्। अन्य पत्रिकालाई पार्टीले कुनै सहयोग गर्ने छैन। केन्द्रीय र क्षेत्रीय प्रकाशन र प्रसारणमा रहेका पत्रकारले आफ्नो छुट्टै पत्रिका निकाल्न पाउने छैनन्। प्रशिक्षणमा एक सहभागीले भने, 'अहिले जस्तो हुने छैन, आफ्नो जिम्मेवारी भएको पत्रिका वा रेडियोमै पूर्णरुपले खट्नुपर्ने छ।'
जनयुद्धकालमा रेडियो जनगणतन्त्रलगायत पाँचवटा रेडियो तथा साप्ताहिक, मासिक पत्रिकामा काम गरेका पत्रकार शान्तिप्रक्रियापछि बेरोजगार छन्। तात्कालीन प्रचार विभाग प्रमुख दिनानाथ शर्मा र सचिव महेश्वर दाहालबीचको असमझदारीका कारण झण्डै दुई वर्ष बैठकसमेत बसेन। कुनै योजना नभएपछि जनयुद्धकाकालका पत्रकार बेरोजगार छन्। योजना कार्यान्वयन भएपछि भने उनीहरुले रोजगार पाउने भनिएको छ।
'अहिले बेरोजगार रहेका पत्रकारलाई योजना आएपछि सेट गर्ने कुरा भएको छ,' प्रशिक्षणमा एक सहभागीले भने। अध्यक्ष दाहालले सक्षम नेतृत्व आइसकेको र अब प्रचार विभागमा रहेका सबै समस्या सल्टिने प्रशिक्षणमा बताएका थिए। बेरोजगार पत्रकारहरु र अहिले पत्रिका, रेडियोमा काम गरिहेका पत्रकारलाई पनि आफ्नो रुची र क्षमतअनुसार काम दिइने छ।
'हाम्रो जनशक्ति कहाँ छ? रुचीअनुसार स्थानान्तर, क्षमता केन्द्रीत गर्ने र देशव्यापी संजाल तयार पार्ने योजना छ,' प्रशिक्षणमा सहभागीले भने।
माओवादी नेतालाई पत्रकारको प्रशिक्षण
प्रशिक्षणको दोस्रो सेसनमा विभिन्न संचारमाध्यमसँग कस्तो व्यवहार गर्ने भन्ने बारेमा माओवादी नेताले विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारबाट 'टिप्स' लिएका छन्। प्रेस काउन्सिलका अध्यक्ष नारायणप्रसाद शर्मा, कान्तिपुर टिभीका समाचार संयोजक तीर्थ कोइराला, नयाँ पत्रिका संपादक कृष्णज्वाला देवकोटा, रेडियो पत्रकार रघु मैनाली, हिमालका प्रशान्त झाले उनीहरुलाई संचारमाध्यमसँग सम्बन्ध विस्तार, सूचना सम्प्रेषणलगायतका सूत्र सिकाएका थिए।
अध्यक्ष नारायणप्रसाद शर्माले गाउँका जनताले संविधान चाहेकाले राजधानीमा मात्र केन्द्रीत नरहेर गाउँकेन्द्रीत समाचारलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले भने, 'अहिले गाउँका जनताले शान्ति र संविधान चाहेका छन्। मलाई फेसबुक, इन्टरनेट भन्ने थाहा छैन, गाउँका समाचार लेख्नु पर्छ। गाउँका कुरालाई प्राथमिकता दिनुपर्छ।'
समाचार संयोजक कोइरालाले संचारमाध्यमसँग कस्तो व्यवहार गर्ने र सम्बन्ध राख्ने बारेमा माओवादी नेताहरुलाई प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा सहभागी एक पत्रकारले भने, 'मिडियासँग कसरी डिल गर्ने भनेर नेतालाई प्रशिक्षण दिनुभयो।'
सम्पादक देवकोटाले गरिब र सर्वहारा वर्गीय प्रचार नीति कस्तो हुनुपर्छ? कसरी सम्प्रेषण गर्ने भनेर प्रशिक्षण दिएका थिए। पत्रकार रघु मैनालीले संचारमाध्यमको व्यवस्थापन कस्तो हुनुपर्छ? कसरी व्यावसायीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए। पत्रकार प्रशान्त झाले अन्तर्राष्ट्रियरुपमा कसरी समाचार सम्पे्रषण गर्ने, संजाल कस्तो छ? पहुँच कसरी बढाउने बारेमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अघिल्लो सेसन आन्तरिक प्रशिक्षणमा पत्रकारलाई अध्यक्ष पुष्पकमल दाहालले सडकबाटै संविधान लेख्न जनतालाई जनविद्रोहमा उतार्ने गरी समाचार लेख्न पत्रकारलाई निर्देशन दिएका छन्। कांग्रेस एमाले लगायतका संसदवादी दलहरु संविधानसभा विघटन गरेर संकटकाल लगाउने षड्यन्त्रमा लागेकाले जनविद्रोह नै अन्तिम विकल्प रहेको समेत दाबी गरे। विघटन गर्न नसके उनीहरुले सविधानसभाको म्याद थपेर २०४७ कै संविधानले देशलाई यथास्थितिमै राख्न खोजेको उनको तर्क थियो।
'कि संविधानसभा विघटन गर्ने र संकटकाल लगाएर राष्टपति शासन चलाउने कि मिति सारेर देशलाई यथास्थितमै राखेर २०४७ को संविधान दोहोर्याउन संसदवादीहरु क्षड्यन्त्र बुन्दैछन्,' आइतबार राजधानीमा प्रचार विभागका माओवादी पत्रकारलाई प्रशिक्षण दिदै उनले भने, 'अब जनविद्रोहबाटै, सडकबाटै संविधान लेख्नुपर्छ। त्यसैअनुसार तपाईंहरुले समाचार सम्प्रेषण गर्नुस्।' कांग्रेस र एमालेले कुनै पनि हालतमा संविधान नलेख्ने र लेखे पनि २०४७ को संविधानजस्तै लेख्न खोजेको आरोप लगाउँदै विद्रोहको विकल्प नरहेको दाबी गरे। उनले भने, 'अन्तिम विकल्प भनेकै जनविद्रोह हुन्छ। तपाइंहरु तयार हुनुस्।'
राज्य समिति इन्चार्जहरु, राजधानीबाहिरबाट प्रचार ब्युरो इन्चार्ज र सेक्रेटरी र प्रचार विभागमा रहेका झण्डै चार दर्जन पत्रकारलाई दिइएको उक्त प्रशिक्षण दुई सेसनमा चलेको थियो। पहिलो सेसनको आन्तरिक प्रशिक्षण अध्यक्षसहित उपाध्यक्ष बाबुराम भट्टराई, महासचिव रामबहादुर थापाले दिएका थिए।
प्रकाशित: ५ वैशाख २०६७ २१:२६ आइतबार





