२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नागरिकता विधेयक पारित गर्नेहरु लेन्डुपका नयाँ अवतारहरु’

नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार राजधानीमा जुलुस र सभा भएको छ।

माइतीघरदेखि र कोटेश्वर दुई ठाउँबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगी सभामा परिणत भएको थियो। पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको नेतृत्वमा माइतीघरबाट जुलुस सुरु भएको थियो।

विरोध जुलुस तथा सभामा सहभागीहरूले नेपाली लेन्डुपहरू मुर्दावाद, देशभक्त नेपाली एक होऔँ, देश घाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर लगायतका नारा लगाएका थिए।

सभामा पार्टी केन्द्रीय केन्द्रीय सदस्य प्रजापतिले नागरिकता जस्तो संवेदनशील विषयलाई जथाभाबी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु भएको बताए। नागरिकता विधेयक पारित गर्ने शासक दलहरुलाई लेन्डुप दोर्जेका नयाँ अवतार भएको उनको कथन थियो।

प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरुषसित विवाह गरेका महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैर आवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएको उनले बताए। यस्तो असंवैधानिक कदमको विरुद्ध देशभक्त जनताहरू एक हुनुपर्ने आवश्यकता उनले औँल्याए।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, पार्टी काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, पार्टी ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोल, पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ, पार्टी निकटको नपोल क्रान्तिकारी महिला संघ केन्द्रीय समिति सदस्य ममिता महर्जनलगायतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित गर्न अस्वीकार भएको विधेयक प्रमाणीकरण गर्नु आफैमा वर्तमान राष्ट्रपतिको असंवैधानिक कदम भएको बताए।

प्रकाशित: २१ जेष्ठ २०८० १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App