coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टिकटका लागि दौडधुप

इलाम—निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी माहोल बढ्दै गएको छ। आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाका विभिन्न नगरपालिकामा नगर प्रमुखमा नेतृत्व लिन दलहरू आ–आफ्नो चुनावी कसरतमा लागेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरूले चुनावी परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारी तीव्र बनाएका छन्। नेतृत्वको दाबेदारी गर्नेको सङ्ख्या बढ्दै गएको छ। 

स्थानीय निकाय नेतृत्वविहीन भएको दुई दशकपछि हुन लागेको निर्वाचनमा नेतृत्व लिन आकाङ्क्षी अहिलेदेखि नै टिकटका लागि दौडधुप गरिरहेका छन्। जिल्लामा अहिले चारवटा नगरपालिका छन्। ती नगरपालिकामा नेतृत्वको आकाङ्क्षीको चर्चासँगै चुनावी सरगर्मी बढेको छ। 

जिल्लामा अहिले चारवटा नगरपालिका छन्। ती नगरपालिकामा नेतृत्वको आकाङ्क्षीको चर्चासँगै चुनावी सरगर्मी बढेको छ।

इलाम नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि खगेन्द्र देवान, केदार थापा, विष्णु दाहाल, राजेन्द्र शर्मा, निरोज खड्गीलगायतको नाम चर्चामा छ। 'यो प्रक्रियामा पार्टीले निर्णय गरिसकेको छैन, अहिले बाहिरी क्षेत्रमा विभिन्न व्यक्तिको नाम आएको छ, आगामी वैशाख पहिलोसातासम्ममा पार्टीले आधिकारिक रूपमा निर्णय गर्छ', नेपाली काँग्रेस इलामका सभापति हिमालय कर्माचार्यले भने। 

नेकपा (एमाले)बाट महेश बस्नेत, कृष्ण श्रेष्ठ, गणेश राई, धीरेन चेम्जोङलगायतको नाम चर्चामा छ। एमाले जिल्ला सचिव महेश बस्नेतले अहिले नै औपचारिक रूपमा उम्मेदवारको विषयमा कुरा नभएको बताए। अनुमानका भरमा मात्रै कसैले नाम चर्चामा ल्याएको उनको टिप्पणी छ। यस्तै नेकपा (माओवादी केन्द्र)बाट प्रवेश शर्माको नाम चर्चामा छ । 

जिल्लाको सबैभन्दा ठूलो सूर्योदय नगरपालिकामा पहिलोपटक जनप्रतिनिधिले नेतृत्व गर्नेछन्। यस नगरपालिकामा नगर प्रमुखमा थुप्रैको नाम चर्चामा छ। काँग्रेसबाट दुर्गा बराल, मणि गुरुङ, प्रेम चाम्लिङ, मिलन क्षेत्री, भीष्म प्रधानलगायतको चर्चा छ। एमालेबाट काजीमान कागते, आरबी राई, सोनम छिरिङ, खिनु लङ्वा लिम्बू चर्चामा छन्। 

यस्तै देउमाई नगरपालिकामा नगर प्रमुखका लागि काँग्रेसबाट गोविन्द गिरी, होम दुलाल, मनकुमार श्रेष्ठ, दिलीप कार्की आदिको नाम चर्चामा छ। एमालेबाट वर्तमान पार्टी अध्यक्ष राम राना, गणेश बराल, सूर्य पोखरेलको चर्चा छ। नेकपा (माओवादी केन्द्र)बाट राम राईको चर्चा छ। 

यसैगरी माई नगरपालिकामा नगर प्रमुखका लागि काँग्रेसबाट विष्णु कार्की, कृष्ण खाकी, राम कार्की, विष्णु घिमिरे, एमालेबाट रत्न अधिकारी, ध्रुव श्रेष्ठ, दीपक थेबेलगायतको चर्चा छ। 

दलहरू नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माणमा लागेका छन्। एमालेले आगामी चैत अन्तिम सातासम्ममा उम्मेदवारको टुङ्गो लगाउने पार्टीको जिल्ला उपसचिव उमेश गुरुङ बताउँछन्। निर्वाचन नजिकिँदै जाँदा दलका कार्यकर्ता मात्र होइन सर्वसाधारण समेत उत्साहित भएका छन्। रासस

प्रकाशित: १८ चैत्र २०७३ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App