२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘नागरिकता विधेयक प्रमाणीकरण संसद्को अपमान’

फाइल तस्बिर

नेकपा एमालेले पुरानै संसद्ले पठाएको नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति संसद्को अपमान भएको जनाएको छ। शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले संघीय संसद्को निर्णय र संसद्का सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानुन बन्ने व्यवस्था रहेकाले पुरानो संसद्ले सिफारिस गरेको विधेयक प्रमाणीकरण गर्नुले वर्तमान संसद्को अपमान गरेको जनाएको हो।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएकाले वर्तमान संसद्को अपमान भएको एमालेको ठहर रहेको बताए। उनले नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसद्ले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसद्को अपमान भएको र संविधानविरोधी भएको पनि बताए। उनले संसदलाई छलेर विधेयक प्रमाणीकरण गरेकोमा एमालेको आपत्ति रहेको समेत बताए।

शुक्रबार बसेको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले उपाध्यक्षहरूलाई विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिएको हो। सचिवालय बैठकले ६ उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिँदै कार्यविभाजन गरेको हो। योजना तथा नीति विभागमा ईश्वर पोखरेल, पूर्वाधारमा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा, सामाजिक विकासमा अष्टलक्ष्मी शाक्य, मानव स्रोतमा युवराज ज्ञवाली, सुशासनमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागको संयोजकमा विष्णु पौडेल तोकिएका छन्।यस्तै सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।  

कोसीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल तोकिएकी छन्। कर्णालीको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन्। यस्तै सचिवालय बैठकले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई संसदीय विभागको जिम्मेवारी दिएको छ। प्रचार विभागमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ भने संगठन विभागमा काशीनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ। एमालेले स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिएको छ।

यसैगरी सचिवालय बैठकले केन्द्रीय कमिटीमा १३ जना मनोनीत गरेको छ। मनोनीत हुनेमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर छन्। साथै केही जिल्लाका इन्चार्ज हेरफेर भएका छन्।

प्रकाशित: २० जेष्ठ २०८० ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App