१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दिनरात नभनी चुनावी दौडधुपमा दलहरू

खोटाङको खोटेहाङ गाउँपालिकाको सावाहटरेमा एमालेले आयोजना गरेको चुनावीसभामा उपस्थित सर्वसाधारण । तस्बिर सौजन्य : फेसबुक

खोटाङ – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा खोटाङका दलहरूले चुनावी गतिविधिलाई प्रतिस्पर्धात्मकरुपमा तिव्रता दिएका छन् ।

आठ गाउँपालिका र दुई नगरपालिकाको नेतृत्व आफ्नो पकडमा पार्न हरेक दल चुनावी दौडधुपमा लागेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दलहरूले नयाँ संरचना अनुसार गाउँ–गाउँमा पुगेर चुनावी कार्यक्रमलाई तिव्रता दिइरहेका छन् । दलका हरेक नेता दैनिकजसो संगठन निर्माण, पुरानो संगठन पुःननिर्माण, प्रशिक्षण, आमसभा, भेटघाट लगायतका गतिविधिमा व्यस्त छन् । आफ्नोपक्षका मतदातालाई जोगाउँदै अन्य पार्टीको कार्यकर्ता तानातानमा पनि दलहरु प्रतिस्पर्धात्मकरुपमा उत्रिएका छन् । 
कांग्रेसले ‘लोक जागरण अभियान’को नाममा जिल्लाका हरेक गाउँपालिका र नगरपालिकामा चुनावीसभा गरिरहेको छ । तरुण दलले पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा दिक्तेलको हेलीप्याडमा चुनाव लक्षित विशाल आमसभाको तयारी गरेको छ । अभियानका क्रममा निर्वाचन परिचालन समिति गठनदेखि कार्यकर्तालाई निर्वाचनप्रति जागरुक गराउने गतिविधि सञ्चालन भइरहेको कांग्रेस सभापति नरेशकुमार श्रेष्ठले बताए । यस्तै, निर्वाचनको तयारी स्वरुप एमालेले सबै गाउँपालिका र नगरपालिकामा नयाँ कमिटी गठन गरेर चुनावी गतिविधि सञ्चालन गरिरहेको छ । ‘संविधान कार्यान्वयनकालागि जनपरिचालन’ अभियानको नाममा गत कार्तिकदेखि नै निर्वाचनको तयारीमा विभिन्न गतिविधि गर्दै आएको एमालेले अध्यक्ष बबी चामलिङको संयोजकत्वमा ७७७ सदस्यीय निर्वाचन मूल कमिटी निर्माण गरेको छ । निर्वाचनका माध्यमबाट आफ्नो पक्षमा परिणाम ल्याउनका लागि रणनीति तयार पार्न फागुन २४ गते सबै जनवर्गीय संगठनको भेला गरेको एमाले उपाध्यक्ष रामप्रसाद दंगालले बताए । २०५४ सालको स्थानीय निर्वाचनमा जिल्लाका अधिकांश ठाउँमा जित हासिल गरेको एमालेलाई यसपल्ट साख जोगाउनुपर्ने चुनौती छ । 
नयाँ संरचना अनुसार नेकपा माओवादी केन्द्रले पनि निर्वाचन सम्बन्धी गतिविधिलाई तिव्र बनाएको छ । शहीद सप्ताहको नाममा फागुन १४ गतेदेखि २१ गतेसम्म चुनावीसभा गरेको माओवादी केन्द्रले हाल वडा कमिटी, टोल कमिटी, जनवर्गीय संगठन तथा जातीय र क्षेत्रीय मोर्चाको संगठन निर्माण, प्रशिक्षण लगायतका सांगठनिक गतिविधि सञ्चालन गरिरहेको छ । राप्रपा पनि निर्वाचन समन्वय समिति गठन गरेर स्थानीय तहको निर्वाचनमा होमिएको छ । जितका लागि रणनीति तयार पार्न र उम्मेदवारको टुंगो लगाउन राप्रपाले चैत्र ५ गतेदेखि ११ गतेसम्म दिक्तेलस्थित पार्टी कार्यालयमा छलफल चलाएको छ । निर्वाचनकै तयारी स्वरुप हरेक पुराना गाविसबाट ७÷७ जनाको नाम ल्याउने र उम्मेदवारको टुंगो लगाउने राप्रपा अध्यक्ष जीवन श्रेष्ठले बताए । निर्वाचनकै लागि संघीय समाजवादी फोरम पनि हाल संगठन विस्तारका काममा व्यस्त छ । एकता अधिवेशनपछि थप चुनावी रणनीति तयार पार्ने संघीय समाजवादी फोरमले बताएको छ । यस्तै नेकपा माले, नयाँ शक्ती, खम्बूवान लगायतका दलले पनि नयाँ संरचना अनुसार गाउँ र नगरमा पुगेर चुनावी गतिबिधिलाई तीव्रता दिइरहेका छन् । 
स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि जिल्ला निर्वाचन कार्यालयमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेपाली कांग्रेस, राप्रपा, नयाँ शक्ती नेपाल, संघीय समाजवादी फोरम, नेकपा माले–जनसमाजवादी, चुरेभावर लाकतान्त्रिक पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन र खम्बुवान राष्ट्रिय मोर्चा दर्ता भएका छन् । 
 

प्रकाशित: १४ चैत्र २०७३ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App