काठमाडौँ- नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ।
स्थानिय मन्त्रालयले माग गरेअनुसार आज सहसचिव प्रेमराज जोशी, हरि दाहाल र दुर्गानारायाण पौडेललाई महानगरमा नयाँ कार्यकारी अधिकृत बनाउनका लागि पठाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए।
यसअघि सामान्य प्रशासन मन्त्रालयले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि उपसचिव र शाखा अधिकृतलाई पठाएको थियो । सामान्यले शाखा अधिकृत र उपसचिव पठाएपछि बिहीवार गाउँपालिका र शुक्रबार उपमहानगर र नगरपालिकामा नयाँ कार्यकारी अधिकृत तोकि सम्बन्धित स्थानिय तहमा खटाइसकेको छ ।
काठमाडौँबाहेक ललितपुर, भरतपुर र पोखरा महानगरपालिकामा सामान्यले सहसचिवको सरुवा नगर्दा निमित्त कार्यकारी अधिकृतले काम गरिरहेका छन् । काठमाडौं महानगरमा सहसचिव इश्वरराज पौडेल कार्यकारी अधिकृतको रुपमा रहेका छन्।
महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत कार्यकारी रहने व्यवस्था गरिएको छ । सहसचिव न्यौपानेले आजै ती सहसचिवलाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको पत्र दिइएको बताउनुभयो । बिहीबारको मन्त्रिपरिषद् बैठकले ती सहसचिवको सरुवा गर्ने निर्णय गरेको थियो । रासस
प्रकाशित: ६ चैत्र २०७३ १४:२५ आइतबार