नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरावस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताएका छन्।
आईतवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै महामन्त्री शर्माले देशको आर्थिक दुरावस्था हुनुमा एक व्यक्ति मात्र दोषी नभएको बताएका हुन्।
उनले देशका शिर्ष नेताहरु सबै राजनीतिक उपलब्धिहरुको अंशियार र कमजोरीहरुको पनि जिम्मेवार भएको बताए। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले फूल नदेखेर काँडा मात्रै देखेको उनको टिप्पणी थियो। ओलीले यस्तो प्रवृत्ति त्याग्नुपर्ने उनको भनाई छ। मुलुकको अर्थतन्त्रको जटिलताको जिम्मेवार वर्तमान सरकार मात्रै नभएको उनले स्पष्ट पारे।
उनले भने – ‘सम्पूर्ण रुपले काँडैकाँडा मात्र देख्ने। एउटा पनि फूल कहीँ नफुलेको देख्ने। त्यो चाहीँ दृष्टि सही भएन भन्ने मलाई लाग्छ। बालकोटमा घाम लाग्दै गर्दा बानेश्वरमा झलमल्ल हुने। बालकोटमा अलिकति बादल लाग्यो भने बानेश्वरमा आइपुग्दा सबै धमिलो देख्ने प्रवृत्ति पूर्वप्रधानमन्त्रीले परित्याग गर्नुपर्छ। उहाँले गर्दै गर्दा मुलुकको जुन अहिलेको आर्थिक चुनौति छ, यो चुनौतिलाई सामना गर्नका लागि जे–जस्ता प्रकारका कार्यक्रमहरु बनेका होलान्। त्यो कार्यक्रम पर्याप्त छ्रैनन्। अथवा अहिले मुलुकको अर्थतन्त्र जे जटिलतामा छ भन्दैगर्दा भर्खरै बनेको यो सरकारबाटै जटिलताहरु शुरु भएका हुन् भन्ने सत्य हो त? त्यो पनि होइन। खासगरी १६÷१७ वर्ष यता, गणतन्त्रस्थापना पछिको यो अवधिको बिचमा उहाँ आफैँपनि दुईपटक प्रधानमन्त्री हुनुहुन्छ। उहाँकै साथीहरु अस्ति भर्खरसम्म मन्त्रिपरिषद्मा सामेल हुनुहुन्थ्यो। अहिलेको आर्थिक दुरावस्थाको दोषि एक्लै कोही व्यक्ति प्रचण्ड, या केपी ओली, या शेरबहादुर देउवा मात्रै हो त? यो त समग्रतामै साझा रुपमा अहिलेका उपलब्धिहरुको पनि अंशियार हौँ। अहिलेका कमजोरीहरुको पनि साझा रुपमा जिम्मेवार हौँ। निति कार्यक्रम हेर्दा उहाँले केही नभएको मात्रै, अध्याँरो मात्रै निराशाको मात्रै कुरा राख्नुभयो।’
प्रकाशित: ७ जेष्ठ २०८० १३:०४ आइतबार