बर्दिवास–१ र ३ को बीचमा पर्ने चिहानडाँडा वरपरका वनजङ्गलमा बोटबिरुवा र फलफूलमा पाउन थालेपछि गाउँमा बादरको उपद्रव घटेको छ। चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले चार वर्षअघि वनक्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेको थियो। यहाँका जामुना, फडिर, अमला, अम्बा र महुवालगायतमा फल फल्न थालेपछि बस्तीमा बाँदर पस्नेक्रम पातलिएको हो।
‘अझै पनि घरका छतछतमा एक–दुई वटा बाँदर आइरहन्छन्, पहिले दैनिक २०–२५ को सङ्ख्यामा बाँदरको हुल आउँथ्यो,’ स्थानीय उमा पोखरेलले भनिन्, ‘पहिले बाँदरको समूहले अन्नबाली, बोटबिरुवा, घरका सामान सबै खोसलेर केही बाँकी राख्दैनथे।’ करिब तीन वर्ष पहिले समूहमा आउने बाँदरले घर पसेर खाद्यान्न समेत नष्ट गरेको सम्झँदै उनले आजभालि बस्ती पस्ने बाँदर पातलिन थालेका बताइन्। सामुदायिक वनमा रोपिएका बिरुवाले फल दिन थालेपछि बाँदर जङ्गलमा रमाउन थालेका पोखरेलको भनाइ छ।
बाँदर गाउँमा पसेर अन्नबाली नष्ट गर्ने, मानिसमाथि आक्रमण गर्नेलगायत क्रियाकलापबाट दुःख दिने गरेको गुनासो बढेपछि २०७८ सालमा तत्कालीन वन उपभोक्ता समितिले आफ्नो वनक्षेत्रमा फलफूल रोपन अभियान सञ्चालन गरेको थियो। अहिले चिहानडाँडा वनक्षेत्रमा रोपिएका अमला, अम्बा, जामुन, फडिर र महुवालगायत फल फल्न थालेपछि बाँदर वनमा रमाएर बस्ती पस्नेक्रम पातलिएको घनश्याम न्यौपानेले बताए। उनी वन उपभोक्ता समितिको अध्यक्ष रहेका बेला फलफूल रोपन गरिएको थियो। तत्कालीन समयमा दुई वर्षमा दुई हजार बढी बिरुवा रोपिएको उनले जानकारी दिए।
वनमा फल फल्न थालेपछि बाँदरमात्र नभएर जङ्गली चराचुरुङ्गीले पनि भोजन पाएका छन्। वनभित्र पस्न र चरण निषेध गरिएकाले मानिसको चहलपहल पातलिएपछि वनमा विभिन्न प्रजातिका चराचुरुङ्गी बढेका चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीम श्रेष्ठले बताए। ‘वन हराभरा भएपछि अहिले मयूरसहित रङ्गीविरङ्गी चराको चिरबिर गुञ्जिरहन्छ। खरायो, न्याउरीमुसा, दुम्सी र मलसाँप्रालगायत जीव पनि वनक्षेत्रमा बढेका छन्,’ उनले भने।
पूर्वपश्चिम राजमार्गबाट पाँच सय मिटर उत्तरमा यो वन पर्दछ। करिब ४४ हेक्टर क्षेत्रफलमा बाँदर आतङ्क कम गर्ने र गल्छीपहिरो रोकथाम गर्ने उद्देश्यले रोपिएका फलफूलका साथै करिब एक हजार झाङ बाँस सप्रिएका अध्यक्ष श्रेष्ठले उल्लेख गरे। बाँस छिप्पिँदै गएपछि उपभोक्तालाई बर्सेनि बाँड्ने योजना बनाइएको उपभोक्ता समितिले जनाएको छ।
कतिपय स्थानमा वन अतिक्रमण भइरहेका भए पनि यहाँको वनक्षेत्र भने सुरक्षित रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ।
‘यो वन छ र घर मास्तिर, मुन्तिर हराभरा देख्न पाइएको छ, वन संरक्षण भएपछि खोल्सीहरूमा पानी रसाएको छ,’ उनले भने, ‘रङ्गीविरङ्गी चरा देख्न र चिरबिर सुन्न पाइन्छ, बाँदर बस्तीमा पस्ने क्रम पनि कम भइरहेको छ।’ वन उपभोक्ता समितिले वन सुरक्षाका लागि एक जना वनहेरालु नियुक्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। ‘वनमा आवतजावत निषेध गरेका छौँ,’ उनले भने।
वन बढाउन, सुरक्षाको थप व्यवस्था मिलाउन तथा फलफूल र बाँसका बिरुवा रोप्ने कार्यमा पूर्वअध्यक्ष न्यौपानेको उल्लेख्य योगदान रहेको उनले बताए। समितिले बर्सेनि बाँस काटेर उपभोक्तालाई वितरण गर्दै आएको छ। बाँसको झाङ बढेपछि नयाँ तामा नफस्टाउने र अन्य वनस्पति पनि नबढ्ने भएकाले केही बाँस छ्यासेर उपभोक्तालाई दिने गरिएको समितिले जनाएको छ। रासस
प्रकाशित: २३ पुस २०८१ १३:४२ मंगलबार