८ वैशाख २०८१ शनिबार
राजनीति

एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौंमा एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

जनकल्याण सामाजिक केन्द्रले आज यहाँ आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा वातावरण कार्यक्रममा उनले काठमाडौंको विकासका लागि एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्ने बताएका हुन्।

‘काठमाडौंभित्रका सडकमा आवश्यक समन्वय नहुँदा भत्काउने र बनाउने क्रम चलेको छ, सबै निकायको आवश्यक समन्वय गरी एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ’, उनले भने।

काठमाडौं क्षेत्र नं ५ का सांसद पौडेलले काठमाडौं उपत्यकाभित्रको विकासका लागि सुविधासम्पन्न प्राधिकरण निर्माण गर्नुपर्ने बताए। काठमाडौं संसारको प्रदूषित शहर बन्दै गएकाले यसलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिक स्तरबाट लाग्नुपर्ने उनको भनाइ थियो।

नेता पौडेलले खोला क्षेत्रको वरपर करिडोर निर्माण गरेर त्यहाँ वृक्षरोपण गर्न सके मात्र काठमाडौंको वातावरण राम्रो हुने बताए। नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले काठमाडौंलाई स्वच्छ, सुन्दर र हराभरा बनाउन व्यक्तिबाटै पहल हुनुपर्ने बताए।

काठमाडौंभित्र भद्रगोल विकासलाई अन्त्य गर्दै व्यवस्थित विकासमा सबै लाग्नुपर्ने उनको भनाइ थियो। नेता केसीले निरोगी र स्वस्थ्य बन्न व्यक्ति स्वयं लाग्नुपर्ने बताए।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्र आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले पहल गरिरहेको बताए।

यस्तै साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा डायलासिस सेवा प्रदान गर्न नगरपालिकाले काम सुरु गरिसकेको उनको भनाइ थियो। वातावरण संरक्षणका लागि नपाले काम गरिरहेको नगरप्रमुख महर्जनले बताए। २०७० सालमा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले काठमाडौंको उत्तरी क्षेत्रको टोखा र तारकेश्वर क्षेत्रमा सामाजिक काम गर्दै आएको छ। सो केन्द्रले हालसम्म देशका विभिन्न दुई सयभन्दा बढी क्षेत्रमा पुगेर स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले बताए।  

प्रकाशित: ६ जेष्ठ २०८० ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App