१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘दोषीलाई कारबाही हुनुपर्छ’

नेपाली कांग्रेसले गैरकानुनी क्रियाकलाप गर्नेलाई राज्य संयन्त्रले कारबाही गर्नुपर्ने र दोषीलाई जोगाउन राजनीतिक दल अग्रसर हुन नहुने जनाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शुक्रबार बसेको पदाधिकारी बैठकले अपराध गर्नेलाई राज्य संयन्त्रले कानुनी कठघरामा उभ्याउन खोज्दा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने औंल्याएको हो।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले जारी राखेको अनुसन्धानमा राजनीतिक दलले हस्तक्षेप गर्न नहुने कांग्रेसले जनाएको छ। ठगी गिरोहमा संलग्न भएको आशंकामा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। नेपालीलाई नक्कली भुटान शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्नेमा कांग्रेसकै केही नेताको पनि संलग्नता रहेको चर्चा भइरहेका बेला पदाधिकारी बैठकले दोषीलाई कारबाही हुनुपर्ने जनाएको हो।  

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राज्य संयन्त्रले गैरकानुनी क्रियाकलापलाई कहींकतै पनि संरक्षण गर्न नसक्ने र त्यसो गर्न नहुने बताए। ‘यस्तो कल्पना पनि गर्न सकिँदैन,’ महतले भने, ‘गलत कामको फर्दाफास हुनुपर्छ। गलत काम गर्नेलाई कानुनी कठघरामा ल्याउनुपर्छ। दोषी सबैलाई सजायको दायरामा ल्याउनुपर्छ।’

राजनीतिक दलका नेता र कर्मचारी नै नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिनको दायरामा तानिएका छन्। एमाले सचिव रायमाझीलाई पनि छानबिनको दायरामा ल्याउन पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओली त्यसको बचाउमा लागेका छन्। जसले गर्दा दोषी सजायको दायरामा आउनेमा आशंका गर्न थालिएको छ। कांग्रेसका प्रवक्ता महत भन्छन्, ‘यो आपराधिक काम हो। यसको जति निन्दा गरे पनि कम हुन्छ। अनुसन्धानको क्रममै छ। न्यायनिरूपण होला। हामी चाहन्छौं कि जोजो त्यसमा सहभागी छन्, जोजो दोषी छन् सजायको दायरामा आउनुपर्छ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर ठगी गर्ने गिरोहमा सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका छोरा प्रतीक, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहितको संलग्नता रहेको प्रहरीले जनाएको छ। अहिलेसम्म प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको छ भने अन्यको खोजी गरिरहेको छ।

यसैबीच कांग्रेस पदाधिकारी बैठक शुक्रबार नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समितिलाई पूर्णता दिन भने असफल भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकमा यी दुई भ्रातृ संगठनका केन्द्रीय समितिलाई शुक्रबार पूर्णता दिने समझदारी भएको थियो। २०७८ फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो।  

सोही बैठकले एक महिनाभित्र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अहिलेसम्म प्रमुख भ्रातृ संगठनका अध्यक्ष तोकिए पनि केन्द्रीय समिति गठन भएका छैनन्।

रिजाल केन्द्रीय सदस्य

कांग्रेस सभापति शेरबहादुर देउवाले नेता मीनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय सदस्य मनोनित गरेका छन्। उनले कांग्रेस विधानको धारा २१ को उपधारा (१०) अनुसार रिजाललाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित गरेका हुन्। १४औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका रिजालले पराजित भएसँगै रक्षामन्त्रीबाट पनि राजीनामा गरेका थिए। सभापति देउवासँग राम्रो सम्बन्ध नभएकै कारण रिजालले मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाएको चर्चा कांग्रेसभित्र चलिरहेका बेला उनलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।

प्रकाशित: २३ वैशाख २०८० ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App