coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

मतगणना मंगलबारसम्म सक्न आयोगको निर्देशन

मतदान केन्द्रबाट तनहुँ सदरमुकाम दमौली ल्याइँदै मतपेटिका। तस्बिर: नागरिक

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बारा २, चितवन २ र तनहुँ १ मा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदान केही मतदान केन्द्रमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १, बारा २ र चितवन २ मा सम्पन्न उपनिर्वाचनमा मंसिर ४ गतेको तुलनामा कम मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उपनिर्वाचनमा औसतमा ६० प्रतिशत मत खसेको छ।

तनहुँ १ मा ५३ प्रतिशत, बारा २ मा ६४ प्रतिशत र चितवन २ मा ६३ प्रतिशत मत खसेको आयोगले जनाएको छ। आयोगका अनुसार गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ मा ५४.३, बारा २ मा ६३.५६ र चितवन २ मा ६७.६३ प्रतिशत मत खसेको थियो।

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

आयोगका अनुसार तनहुँ १ को मतगणना जिल्ला समन्वय समिति, दमौली, बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैया र चितवन २ को मतगणना उद्योग वाणिज्य संघको हल, भरतपुरमा गरिने भएको छ। आयोगले मंगलबारसम्म तीनवटै क्षेत्रको मतपरिणाम सार्वजनिक गर्नेगरी गणना गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

उपनिर्वाचनमा तनहुँ १ मा कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बारा २ मा जनता समाजवादी पार्टी, एमाले, जनमत पार्टी, रास्वपा र आम जनता पार्टी र चितवन २ मा रास्वपा, कांग्रेस र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ। मतदान सम्पन्न भएपछि चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले आफ्नो पक्षमा परिणाम आउने दाबी गरेका छन्।

देउवाले दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा सक्रियतापूर्वक सहभागी भएको भन्दै मतदातालाई धन्यवाद दिएका छन्। देउवाले आइतबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउने विश्वास व्यक्त गर्दै यस कार्यमा सहभागी सबैलाई धन्यवाद दिएका हुन्।

विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ १, चितवन२ र बारा २ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु।’

उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित मतदान गराउन जुटेका निर्वाचन आयोगलगायत सबै पक्षलाई उनले धन्यवाद दिएका छन्।

तनहुँको मतगणना दमौलीमा

पोखरा संवाददाताका अनुसार तनहुँ–१ मा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। तनहुँका जिल्ला निर्वाचन अधिकारी हरि ढकालले भने, ‘प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मत खसेको छ। गत मंसिरमा भन्दा कम मत खसेको हाम्रो बुझाइ छ।

मत कम खस्नुको कारण अहिले नै विश्लेषण गर्न सकिने अवस्था छैन।’ निर्वाचन कार्यालयका अनुसार अघिल्लो निर्वाचनमा तनहुँ १ मा ५४.०३ प्रतिशत मत खसेको थियो। तनहुँ १ मा एक लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। शान्तिपूर्ण ढंगले तनहुँमा निर्वाचन भएको जानकारी उनले दिए।

निर्वाचन सकिएपछि मतपेटिका संकलनको काम सुरु भएको ढकालले बताए। उनका अनुसार सबैभन्दा टाढा पर्ने देवघाट गाउँपालिकाबाट मतपेटिका रातिसम्म सदरमुकाम दमौलीमा ल्याउने तयारी भएको छ। उनका अनुसार देवघाटको कोटा, बैदी, छिपछिपेलगायतका मतदान केन्द्र सबैभन्दा दुर्गम हुन्। त्यहाँ गाडी पुुगे पनि भौगोलिक रूपमा आउजाउ सहज नभएको उनले बताए।

 ‘सबै मतपेटिका पोखरा–नारायणगढको गाईघाटमा झारेर दमौली ल्याउनुपर्दा राति अबेरसम्म समय लाग्नेछ,’ उनले भने। मतपेटिका सदरमुकाम ल्याएपछि राजनीतिक दलको बैठक बसेर गणना सुुरु गर्ने उनले बताए। तनहुँ–१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

निर्वाचन सकिएपछि मतपेटिका संकलनको काम सुरु भएको ढकालले बताए। उनका अनुसार सबैभन्दा टाढा पर्ने देवघाट गाउँपालिकाबाट मतपेटिका रातिसम्म सदरमुकाम दमौलीमा ल्याउने तयारी भएको छ।

गत मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उपनिर्वाचन गर्नुपरेको हो। त्यो बेला पौडेल २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। पौडेलका निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत पाएका थिए।

त्यस्तै स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए।

आयोगले भट्टराईसँग माग्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले तनहुँ १ मा कांग्रेसका उम्मेदवार भट्टराईलाई स्पष्टीकरण सोधेको छ।

वैशाख ७ गते राति १२ बजेपछि (मौन अवधि सुरु भएपछि) प्रचारप्रसार गर्न नपाउने अवस्थामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भट्टराईले मतदातालाई भ्वाइस म्यासेज पठाएको भन्दै स्पष्टीकरण सोधिएको समितिले जनाएको छ।

भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समितिले निर्देशन दिएको छ। समितिले मुख्य निर्वाचन अधिकृतको दमौलीस्थित कार्यालयमा आफंै उपस्थित वा प्रतिनिधिमार्फत स्पष्टीकरण पेस गर्न भट्टराईलाई निर्देशन दिएको छ।

चितवन २ मा ७८ हजार २७७ मत खस्यो

चितवन संवाददाताले जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीलाई उद्धृत गर्दै जनाएअनुसार चितवन २ मा १ सय ३८ मतदान केन्द्रबाट गरी ७८ हजार २७७ मत खसेको छ। चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन्।

चितवन २ मा गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७.८६ प्रतिशत मतदान भएकोमा उपनिर्वाचनमा ६३ प्रतिशतजति खसेको निर्वाचन अधिकारीले जनाएका छन्। चितवनमा केही मतदान केन्द्रमाबाहेका शान्तिपूर्ण रूपमा मतदान भयो। विवादका कारण नयाँ किरण माध्यमिक विद्यालय केन्द्रमा साढे ३ घण्टा मतदान रोकियो।

सर्वदलीय बैठकपछि मतदान सुरू भएको थियो। रास्वपाका सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकले हुटिङ गरेपछि आचारसंहिताविपरीत भन्दै अन्य दलले विरोध गरेका थिए। आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णय भएपछि मतदान अघि बढाइएको थियो। लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप छ। मतदान अधिकृत इन्द्रशर्मा ढुंगानासहितको सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको ठहर गरिएको थियो।

चितवन २ मा गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६७.८६ प्रतिशत मतदान भएकोमा उपनिर्वाचनमा ६३ प्रतिशतजति खसेको निर्वाचन अधिकारीले जनाएका छन्।

गत मंसिरमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसालाले खारेज भएपछि यहाँ उपनिर्वाचन भएको हो। नागरिकता विवाद मुद्दामा अदालतको फैसलाबाट उनको सांसद पद गुमेको थियो। त्यसबेला लामिछाने ४९ हजार ३०० मत पाएर विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए। उपनिर्वाचनमा चितवन २ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिए। उनले कालिका नगरपालिका ९ स्थित चतुर्मुखी माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरे।

गत मंसिरमा यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद सर्वोच्च अदालतको फैसालाले खारेज भएपछि यहाँ उपनिर्वाचन भएको हो।

उनका मुख्य प्रतिस्प्रर्धी मानिएका रास्वपाका लामिछाने र एमालेका रामप्रसाद न्यौपाने चितवन २ का मतदाता नभएकाले उनीहरूले मतदान गर्न पाएनन्। लामिछाने काठमाडौं र न्यौपाने चितवन ३ का मतदाता हुन्। उपनिर्वाचनमा चितवन २ मा २२ जना प्रतिस्पर्धामा उत्रिए पनि लामिछाने, श्रेष्ठ र न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने मतदाताको आकलन छ।

चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन्। राजनीतिक दलबीच सहमति भए चितवन २ को मतगणना मंगलबार राति नै थाल्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले बताए। मतगणना स्थलमा फलामको तारजालीसहित १२ वटा सिसी क्यामेरा जडान गरिएको छ। तीन दिनभित्र मतगणना सक्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले गरेको छ।

बुथ कब्जा गरेको राउतको आरोप

बारा संवाददाताका अनुसार उपनिर्वाचनमा बारा २ मा एक लाख पाँच हजार दुई सय ४८ जना मतदाता रहेकोमा ६८ हजार दुई सयजतिले मतदान गरेका छन्।

निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सरदर ६५ प्रतिशत मत खसेको छ। बारा २ मा ६ वटा स्थानीय तहका ४४ वटा वडा पर्छन्। ८२ वटा मतदान स्थल र एक सय ३७ वटा मतदान केन्द्र तोकिएको जानकारी उनले दिए।  बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले उपनिर्वाचन निष्पक्ष र शान्तिपूर्ण तरिकारले सम्पन्न भएको बताए।

मतदानका दिन नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल प्रहरीका १८ सय सुरक्षाकर्मीलाई फिल्डमा खटाइएको थियो।

गत मंसिरमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त सांसद पदका लागि उपनिर्वाचन गराउनुपरेको हो। उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोक्तम पौडेल, रास्वपाका रमेशप्रसाद खरेल, अमा जनता पार्टीका अरूणकुमार ज्ञवालीसहित ३४ जना प्रतिस्पर्धामा छन्।

मतदानका दिन नेपाली सेनाका चार सय, सशस्त्र प्रहरी बलका सात सय र नेपाल प्रहरीका १८ सय सुरक्षाकर्मीलाई फिल्डमा खटाइएको थियो।

प्रतिस्पर्धीमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवले चुनाव जित्ने आकलन मतदाताको छ। सुवर्ण गाउँपालिका सन्तपुरका मतदाता उमाशंकर यादवले उपेन्द्रको पक्षमा नतिजा आउने अनुमान सुनाए।

बारा २ का केही बुथ कब्जा गरिएको आरोप जनमत पार्टीका अध्यक्ष सिके राउतले लगाएका छन्। उनले पचरौताको बेल्दारी, देवतालको झिटकैयालगायका बुथ जसपा कार्यकर्ताले कब्जा गर्दा प्रहरी र प्रशासनले सहयोग गरेको आरोप लगाए पनि अनुगमनका क्रममा त्यस्तो फेला नपरेको सम्बन्धित अधिकारीले बताएका छन्। बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बुथ कब्जाको हल्ला फैलाएर तनाव दिने काम मात्र भएको बताए।

प्रकाशित: ११ वैशाख २०८० ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App