आइतबार भएको चितवन क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा ५९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार, १ सय ३८ वटा मतदान केन्द्रबाट ५९ प्रतिशत मत खसेको हो। तर, यो तथ्याङ्कमा केही तलमाथि हुने कार्यालयले जानकारी दिएको छ।
मंसिर ४ गतेको निर्वाचनमा भन्दा कम मत खसेको हो। चितवनमा केही स्थानमा सामान्य घटना बाहेक शान्तिपूर्ण नै मतदान भएको थियो। ४३ वटा मतदान स्थल रहेको यस क्षेत्रमा नयाँ किरण माविमा ४ घण्टा मतदान रोकिएको थियो। यस निर्वाचन क्षेत्रमा १ लाख २५ हजार ६९५ मतदाता रहेका थिए।
चितवनमा आजै रातिबाट मतगणना गर्ने तयारी
चितवनमा आज रातिबाट नै मतगणना गर्ने तयारी गरिएको छ। राजनीतिक दलहरु सहमतिमा आए आज रातिबाट नै मतगणना गर्ने सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए।
मतगणना चितवन उद्योग संघको परिसर स्थित औद्योगिक प्रदर्शनीमा हुँदै छ। मतदान स्थलबाट यहाँसम्म मतपेटिका ल्याउन ५ घण्टासम्म लाग्ने आचार्यले जानकारी दिए। उनका अनुसार राति ११ बजेभित्र सबै स्थानबाट मतपेटिका आइपुग्छन्।
चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन्। भौगोलिक रुपमा टाढा रहेकाले मतपेटिका जम्मा गर्न समय लाग्नेछ।
प्रकाशित: १० वैशाख २०८० १२:५१ आइतबार




-600x400.jpg)
