१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावी गणितले उपेन्द्र यादव अगाडि

बारा २

बारा २ को उपनिर्वाचनमा बाँकी दुई क्षेत्रको उपनिर्वाचनभन्दा चासो र चर्चा बढी छ। कारण हो सत्ता गठबन्धन पाँच दलका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी। र, यादवलाई जसरी पनि हराएर संसद् प्रवेश गर्न नदिने जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) को घेराबन्दी।

जनमत पार्टीले माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई चुनावअघि भित्र्याएर उम्मेदवार बनाएको छ। जनमतबाट उम्मेदवार कुशवाहा भए पनि मतदाताको दैलोमा मत माग्न सिके बढी सक्रिय छन्। जसपाको बलियो संगठनको जगमा चुनाव लडेका यादवसँग नेपाली कांग्रेस, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ। घरदैलोमा यादवसँग समर्थक दलका स्थानीय नेता र जनप्रतिनिधि सँगसँगै हुन्छन्।

०७४ अघिको सांगठनिक शक्तिभन्दा २०७४ यता यस क्षेत्रमा जसपाले शक्ति आर्जन गरेको स्थानीय बताउँछन्। यस क्षेत्रमा ०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा) का रामसहाय यादव निर्वाचित भएका थिए। यादवले २८ हजार १ सय ८५ मत ल्याएर जित्दा कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ९० मत पाए। माओवादीका शिवचन्द्र कुशवाहाले ४ हजार ७ सय १२ मत पाएका थिए।

प्रतिनिधिसभा निर्वाचन ०७९ मा यस क्षेत्रबाट जसपा र एमालेका साझा उम्मेदवार बनेका जसपा नेता रामसहाय यादवले १३ हजार ८ सय २२ मत पाएर जित हासिल गरे। कांग्रेस–माओवादी गठबन्धनबाट उठेका माओवादीका शिवचन्द्र कुशवाहाले १३ हजार ४ सय ६८ मत पाए। जसपाबाटै बागी उठेका रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए।

कांग्रेसबाट बागी उठेका रवीन्द्रप्रसाद यादवले १० हजार भोट पाएका थिए। चारजना उम्मेदवारले १० हजारभन्दा माथि भोट ल्याएका कारण यस क्षेत्र १३ हजार मतबाटै हार–जित तय भएको थियो तर जसपा नै अब्बल निस्कियो।

मंसिरको चुनावमा यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार नै थिएनन्। स्वतन्त्र भने धेरैजना उठेका थिए, तीमध्ये अरूण ज्ञवालीले ७ हजार ६ सय ९८ मत ल्याएका थिए। यहाँ जनमत पार्टीले २७ सय २५ र नागरिक उन्मुक्तिले ११ सय ११ मत पाएका थिए।

चुनावी गणित

बारा २ मा ६ वटा स्थानीय तहका ४४ वडा समेटिएका छन्। गत स्थानीय चुनावमा ४४ मध्ये १५ वडा जसपाले एक्लै जितेको छ भने नेपाली कांग्रेसले १३ वटा वडाध्यक्ष जितेको छ। माओवादीले जितेका दुई र एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादीले जितेका एकएक वडासमेत जोड्दा सत्ता गठबन्धनका भागमा ३४ वडा पर्दछन्। एमालेले १० वटा वडा जितेको छ।

एमालेले जितेका वडा र पालिकामा पनि कांग्रेस-जसपाको गठबन्धन बन्दा एमालेको मत कम हुने देखिन्छ। कारण, बारा २ मा जसपा र कांग्रेस नै पहिलो र दोस्रो शक्ति हुन्। यसलाई वडा तहको शक्ति सन्तुलनले पुष्टि गर्छ।

जस्तो-क्षेत्र नम्बर २ मा पर्ने कोल्हबी नगरपालिकाको वडा नम्बर ८ मा २७ सय मतदाता छन्। यहाँ एमालेले वडाध्यक्ष जितेको छ, तर दोस्रो र तेस्रो रहेका कांग्रेस र जसपाको मत जोड्दा एमाले कमजोर हुन जान्छ। एमालेले पालिका प्रमुख जितेको पचरौता नगरपालिकामा पनि जसपा र कांग्रेसको गठबन्धन हुँदा एमाले स्वतः अल्प मतमा पर्छ।

यस निर्वाचन क्षेत्रमा पर्ने करैयामाई गाउँपालिका र देवताल गाउँपालिका प्रमुख जसपाले जितेको छ। ३३ हजार मतदाता रहेको महागढीमाई नगरपालिको मेयर कांग्रेसले जितेको छ, जहाँ जसपाको मत दोस्रो स्थानमा छ। जसपाले प्रमुख जितेको देवताल गाउँपालिकाका कुल ७ वडामध्ये कांग्रेस र जसपाले ३–३ वटा जितेका छन् भने लोसपाले एउटा जितेको छ। एमाले, जनमत कसैले पनि यहाँ जितेका छैनन्।

करैयामाई गाउँपालिकाका कुल ८ वडामध्ये सत्ता गठबन्धनले ६ र एमालेले २ वडा जितेका छन्। जनमतले एउटै जितेको छैन। पचरौता नगरपालिकामा एमाले र जसपाले ४–४ वडा जितेका छन् भने लोसपाले एउटा जितेको छ। यहाँ पनि कांग्रेस–जसपा गठबन्धनको भोट एउटा ठाउँमा हुँदा एमाले स्वतः कमजोर हुन्छ। जनमत यहाँ पनि छैन।

मंसिरमा यस निर्वाचन क्षेत्रभरिबाट करिब २७ सय मत ल्याएको जनमत पार्टीले ४४ मध्ये एउटा पनि वडा जितेको छैन। स्थानीय तहमा उसका उम्मेदवार प्रतिस्पर्धामै आएको देखिँदैन।

यो अवस्थामा माओवादी छाडेर जनमत पार्टीमा लागेका शिवचन्द्र कुशवाहाले केही व्यक्तिगत र माओवादीको मत ल्याउन सक्छ।

माओवादीको मत कुशवाहाभन्दा बढी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्ना उम्मेदवार अरूण ज्ञवालीतर्फ ट्रान्सफर गराउन सक्ने सम्भावना बढी छ।

सिके राउत उम्मेदवारी दर्तादेखि नै बारामै बसेर उपेन्द्र यादवलाई हराउने रणनीति बुनिरहेका छन्। राउतले गढीमाई मन्दिरछेउमा कार्यालय स्थापना गरेका छन्। राउतलाई अहिलेसम्मको गणितले भने पटक्कै साथ दिएको छैन। उनी आफ्ना उम्मेदवारको पक्षमा मत माग्नुभन्दा पनि यादवबारे भ्रम फिँजाउन सक्रिय रहेको कोल्हबीका राकेश यादवले बताए। यस क्षेत्रको गणितले जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखाउँछ।

करिब ३० प्रतिशत यादव जातिको बसोबास रहेको यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ। विकासका पूर्वाधार खासै नबनेको र कृषिमा निर्भर रहेको यस क्षेत्रमा करिब दुईतिहाई मधेसी समुदायको बसोबास छ।

जसपाको बलियो संगठनात्मक पकड रहेको यस क्षेत्रमा कांग्रेस र माओवादीले समेत साथ दिँदा उपेन्द्र बलियो देखिन्छन्। तर सिके राउतले सप्तरीबाट आएर उठेको प्रचार भइरहेकाले यादवमाथि पनि जित निकाल्नु चुनौतीपूर्ण भने पक्कै छ।

उपेन्द्र यादवलाई अंक गणितले बलियो साथ दिए पनि निर्वाचन भनेको सम्भावना र भावनाको खेल पनि हो। जसले जनताको मन जित्छ, उसले गणित बदल्न सक्छ।

कुल २ लाख ३ हजार जनसंख्या रहेको बारा २ मा १ लाख ५ हजार २ सय ४८ जना मतदाता छन्। यादवपछि क्रमशः मुस्लिम, वैश्य, दलित समुदायका मतदाता रहेका छन्। पहाडे समुदायको प्रभाव कमै छ।

०६४ साल पहिला यादव समुदायले प्रतिनिधित्व गरेको यो क्षेत्रमा २०६४ सालमा माओवादीबाट शिवचन्द्र कुश्वाहाले प्रतिनिधित्व गरेका थिए। त्यसपछि २०७० मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका रामअयोध्या यादवले प्रतिनिधित्व गरे। त्यसपछि २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रामसहाय प्रसाद यादव निर्वाचित भए।

प्रकाशित: २ वैशाख २०८० ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App