४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शीतलनिवासमा पौडेलको एक महिना

मन्दिर जाने र सचिवालय गठनमै सीमित

राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले एक महिने समय सचिवालय गठन र मन्दिर दर्शनमै बिताएका छन्। फागुन २९ गते गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिका रूपमा शीतलनिवास छिरेका पौडेल अझै आफ्नो सचिवालयलाई पूर्णता दिन असफल देखिएका छन्। एक महिनामा पनि सचिवालयलाई व्यवस्थित गर्न नसक्दा एकातिर असन्तुष्टि बढ्दै गएको छ भने अर्कातिर नियुक्ति पाएका व्यक्ति पनि विगतमा पौडेलले लामो समय आफूसँगै काम गरेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता मात्र भर्ना गरेको भन्दै आलोचना सुरु भएको छ।

‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य गर्नेछैन’ भन्दै राष्ट्रपतिमा भोट मागेका पौडेलले सो अवधिमा सवारीका नाममा घन्टौं बाटो बन्द गरेर जनतालाई दुःख दिने विगतको परम्परामा भने सुधारको प्रयास गरेका छन्। सवारी कार्यविधि संशोधनको प्रक्रियामा रहे पनि पौडेलले आफ्नै पहलमा आफ्नो आवतजावतलाई सहज बनाएर सकारात्मक सन्देश प्रवाह गरेका छन्। त्यसलाई निरन्तरता दिन पौडेलका लागि अबको चुनौती रहेको जानकार बताउँछन्।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछिका भेटमा पौडेलले संविधानको सीमा र परिधिभित्र रहने प्रतिबद्धता जनाउँदै आएका छन्। संवैधानिक सीमाभित्र रहेर आफ्नो कार्यसम्पादन गर्ने बताउँदै आए पनि सल्लाहकार र सहयोगी नियुक्तिमा भने पौडेल कांग्रेसभन्दा बाहिर जान सकेको देखिँदैन। कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई पौडेलले राजनीतिक सल्लाहकारमा नियुक्त गरेका छन्। पञ्चायत पृष्ठभूमिका सुनिललाई शक्तिकेन्द्रको आडमा पौडेलले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। त्यसको सर्वसाधारण जनताले मात्र होइन, उनै पौडेलसँग ६ दशक काम गरेका कांग्रेसका नेता तथा कार्यकर्ताले पनि आलोचना गर्दै आएका छन्।

बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै पौडेलले आफ्ना सहयोगी र सल्लाहकारमा नियुक्त गरेका व्यक्तिले विगतका राष्ट्रपतिहरू जस्तै सबैको साझा बन्ने चुनौती उनको सामु पनि दिएको छ। नयाँ राष्ट्रपति पौडेलले आफ्नो प्रमुख स्वकीय सचिवमा सुरेश चालिसेलाई नियुक्त गरेका छन्। कांग्रेस कोटाबाट पटकपटक राजदूत बनेका चालिसेले पौडेल समूहमै बसेर पार्टी राजनीतिमा पनि काम गरेका थिए।

त्यस्तै, उनले आर्थिक सल्लाहकारमा पूर्वगभर्नर चिरञ्जीवी नेपाललाई नियुक्त गरेका छन्। कांग्रेस नेतृत्व सरकारले नै उनलाई गभर्नरको जिम्मेवारीमा पुर्‍याएको थियो। कांग्रेस शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल प्रेस हेर्नेगरी नियुक्त भएका छन्।

राष्ट्रिय सूचना आयोगको आयुक्तको जिम्मेवारी सम्हालिसकेका पोखरेलले सचिव वा सोसरहको नियुक्तिसहित केही दिनअघि जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै राष्ट्रपति पौडेलले गण्डकी प्रदेशको पहिलो प्रदेशप्रमुख जिम्मेवारीसमेत सम्हालिसकेका बाबुराम कुँवरलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिएका छन्। कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्व सरकारमा कुँवरले महान्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए। निजी चिकित्सकमा निरज बम र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्ति दिनुका साथै पौडेलले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि विभिन्न पदमा झन्डै एक दर्जन व्यक्तिलाई नियुक्ति दिएका छन्।

तनहुँबाट पटकपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका पौडेलले राष्ट्रपतिको जिम्मेवारीमा पुगेपछि जिल्लालाई बेवास्ता गरेको गुनासो सुरु भएको छ। तनहुँलाई पौडेलले भोटका लागि मात्र प्रयोग गरेको भन्दै एक नेताले भने, ‘उहाँलाई विगतदेखि नै तनहुँमा सहयोग गरेका योग्य, क्षमतावान् व्यक्तिहरू छन्। तर उहाँले उनीहरूलाई अवसर दिने र जिल्लाको विकासमा ध्यान नै दिनुभएन ।’

पुष्पकमल दाहाल नेतृत्व सरकारमा पौडेलले भाग खोजिरहेको आरोप लगाउँदै उनले भने, ‘आफ्नो जिल्लाको होइन, अन्यत्रका नेतालाई मन्त्री बनाउन पछिल्ला दिनमा लागि पर्नुभएको छ।’

नयाँ राष्ट्रपतिप्रति आमजनताले अहिलेको संकट समाधान गर्न सरकारलाई आवश्यक सल्लाह दिने अपेक्षा गरिएको जनाउँदै स्रोतले भन्यो, ‘उहाँको ध्यान एउटा मन्त्री र मन्दिर घुम्नमा छ ।’ राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपति, स्वयम्भू गएका पौडेल गोरखाको गोरखनाथसहित मन्दिर गएका छन्। लुम्बिनी र जनकपुर समेत जाने तयारीमा रहेका पौडेल बिचमा अस्वस्थ बनेपछि उक्त कार्यक्रम तत्कालका लागि स्थगित भएको निकट स्रोतको दाबी छ। त्यसका अतिरिक्त एक महिनाको समयमा शीतलनिवासमा बधाई थाप्ने काम गरेका पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय र प्रदेशसभा सदस्यलाई निवासमा चियापान आयोजना गरेर धन्यवाद दिने काम गरेका छन्।

प्रकाशित: ३० चैत्र २०७९ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App