२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा चुनावतर्फ ११४ दल

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ११४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

आयोगले निर्वाचनमा भाग लिन ११४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि ११४ वटा दलको निवेदन आयोगले स्वीकृत गरेको बताए।

उनका अनुसार १३ वटा दलको निवेदन दर्ता खारेज भएको छ। विभिन्न कारणले ती दलको दर्ता खारेज गरिएको भट्टराइले बताए। ‘सुरुमा ८ वटा दलले एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न निवेदन दिएका थिए। पछि ती दलहले अन्य दलसँग मिलेर प्रतिस्पर्धा गर्न निवेदन दिए। त्यसैले ती ८ वटा दलको दर्ता खारेज भयो।

त्यसैगरी १ दलले आफै निवेदन फिर्ता लियो। अर्को एउटा दलको दोहोरो निवेदन परेर दर्ता खारेज भयो। अन्य दुई दलले एकल चुनावमा निर्वाचन लड्न निवेदन दिएकाले एउटाको खारेज भयो’, भट्टराईले भने।

उनका अनुसार हालसम्म आयोगमा दर्ता कायम भएका दलहरूको संख्या १४३ छ। तीमध्येबाट ११४ वटा दलले फागुनमा हुने निर्वाचनमा भाग लिने भएका छन्। आयोगमा दर्ता केही दलले निर्वाचनमा भाग लिन निवेदन दिएनन्।

आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनमा १०७ वटा चुनाव चिन्ह प्रयोग हुने भएका छन्। १०२ वटा दलले छुट्टाछुट्टै निर्वाचन चिन्ह लिएर चुनावनमा प्रतिस्पर्धा गर्नेछन्।

आयोगले विभिन्न दललाई १०७ वटा चुनाव चिन्ह दिएको छ। आयोगले दल दर्ताका लागि निवेदन दिने बेला नै चुनाव चिन्ह रोज्न सुविधा दिएको थियो। आयोगका अनुसार सकेसम्म दलहरूले रोजेको नै चिन्ह नै दिइएको छ। दोहोरो दाबी भएको अवस्था मात्र विकल्प छान्न लगाइएको हो। पुराना पार्टीले पहिला प्रयोग गरेकै चिन्ह पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टीलाई ५ कुने तारा चुनाव चिन्ह दिइएको छ। जनता लोकतान्त्रिक पार्टीलाई भैसी चिन्ह दिइएको छ। देश विकास पार्टीलाई लौरो, नेपाल सद्भावना पार्टीलाई पञ्जा छाप, नेपाल मानवतावादी पार्टीलाई इनार, राष्ट्रिय विकास पार्टीलाई हात्ती, नेसलन रिपब्लिक नेपाललाई उडिरहेको माहुरी, राष्ट्रिय साझा पार्टीलाई ढाका टोपी, नेपाल समावेशी पार्टीलाई सुगा, परिवर्तन पार्टीलाई पुतली, खम्बुवान राष्ट्रिय मोर्चालाई हथौडा, राष्ट्रिय एकता दललाई तुलीस मठ, संघीय नेपाल पार्टीलाई ग्रागी चिन्ह दिइएको छ।

यसैगरी नेपाल जनमुक्ति पार्टीलाई घर, बहुजन शक्ति पार्टीलाई जग, देशभक्त समाज पार्टीलाई जरायो, राष्ट्रिय परिवर्तत पार्टीलाई बाँसुरी चिन्ह प्रदान गरिएको छ।

प्रकाशित: २२ मंसिर २०८२ ०८:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App