१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

तनहुँ १ मा उम्मेदवार बन्ने कुरामा स्वर्णिम वाग्ले सकारात्मकः रास्वपा प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई तनहुँ उपनिर्वाचन क्षेत्र न. १ को उम्मेदवार बनाउन पहल गरिरहेको छ। वाग्लेले सकारात्मक जवाफ दिएको रास्वपाले बताएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले अर्थशास्त्री वाग्लेलाई तनहुँ उपनिर्वाचनमा उठाउन पहल भइरहेको जानकारी दिएका हुन।

‘हामीले उहाँलाई यस बिषयमा एप्रोच गरिरहेका छौं। उहाँ धेरै सकारात्मक हुनुहुन्छ’, उनले नागरिक न्यूजसँग भने।

प्रवक्ता ढकालका अनुसार रास्वपाको निर्वाचन आयोगमा छलफल भयो। छलफल पनि वाग्लेलाई एप्रोच गर्ने निर्णय भयो। ‘हामीसँगको छलफलमा उहाँ सकारात्मक हुनुहुन्छ। उहाँले उम्मेदवारका लागि हाम्रो आयोगमा पहिला निवेदन दिनुपर्छ। त्यो वातावरण हामी बनाउँछौं’, उनले भने।

प्रवक्ता ढकालले पार्टीको निर्वाचन आयोगले नै उहाँसँग छलफल गरिरहेकाले उम्मेदवार बनाउन कुनै समस्या नरहेको बताए। मंसिर ४ को निर्वाचनको कांग्रेस घोषणापत्र बनाउने काममा वाग्ले सहभागी भएका थिए।

स्वर्णिम वाग्लेलाई गत मंसिर ४ कै निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट चितवन–२ बाट उम्मेदवार बनाउने चर्चा  भएको थियो। पछि कांग्रेसका नेताहरुको आन्तरिक विमतिका कारण त्यो चर्चा त्यत्तिकै तुहियो।

प्रधानमन्त्री देउवाले वाग्लेलाई उम्मेदवार नबनाएर राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डा. विश्व पौडेललाई उम्मेदवार बनाएका हुन। तनहुँ १ का तत्कालिन सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: १६ चैत्र २०७९ ०९:४८ बिहीबार