७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाललाई आँखा उपचारको गन्तव्य मुलुक बनाउन आग्रह

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन्।

सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार व्यक्त गरे।

उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रुपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरेका छन्। संघले नेपालको दूरदराजमा पुगेर अन्धोपना हुनबाट जोगाउन खेलेको भूमिकाको प्रशंशा गर्दै सभामुख घिमिरेले सो कामका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सभामुख घिमिरेले भने, ‘नेपाल नेत्रज्योति संघले अव केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरुसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रुपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु। अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रुपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरु र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरु यसको प्रेरणाको स्रोत रहनु भएको छ। नेत्रज्याति संघले गरेको इमान्दार प्रयत्नहरु र यसले जनताको सेवा खासगरीकन अन्धोपनलाई हटाएर उज्यालो छाउनका लागि गरेको योगदानप्रतिको विश्वासको कारणले गर्दाखेरी यसले दिन प्रतिदिन प्रगति गर्दै गईरहेको छ। यसलाईं जसरी बुझेर जानुपर्ने हो, त्यो कुराको अझै पनि अभाव छ। यस क्षेत्रको धेरै ठूलो योगदान गरेका धेरै विशिष्ट व्यक्तिहरु हुनुहुन्छ। विज्ञहरु हुनुहुन्छ। र, डाक्टरहरु हुनुहुन्छ। तपाईहरुको अगाडि आज मलाई प्रमुख अतिथिको बोलाई रहँदाखेरी के कुरा राख्न चाहन्छु भने मेरो ठाउँबाट मैले सक्ने सहयोगहरु गर्न म जहिले पनि तयार छु।’

त्यस अवसरमा सभामुख घिमिरेले गरिव जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तीमा नेत्रज्योति संघलाई सफलता मिलोस भनि कामना समेत गरे। कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: १३ चैत्र २०७९ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App