१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गैरजिम्मेवार अभिव्यक्तिले सभामुख विवादमा

आरोप पुष्टि गर्न वा फिर्ता लिन महासंघको आग्रह

पदीय हैसियत र मर्यादाविपरीत स्वतन्त्र प्रेसविरोधी धारणा व्यक्त गरेका कारण सभामुख देवराज घिमिरे विवादमा परेका छन्। सञ्चार क्षेत्रसम्बन्धी कानुनका विषयमा छलफल गर्न र बधाई ज्ञापन गर्न नेपाल पत्रकार महासंघका प्रतिनिधि सभामुख घिमिरेलाई भेट्न शुक्रबार उनको कार्यकक्षमा पुगेका थिए। ‘पत्रकारहरू बिक्रीमा छन्’, महासंघका प्रतिनिधिहरूसँगको भेटमा उनले भनेका थिए, ‘पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ। जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन्। अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू।’

स्वतन्त्र प्रेसविरुद्ध मुलुकको संघीय प्रतिनिधिसभाका प्रमुखले दिएको अभिव्यक्ति सार्वजनिक भएपछि यसको पक्ष र विपक्षमा सामाजिक सञ्जाल बाँडिएको छ। केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकारविरुद्ध दिएको अभिव्यक्तिकै निरन्तरताका रूपमा घिमिरेले दिएका अभिव्यक्तिलाई समेत जोडेर प्रचार गरिएको छ। विशेष गरी प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस जगत्ले गरेको निरन्तरको आलोचनाबाट आक्रोशित नेताहरू, मुलुकमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा दिएको योगदानबाट असन्तुष्ट राजावादी र अहिलेको परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू स्वतन्त्र प्रेसको विपक्षमा जमेर लागेका छन्। स्वतन्त्र प्रेसविरुद्ध झुटा कुरा फैलाएर सर्वसाधारणमा भ्रम पार्ने तत्व पनि सभामुख घिमिरेका अभिव्यक्तिबाट उत्साहित भएको छ।

सभामुख घिमिरेलाई भेटेर तस्बिर समेत खिचेर फर्केको महासंघको प्रतिनिधिमण्डल उनको प्रतिक्रियाबाट क्षुब्ध भई शनिबार विज्ञप्ति निकाल्न बाध्य भएको छ। महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘महासंघ जननिर्वाचित संसद् र त्यसको नेतृत्व नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पूर्ण रूपमा प्रतिबद्ध भएको व्यवहारमा देख्न चाहन्छ। साथै आफ्ना आरोपहरू पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्णप्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गर्दछ।’

सभामुखबाट आएका गैरजिम्मेवार अभिव्यक्ति तत्काल फिर्ता नभए कानुनी र दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी समेत महासंघले दिएको छ। ‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभए महासंघ कानुनी लगायत अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘सार्वभौम संसद्को मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद छ।’

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘नेपालको राजनीतिक स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा अनवरत संघर्ष गर्दै आएको नेपाली सञ्चार क्षेत्र क्रमशः व्यावसायिकतातर्फ उन्मुख भइरहेका बेला समग्र प्रेस जगतलाई लाञ्छित गर्ने अभिव्यक्ति आउनुले यस क्षेत्रको विश्वसनीयता र व्यावसायिकतामा आँच आउन सक्नेतर्फ महासंघ गम्भीर चासो र चिन्ता प्रकट गर्दछ।’

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षक समेत मानिएको र कार्यकारीलाई समेत प्रतिकूल कानुन नबनाउन प्रेरित गर्ने विधायिका प्रमुखका अभिव्यक्तिले त्यहाँ गएका महासघंका पदाधिकारी समेत अप्ठेरो स्थितिमा पुगेका छन्। ‘हामी मिडिया सम्बन्धी विधेयकलाई प्राथमिकतामा राख्न र बधाई दिन पुगेका थियौं,’ महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नागरिकसँग भने, ‘बधाई दिन पुगेका बेलामा उहाँले यी कुरा नगरेको भए हुन्थ्यो। उहाँको कुराले हामीलाई नमज्जा लाग्यो। पत्रकारिताभित्र सुधार गर्ने कुरामा हामी सधैं तयार छौं।’

प्रकाशित: ५ चैत्र २०७९ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App