नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिइरहेको आरोप लगाएका छन्।
माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने र धम्क्याउने काम गरिरहेको बताए।
मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानवअधिकारको रक्षाका लागि लडन पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशन समेत दिए।
अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराए।
उनले भने, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन। तर्साउँछन, धम्क्याउँछन। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन। हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन। हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन। हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन । खुट्टा याद राख्नुस भन्न सक्छन। यो हुँदैन भन्न सकिदैन। त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ। मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लडन सक्ने त्यो हुनु पर्दछ एक्लै भयो भने फाँसी दिन सक्छन।’
अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढि मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताए।
प्रकाशित: ३० फाल्गुन २०७९ ०९:०१ मंगलबार