१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ।  पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ। साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ‘संसद्को ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ,’ उनले आठ दलीय बैठकपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिमा कांग्रेसले सार्ने उम्मेदवारलाई जिताउन सबै दल लाग्ने सहमति भएको छ। निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने हामीबीच समझदारी बनेको छ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो। प्रमुख राजनीतिक दलका साथै विभिन्न पक्षसँगको दुई पक्षीय र बहुपक्षीय छलफलपछि शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठुलो दलको हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए। कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गर्दै दाहालले गठबन्धनमा रहेका दलहरूलाई सरकारमा सहभागी हुन पनि आह्वान गरेका छन्। प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गरेको जानकारी महतोले दिए । प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने, ‘तपाईंहरू सबै सरकारमा सहभागी भएर मुलुकसामु देखिएका राजनीतिक चुनौतीको सामना गर्दै अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौं।’

आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको बताउँदै नेता महतोले भने, ‘हाम्रो उम्मेदवारका पक्षमा राष्ट्रिय सहमति नजुटेकाले बैठकमा सहभागी दलहरूबीच कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ।’  

बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। ‘कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ,’ उनले भने, ‘सरकारमा सहभागितासहितका शक्ति बाँडफाँटको कुरा पछि हुँदै जान्छ।’ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग र समुदायको हुनुपर्ने व्यवस्था छ।

जसपा स्रोतका अनुसार सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने अध्यक्ष यादवको तयारी छ। पार्टी प्रवक्ता मनीष सुमनले पनि रामसहायलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना रहेको बताए। रामसहाय बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनी उपराष्ट्रपति भए बारा २ मा उपनिर्वाचन हुनेछ। उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र स्वयं उम्मेदवार हुने योजनामा छन्। मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपेन्द्र सप्तरी २ बाट पराजित भएका थिए। सो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएका थिए।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा दाबी गरेको तर उनको व्यवस्थापनका विषयमा अहिले कुनै सहमति बनिनसकेको दाबी यादवले गरे। ‘उहाँले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नुभयो,’ यादवले भने, ‘अरू विषयमा पनि कुरा हुँदै जानेछ।’ यद्यपि प्रदेशदेखि संघको सरकारसम्ममा नेकपा एसलाई सम्मानजनक सहभागिताका साथै अध्यक्ष नेपाललाई पनि प्रधानमन्त्री बनाउने प्रमुख दलबीच समझदारी बनेको स्रोतको दाबी छ। प्रधानमन्त्रीको कार्यकाल तीन शीर्ष नेतामा बाँड्ने र कार्यकाल उनीहरूले नै टुंगो लगाउने भएका छन्। दाहालपछिको कार्यकाल नेकपा एसका अध्यक्ष नेपाललाई दिने समझदारी भएको छ।  

निर्वाचनमा सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपा अन्तिम समयमा पाँच दलीय गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेको थियो भने लोसपा गठबन्धनमा जोडिएका थियो। तर निर्वाचनपछिको सत्ता समीकरणमा प्रतिनिधिसभाको ठुलो दल बनेको कांग्रेसले पूर्वसहमतिविपरीत प्रधानमन्त्री नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसहितको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यससँगै टुटेको कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो।

जसपाले दाहाललाई प्रधानमन्त्रीमै समर्थन गरेको थियो  । कांग्रेसका साथै पुरानो गठबन्धनमा रहेका नेकपा एस, लोसपाले पनि दाहाललाई मत दिएका थिए। त्यससँगै पुरानो गठबन्धनलाई ब्युँताउने प्रयासमा कांग्रेस र माओवादी नेताहरू सक्रिय भए। बुधबार साँझ कांग्रेस र माओवादीका शीर्ष नेताबीच पुरानो गठबन्धन ब्युँताउने समझदारी भएको थियो। सोहीअनुसार बिहीबार नै अन्य दलसँग छलफल गरेर त्यसलाई औपचारिकता दिने तयारी थियो। तर नेकपा एसले पनि राष्ट्रपतिमा दाबी गर्नुका साथै दुई पक्ष र बहुपक्षीय छलफल नसकिएपछि शुक्रबार बिहान बसेको चार दलको बैठकले पुरानो गठबन्धन ब्युँताउने समझदारी गरेको हो। दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिँदै कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिँदै अघि बढ्ने समझदारी आठ दलबीच भएको छ ।  

चार दलको बैठक अघि कांग्रेस र माओवादीका शीर्ष नेताहरू छलफलमा जुटेका थिए। पाँच दलले पुरानो गठबन्धनलाई ब्युँताउने समझदारीका लागि साँझ बैठक बस्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा दुई घन्टा लामो छलफल गरेका थिए। नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सारे आफ्नो समर्थन रहने अन्यथा पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने ओलीले दाहाललाई जनाएका थिए। त्यसलगत्तै ओली नेकपा एसका अध्यक्ष नेपाललाई सांसद कृष्णकुमार श्रेष्ठको निवासमा भेटेका थिए।  

राष्ट्रपतिमा आफ्नो दलको समर्थन रहने जनाउँदै पार्टी एकीकरणसहित मिलेर अघि बढ्न प्रस्ताव दोहोर्‍याएका थिए। बिहान चार दलको बैठकमा सत्ता साझेदारीसहितका विषयमा अनौपचारिक समझदारी गरेका नेपालले ओलीको प्रस्तावलाई अस्वीकार गर्दै सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका थिए। त्यसपछि बालुवाटारमा बसेको निर्वाचनअघिको पाँच दलको बैठकमा लोसपाका साथै जनमत र नाउपालाई पनि सहभागी गराइएको थियो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजे बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतिले निर्णय भएको जनाएका छन्। साँझ भएको सहमतिअनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन आठ दलको संंघीय र प्रदेशसभामा झन्डै ३१ हजार मतभारसहित स्पष्ट बहुमत हुनेछ। कांग्रेसले अघि सार्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने निश्चित छ। संघीय संसद्मा ठुलो दल रहेको कांग्रेसको १६ हजार २२१, माओवादी केन्द्रको ७ हजार ७७६, नेकपा एसको २ हजार ६७३, जसपाको २ हजार १४५, जनमतको १ हजार २४२, लोसपाको ९७१, नाउपाको ८०४ र राष्ट्रिय जनमोर्चाको २२३ मतभार छ। यद्यपि कांग्रेसले राष्ट्रपतिमा कसलाई अघि सार्ने भनेर शनिबार बिहान साढे ८ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउनेछ। पार्टी नेता रामचन्द्र पौडेललाई नै कांग्रेसले राष्ट्रपतिमा अघि सार्ने निकट स्रोतको दाबी छ। तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राष्ट्रपतिका आकांक्षी छन्।

ओलीसँग किन बिच्किए दाहाल ?

पुस १० गते एमालेकै समर्थन दाहाल प्रधानमन्त्री बनेका थिए। तर प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पहिला नै एमाले अध्यक्ष केपी ओलीबाट आफूलाई घेराबन्दी गरेको निष्कर्षमा पुगेका थिए। प्रधानमन्त्रीमा दाहाललाई समर्थन गरे पनि ओलीले आफूलाई निरन्तर ‘ह्युमिलेट’ गरेको उनको बुझाइ थियो। मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डासहितका विषयमा ओलीबाट अधिक हस्तक्षेप भएको दाहाल र माओवादी नेताहरूको बुझाइ छ। मन्त्रालय भागबन्डामा पनि ओलीले हस्तक्षेप गरेको गुनासो गर्दै आएका प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमको ओलीले प्रतिनिधिसभाको बैठकमा बचाउ गरेका थिए। त्यसप्रति असन्तुष्ट दाहाललाई दाहाल सत्ता गठबन्धनका शीर्ष नेताहरू रहेको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएकोमा पनि खुसी थिएनन्।

सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने बेलामा ओली आफैं प्रधानमन्त्रीजस्तो गरी प्रस्तुत भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानले नागरिकता विवादमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका थिए। तर उनलाई सोही पद र जिम्मेवारीमा ओलीको निरन्तरको दबाबका साथै साझेदार दलहरूबाट समेत घेराबन्दी गरेको दाहालको बुझाइ थियो। संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रविरुद्ध राप्रपासहितका दलहरूबाट निरन्तर अभिव्यक्ति भएपछि प्रधानमन्त्री दाहाल र माओवादी केन्द्र अहिलेको गठबन्धनलाई लिएर उपलब्धिको रक्षा गर्न नसकिने निष्कर्षमा पुगेको दाहालनिकट नेताहरूको दाबी छ। ‘नेपाली कांग्रेस पनि पुस १० गतेको घटनालाई रियलाइज गरेर पुरानो गठबन्धनको पक्षमा इमानदार भएर प्रस्तुत भयो,’ दाहालनिकट नेता भन्छन्, ‘ओलीजीले प्रधानमन्त्रीलाई निरन्तर निचोर्दै संविधान र गणतन्त्रलाई दुर्घटनामा पार्ने निरन्तर प्रयास गर्नुभएकाले हामी अहिलेको निर्णय लिन पुगेका हौं।’

कांग्रेसको मतले आफूहरूले पनि प्रत्यक्षतर्फको निर्वाचन जितेको र कांग्रेसले पनि माओवादीसहितका अन्य दलको मत पाएकाले पुरानो गठबन्धनमा रहेका दललाई एकअर्काविरुद्ध प्रस्तुत हुन नैतिक समस्या पर्दै आएको दुई पार्टीका नेताहरूको बुझाइ थियो। ‘कांग्रेस, माओवादीसहितको पाँच दलीय गठबन्धन नै नेचुरल थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘हामी त्यही ठाउँमा आइपुगेका छौं। अब मिलेर अघि बढ्नुको विकल्प छैन।’

राप्रपा प्रस्तावक समर्थक नबस्ने

सत्ता साझेदार दल राप्रपाले नयाँ राष्ट्रपति उम्मेदवार मनोनयनका क्रममा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको छ। पार्टी कार्यालयमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले नयाँ राष्ट्रपतिका लागि मतदान गर्ने कि नगर्ने भन्ने निर्णय लिइनसकेको उसले प्रस्ताव र समर्थक भने नबन्ने निर्णय गरेको हो।

पार्टी अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पुस १० गतेको सहमतिअनुसार एमालेको राष्ट्रपति हुनुपर्ने पक्षमा बैठकमा प्रस्तुत भएका थिए। तर पार्टी नेता पशुपति शमशेरणसहितका नेताहरू प्रतिनिधिसभाको अध्यक्ष र राष्ट्रपति एउटै दलको बन्न नहुने पक्षमा उभिएका छन्। राणासहितका केही नेता कांग्रेससहितको नयाँ गठबन्धनको पक्षमा भए पनि लिङ्देन एमालेको पक्षमा उभिएको सहभागी एक नेताले जानकारी दिए।

पार्टीले राष्ट्रपति उम्मेदवारको प्रस्ताव र समर्थक नबन्ने निर्णय गरेको बताउँदै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ गठबन्धन निर्माण र सरकारका विषयमा अहिले नै कुनै धारणा बनाइनसकेको बताए। ‘राष्ट्रपति निर्वाचनअघि पार्टीको बैठक बसेर मतदानका विषयमा हामी निर्णयमा पुग्नेछौं,’ श्रेष्ठले भने।  

एमाले क्रुद्ध, रास्वपा अनिर्णीत

राष्ट्रपति निर्वाचनका सम्बन्धमा फरक आठदलीय गठबन्धन बनेसँगै सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमाले क्रुद्ध बनेको छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दल कांग्रेस, नेकपा एस, जसपासहितका आठ दलबीच पुस १० गतेको सहमतिविपरीत राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय भएसँगै एमाले क्रुद्ध बनेको हो।

एमाले सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० को सहमतिविपरीत राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गर्नु धोकाधडीको चरम रूप भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीको यो रूपले उहाँको अस्थिर स्वरूप, धोकाधडी व्यवहार, चरम अवसरवाद र विदेशी शक्तिसँग टिक्न नसक्ने व्यवहार उदांगो भएको छ।’ यो सहमति एमालेका लागि सहज नभएको भट्टराईले बताए। ‘यो निश्चय पनि एमालेका लागि सहज स्थिति होइन,’ नागरिकसँग उनले भने, ‘जेसुकै भए पनि हामी हाम्रो अडानमा कायम रहन्छौं। आफ्नो उम्मेदवार दिएर चुनावमा होमिनेछौं।’ यस विषयमा शनिबार बस्ने बैठकले आवश्यक निर्णय लिने पनि उनले बताए।

नेता भट्टराईले आठ दलीय सहमतिसँगै पुस १० गते बनेको गठबन्धनको औचित्य पनि सकिएको बताए। ‘प्रधानमन्त्री दाहालको कदमले त्यसको औचित्य सकिएको छ। यस्तो अपवित्र गठबन्धनमा हामी टाँस्सिएर बस्दैनौं,’ उनले भने। सरकार कहिले छाड्ने भन्ने विषयमा पार्टी बैठकले निर्णय गर्ने उनले बताए। सत्ता गठबन्धनको अर्को दल रास्वपाले पनि पुस १० गते बनेको गठबन्धन टुटेको बताएको छ। पार्टीका सांसद सन्तोष परियारले प्रधानमन्त्री दाहालले नै नयाँ गठबन्धन बनेको भनेपछि पुरानो टुटेको बताए। ‘हामी हेरिरहेका छौं, प्रधानमन्त्री स्वयंले नयाँ गठबन्धन बन्यो भन्नुभएको छ,’ उनले भने, ‘पुस १० गतेको सहमति तोडिएपछि त स्वाभाविक रूपमा त्यो गठबन्धन पनि सकियो नि !’

राष्ट्रपति निर्वाचन सन्दर्भमा रास्वपाले पार्टी बैठकबाटै औपचारिक निर्णय लिने परियारले बताए। उनले भने, ‘पुस १० गते बनेको सहमति र गठबन्धनको सूत्रधार हामी पनि थियौं। अब त्यो सहमति र गठबन्धन नै नरहेपछि पार्टीको बैठक बसेर उपयुक्त निर्णय लिन्छौं।’

प्रकाशित: १३ फाल्गुन २०७९ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App