९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवासुविधा वापतको रकम सामाजिक काममा लगाउन थालेका छन्। जनप्रतिनिधिलाई प्राप्त सेवासुविधा सामाजिक क्षेत्रमा खर्चिने गरी घोषणापत्र सार्वजनिक गर्दै स्थानीय निर्वाचनमा होमिएका खड्काले निर्वाचनको आठ महिनामै घोषणापत्र कार्यान्वयनमा ल्याउन थालेका छन्।

खड्काले उपप्रमुखको निर्वाचनमा होमिंदा आफूलाई प्राप्त सेवा सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए। खड्काले गत दशैंमा सहिद, बेपत्ता र घाइतेका परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेका थिए भने हालै एक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन्।

जनप्रतिनिधि भएको आठ महिना पूरा भइसक्दा प्राप्त सेवा सुविधा वापतको रकमले खाद्यान्न सहयोग तथा विद्यालयमा अक्षयकोष स्थापना गरिएको खड्काले बताए।

जनप्रतिनिधिका लागि प्राप्त सेवा सुविधा वापतको रकमले बागलुङ बजारको एक सामुदायिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको नगर उपप्रमुख खड्काले बताए। उनले बागलुङ नगरपालिका-२ स्थित रुद्रेपिपल माध्यामिक विद्यालयमा गरिब तथा जेहेनदार विद्यार्थीको हितका लागि खर्चिने गरी एक लाख रुपैयाँको कोष स्थापना गरेका हुन्। खड्का एक महिनाभित्रै अर्को सामुदायिक विद्यालयमा समेत एक लाख रुपैयाँ बराबरको कोष स्थापना गर्ने तयारीमा छन्।

‘जनप्रतिनिधि जनताको सेवक हो, नगर उपप्रमुखको हैसियतमा विभिन्न सेवा सुविधा वापतको रकम आउने रहेछ, उक्त रकमलाई सामाजिक काममा लगाउने घोषणापत्रमै उल्लेख गरिएको थियो, त्यही घोषणापत्र कार्यान्वयनमा लागेको हुँ’, उनले भने, ‘आफूलाई प्राप्त सेवासुविधा सहिद परिवार, बेपत्ता, घाइतेको उन्नयनका लागि र शैक्षिक सुधारमा खर्च गर्ने गरी अगाडि बढेको छु, माघ महिनाभित्रै थप एक लाख रुपैयाँको अक्षयकोषका लागि सामुदायिक विद्यालयको खोजीमा छु।’

उनले उत्कृष्ट अध्ययन तथा अध्यापन भइरहेको सामुदायिक विद्यालयका विद्यार्थीको हितका लागि अक्षयकोष स्थापना गर्दै जाने लक्ष्य रहेको बताए। जनप्रतिनिधिको सेवासुविधा लिएर सामाजिक कार्यमा खर्च गर्दा आफूमा जनप्रतिनिधि भएकामा गर्व महसुस हुने भएकाले आफूले यस्तो निर्णय लिएको बताए।

‘नगरभित्र चाडवाडको समयमा गरिबको चुलोमा मिठो पाकोस्, एक जोर लुगा लगाउन पाऊन् भन्ने चाहना छ, उनीहरूलाई एक छाक खानाका लागि आफूलाई आएको सेवासुविधा वापतको रकम खर्चिंदै आएको छु भने पाँच वर्षे कार्यकालमा धेरैलाई सहयोग गर्ने अपेक्षा लिएको छु’, उपप्रमुख खड्काले भने, ‘जनप्रतिनिधि जागिरे होइन, जनताको सेवक हो।

काम गर्ने क्रममा जनताकामा पुग्दा जहाँ सहयोगको आवश्यकता देख्छु, त्यही सहयोग गर्नेछु, कुनै निश्चित क्षेत्र छैन तर शिक्षा क्षेत्रको विकास, सहिद परिवार र गरिब र अपाङ्गता केन्द्रित भएर आफ्नो सेवा सुविधा खर्च गर्ने सोचमा छु।’

उनले विद्यालयका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको र त्यही कोषको ब्याजवापतको रकमबाट उपप्रमुखकै सल्लाहबाट विद्यार्थीको शैक्षिक गुणस्तरमा खर्चने रुद्रेपिपल माध्यामिक विद्यालयका प्रधानध्यापक राजेश श्रेष्ठले बताए। रासस  

प्रकाशित: २२ माघ २०७९ ०३:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App