४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

राष्ट्रियसभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रको प्रतीक भएकाले सबैको सहमतिमा बनाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याबाट मुक्ति मिल्ने उनको भनाइ छ। उनले राष्ट्रपति विद्यादेवी भण्डारीमा दलगत गन्ध धेरै आएको बताए। राष्ट्रपति भण्डारीले दलको प्रभावमा परेर काम गरेको आरोप उनले लगाए।

उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए? होला नि त अर्थ? भोट हाल्ने जनताका प्रतिनिधिले, मान्यहरुले? तर त्यसको चुनाव चाहीँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि। ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो। यसलाई विचार गरेर राष्ट्रपतिको चुनावलाई हामीले निर्वाचन जस्तो हेनुपर्छ। ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ। राष्ट्रपति एकताको प्रतिक हो। संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो। यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन। तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा बहस गर्नुपरेन तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो। राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ।’

उनले पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका लागि विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको औँल्याए। राष्ट्रपतिको निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै उनले प्रश्न समेत गरे। वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ‘ह्वीप’ नलाग्ने अभ्यास गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: १४ माघ २०७९ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App