७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, भोलि प्रधानमन्त्री पनि एमालेकै बन्ने अवस्थामा राज्यका सबै संयन्त्र उसकै हातमा जाने भएकाले यसबारे सोच्नु जरुरी रहेको बताए। ‘भोलिको त्यो अवस्थाबारे अहिले नै सोच्न जरुरी छ,’ दाहाललाई उद्धृृत गर्दै स्थायी कमिटीका एक सदस्यले भने, ‘सभामुख गइसक्यो, राष्ट्रपति पनि एमालेको हुने र दुई वर्षपछि प्रधानमन्त्री पनि ओली (केपी ओली) जी नै हुने। त्यसपछि के होला ? त्यसैले हामीले अहिल्यै गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’  

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले बैठकमा भोलिको शक्ति सन्तुलनबारे कुरा उठाएको स्थायी कमिटीका अर्का सदस्य राम कार्कीले बताए। नागरिकसँग कार्कीले भने, ‘बैठकमा विगतको गठबन्धन टुट्नुका कारण, वर्तमान गठबन्धन बन्नुका कारण र भविष्यको राजनीतिक सम्भावनाबारे अध्यक्ष कमरेडले कुरा राख्नुभयो।’ कांग्रेसले सहमति पालन नगर्दा पुरानो गठबन्धन टुटाएर नयाँ बनाउनुपरेको कुरा दाहालले बैठकमा राखेका थिए।  

नयाँ गठबन्धन पनि सहज नभएको दाहालले बताएका थिए। ‘नयाँ गठबन्धन पनि स्वाभाविक रूपमा दसतिर फर्किएका दलहरूको छ। खँदिलो भइसकेको छैन। यसमा चुनौतीसँगै अवसर पनि छन् भन्ने कुरा अध्यक्षले राख्नुभयो,’ कार्कीले भने, ‘लोकतन्त्रका सबैजसो पिलर सभामुख, प्रधानमन्त्री, राष्ट्रपति र न्यायालयमा एकै पार्टीको उपस्थितिभन्दा पनि सबैको शक्ति सन्तुलन हुनुपर्नेतर्फ उहाँको विशेष चासो र चिन्ता छ।’

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति’

राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारलाई रोक्न माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’लाई जोड दिएको छ। प्रधानमन्त्री दाहालले पार्टी स्थायी कमिटी बैठकमा यही कुरामा बढी जोड दिए। स्थायी कमिटी सदस्य कार्कीका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा अहिले सबै पार्टीले आफूलाई विश्वासको मत दिएकाले सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने दायित्व रहेको बताएका थिए। ‘देशको अर्थतन्त्रको अवस्था र भूराजनीतिक संवेदनशीलताका कारण पनि राष्ट्रिय सहमति आवश्यक हुनेमा उहाँको चिन्ता रह्यो,’ कार्कीले भने।  

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेगरी बैठकमा कुरा उठेको बताए। ‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास गर्छौं,’ पौडेलले भने, ‘कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन। एमालेसँग पनि छलफल भएको छ। छलफल गरेर अघि बढ्छौं।’  

राष्ट्रिय सहमतिअनुसार अघि बढ्दा सम्भावित दुर्घटना रोक्न सकिने र प्रतिनिधिसभा पाँच वर्षसम्म जोगाउन सकिने सचिव पौडेलले बताए। ‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सबैले समर्थन गर्नुभयो। अब राष्ट्रपतिमा पनि त्यसैगरी सहमति जुटाएर अघि बढ्नुपर्छ। सहमतिमा हामीले राष्ट्रपति छान्यौं भने भोलि हुने सम्भावित दुर्घटना नियन्त्रण गर्न, संविधान संरक्षण गर्न र प्रतिनिधिसभालाई पाँच वर्षसम्म सकुशल लैजान सहज हुन्छ,’ उनले भने। कांग्रेसले नयाँ सरकारको पहिलो अढाइ वर्ष प्रधानमन्त्री दिन नमानेपछि दाहालले पुस १० गते सहकार्य तोडेर एमालेसँग गठबन्धन गरेका थिए।  

एमालेसहितको समर्थनमा दाहाल सोही दिन प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा पहिलो अढाइ वर्ष दाहाल प्रधानमन्त्री हुने र त्यसपछि ओली हुने, सभामुख पनि आलोपालो गर्ने र राष्ट्रपति एमालेले लिने सहमती भएको दाबी गरिएको छ।  

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई कांग्रेसले समेत विश्वासको मत दिएपछि स्थितिमा केही परिवर्तन आएको छ। त्यसपछि प्रधानमन्त्री दाहालले खुलेरै कांग्रेसले पनि विश्वासको मत दिएकाले ऊसँग पनि छलफल र सहमति जुटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। त्यसैअनुसार उनले सर्वदलीय बैठकसमेत गरिसकेका छन्। बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसले राष्ट्रपति खोजेको छ। एमालेले भने पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरेको छ।

प्रकाशित: १३ माघ २०७९ ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App