८ वैशाख २०८१ शनिबार
राजनीति

उपसभामुखमा राना निर्वाचित

प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर निर्वाचित भएकी छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा रानालाई उपसभामुख बनाउन गरिएको प्रस्तावको पक्षमा १६६ मत परेको थियो। प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्याको बहुमत पुगेकाले सभामुख देवराज घिमिरेले उनलाई निर्वाचित भएको घोषणा गरेका हुन्।

२७५ सदस्यीय संसद् सदस्यमा बहुमत पुग्न १३८ मत आवश्यक पर्छ। तर रानाले बहुमतका लागि चाहिनेभन्दा २८ मत बढी पाएकी हुन्। रास्वपाकी सांसद रहेकी रानाको पक्षमा नेकप एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा), आम जनता पार्टी (आजपा) र स्वतन्त्र सांसदले मत दिए। उपसभामुखमा निर्वाचित भएसँगै उनी २०७९ सालमा रवि लामिछानेको नेतृत्वमा गठित नयाँ दलबाट उपसभामुख बनेकी हुन्।

उपसभामुखमा रास्वपा र नेपाली कांग्रेसका दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। उमेदवारी दर्ता क्रममा रानाको नाम अगाडि रहेकाले उनको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकमा सुरुमा निर्णयार्थ प्रस्तुत गरिएको थियो। रानालाई उपसभामुख बनाउनुपर्ने पहिलो प्रस्तावलाई निर्णयमा लैजाँदा पक्ष, विपक्ष र तटस्थाका लागि तीनवटा लबी विभाजन गरी दस्तखतबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो। पहिलो प्रस्तावको पक्षमा बहुमत पुगेपछि दोस्रो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुनपर्ने नियम छ।

कांग्रसले मुक्ताकुमारी यादवलाई उपसभामुखमा उभ्याएको थियो। कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) का सांसदले रानाको विपक्षमा मतदान गरेका थिए भने ‘मत दिन्न’ अर्थात् तटस्थमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मतदान गरेको थियो। बहुमत सदस्यको समर्थनमा उपसभामुख बनेकी रानाको विपक्षमा ९७ मत परेको थियो।

उपसभामुख निर्वाचित भएपछि रानाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संविधानले दिएको भूमिका तटस्थ रहेर इमानदारीपूर्वक निर्वाह गर्ने बताइन्। उनले सभामुखसँग सहकार्य गरेर प्राप्त पदीय जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने पनि बताइन्। आफूलाई सबैले ‘आमा’ भन्ने गरेको बताउँदै उनले भनिन् ‘आजबाट ठुलो परिवारमा भित्रिएकी छु।’ नेपाली जनताको हकअधिकारलाई स्थापित गराउन निडरतापूर्वक लाग्ने उनको भनाइ थियो।

गत बिहीबार सभामुखको निर्वाचन भएको दुई दिनपछि शनिबार उपसभामुखको निर्वाचन भएको थियो। सभामुखलाई समर्थन गर्ने दलले उपसभामुखलाई पनि समर्थन गरेका थिए। उपसभामुखको निर्वाचनअघि सभामुख देवराज घिमिरेले सर्वदलीय छलफल पनि गरेका थिए। दिउँसो १ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको थियो। उपसभामुख पदको निर्वाचनमा अनुपस्थित सदस्यहरू १० जना थिए भने सभामुख घिमिरेले निर्वाचनमा भाग लिएनन्। उनी एमालेबाट सभामुख बनेका हुन्। अनुपस्थित हुने सांसदमा कांग्रेसका चारजना छन्। जसमा निलम्बित सांसद टेकबहादुर गुरूङसहित बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राजभण्डारी छन्। प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरी पनि बैठकमा अनुपस्थित भए। उनी एमालेका सांसद हुन्। माओवादी केन्द्रका वर्षमान पुन बिरामी रहेकाले उपस्थित भएनन्। त्यसैगरी नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे, कृष्णकुमार श्रेष्ठ (किसान) र धनबहादुर बुढा पनि बैठकमा अनुपस्थित भए। राप्रपाका धवलशमशेर जबराको पनि उपस्थिति रहेन। जसबाट ११ मत मतदानमा देखिएको छैन। कुल २७५ सांसद रहेको संसदमा उपसभामुखको निर्वाचनमा २६४ मत खसेको थियो।

एमालेबाट ७९ सिटमा जम्मा ७७ मत खसेको थियो। माओवादी केन्द्रबाट ३२ सिटमा ३१ मत खसेको थियो। रास्वपाबाट सबै २० मत खसेको थियो। राप्रपाबाट १४ सिटमा १३ मत खसेको थियो। जसपाबाट सबै १२ मत खसेको थियो। जनमत पार्टीको ६ र नाउपाको ४ मत खसेको थियो। आजपाका प्रभु शाहको १, स्वतन्त्रबाट अमशेरकुमार सिंह र योगेन्द्र मण्डलको २ मत पनि पक्षमै खसेको थियो। यसरी कुल १६६ मत रानाको पक्षमा खसेको थियो। उनको विपक्षमा कांग्रेसका ८९ सिटमध्ये ८५ मत खसेको थियो। नेकपा एसका १० सिट मध्ये ७ मत खसेको थियो। लोसपाका ४ र राष्ट्रिय जनमोर्चाको १ मत पनि विपक्षमै खसेको थियो। यसरी विपक्षमा ९७ मत खस्यो। नेमकिपाको १ मत तटस्थमा खसेको थियो।

प्रकाशित: ८ माघ २०७९ ००:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App