१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ: मन्त्री लिङ्देन

फाइल तस्बिर।

नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने बताएका छन्।

पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका लिङ्देनले घुस प्रकरणमा जोडिएमा ती नेतालाई सामाजिक जीवन र प्रतिष्ठाबाट उठ्न नसक्ने गरी कारबाही गर्ने बताए।

जनताले राप्रपालाई सुशासनका लागि अपेक्षा गरेकाले उनीहरूलाई निरास नबनाउने उनको भनाइ थियो। 'हाम्रा प्रतिबद्धता पूरा गर्न सरकारमा सहभागी हुने कठोर अग्निपरीक्षामा होमिएका हौँ, व्यवहारिकरूपमै कुनै पनि भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौँ। तपाईँहरूको सदाझैँ साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौँ', उनले भने।

शुभेच्छुक, शुभचिन्तकको ठूलो पङ्क्तिले राप्रपा सरकारमा नजाओस् भन्ने चाहना राखेकाले उनीहरूलाई धैर्य गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले हाम्राबारे अहिल्यै मूल्याङ्कन गर्न र कुनै धारणा बनाउन हतारो हुने बताए। 

उनले भने, 'मन्त्रीहरूको स्वागतमा फूलमाला होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी परिणाममुखी काम गर्छौँ, हामी आफ्नो जिम्मेवारीमा खरो उत्रन्छौँ।' 

सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्दै उपप्रधानमन्त्री लिङ्देनले विकास निर्माणका योजना ल्याउन भन्दै सरुवा, बढुवा र नियुक्तिको विषयका काम गर्न नसकिने बताए।

प्रकाशित: ५ माघ २०७९ १५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App