१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारलाई विश्वासको मत दिनेबारे काँग्रेस सांसदहरुको मत बाँझियो

सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली काँग्रेसका सांसदहरुबीच मत बाँझिएको छ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव आइरहँदा सांसदहरुले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका हुन्।

पार्टी संसदीय दलको बैठक बस्नु अघि मंगलबार संघीय संसद भवन परिसरमा पुग्नु भएका नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय तहमा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताए। उनले स्थानीय तहमा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने स्पष्ट पारे।

अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गरे। उनले प्रतिपक्षमै बसेर काँग्रेसले काम गर्दा उपयुक्त हुने दावी समेत गरे। सांसद खतिवडाले भने, ‘हामीलाई हिजो धोका दिएकै हो। हामीले अहिले पनि धोका दिएका छैनौं। हामी सहमतीको राजनीतिमा सबैलाई लिएर जान तयार छौं। तर सधैं धोकाको राजनीतिमा विश्वास गरेर हुँदैन। अहिले हामीले प्रमुख प्रतिपक्षकै रुपमा काम गर्नु पर्छ भन्ने मलाई लाग्दछ।’

काँग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भिर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ। उनले विपक्षमै बसेर अघि बढदा स्थानीय तहको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताए। सांसद घिमिरेले भने, ‘वर्तमान सत्ता गठबन्धनमा गएर मिल्दा प्रतिपक्षको सुन्यताको समस्या पनि सृजना गर्न सक्छ। त्यसैले समस्याहरु छन हामी कहाँ। यो बीचमा हामीले एउटा राजनीतिक सन्तुलन मिलाएर निर्णय लिने हो। आजको दिनमा हामी विपक्षमै बस्ने सम्भावना पनि छ। अर्कोतिर विपक्षसँग बस्दै गर्दाखेरी हाम्रो जुन स्थानीय तहदेखिको गठबन्धन छ। त्यो गठबन्धन भत्किएर नयाँ किसिमको नयाँ कटूता सृजना हुने सम्भावना पनि छ हिजोको गठबन्धनमा। यसलाई सन्तुलनमा मिलाएर अघि बढने विषयमा गम्भिर भएर हामीले सोचेका छौं। त्यो निष्कर्षमा हामी पुग्छौं।’

काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढनुपर्ने पक्षमा छन् भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिएका छन्। 

प्रकाशित: २६ पुस २०७९ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App