१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश स्थायी संरचनाका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरू

प्रदेश १ सरकारको स्थायी संरचना निर्माणका लागि प्रदेश सरकारले जग्गाको प्रक्रिया सुरू गरेको जनाएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बुधबार पत्रकार सम्मेलन गरी प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन्।

मन्त्री कार्कीले प्रदेश सरकारका मन्त्रालयहरू, प्रदेशसभा भवन विराटनगर महानगरपालिका भित्र निर्माण गर्नेगरी जग्गा प्राप्तिको प्रक्रिया सुरू गरिएको छ। यस्तै प्रदेश सरकारका मन्त्रीहरू, सभामुख, मुख्यमन्त्री लगायतको आवासका लागि बृहत विराट क्षेत्रभित्रको मोरङको बुढीगंगा स्थित डंग्राहामा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ।  

विराटनगर महानगरपालिकाको वडा नम्बर ५ मा प्रदशेका मन्त्रालयहरूका लागि निःशुल्क ५ विघा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ। यस्तै प्रदेशसभा भवनका लागि विराटनगर –६ मा २ विघा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ। प्रदेशका मुख्य मन्त्री, मन्त्री तथा अन्य पदाधिकारीहरूको आवासका लागि मोरङको डंग्राहामा विराटनगर महानगरपालिकाले ५ विघा जग्गा दिने निर्णय गरिसकेको कार्कीले बताए। मन्त्री कार्कीले भने‘ प्रदेश सरकारको स्थायी संरचना निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको छ।’

मन्त्री कार्कीले विराटनगरको ५ नम्बर वडाका प्रदीप श्रेष्ठले मन्त्रालयका प्रशासनिक भवन निर्माणका लागि ५ विगाहा र ६ नम्बर वडाका दीक्षान्त पोखरेलले प्रदेशसभा हल निर्माणका लागि २ विगाहा जग्गा दिने प्रतिबद्धतासहित मन्त्रालयलाई लिखित निवेदन दिइसकेको जानकारी दिए। प्रदेशसभाले २०७६ साल वैशाख २३ गते सोमबार विराटनगरलाई प्रदेशको राजधानी तोकेको थियो। प्रदेशको राजधानी तोकिएको साढे २ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले प्रदेशका संरचनाहरु निर्माणको काम अगाडि बढाउन सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले प्रदेश राजधानीको संरचना निर्माणका लागि गुरुयोजना तयार पारी निर्माण कार्य सुरु गर्न भन्दै १ करोड बजेट छुट्याएको छ।

पत्रकार सम्मेलनमा मन्त्री कार्कीले आफ्नो कार्यकाल उपलब्धिमूलक भएका दावी गरे। कार्कीले आन्तरिक मामिला मन्त्रालयलाई शुन्य वेरुजु भएको मन्त्रालयका रुपमा स्थापित गर्न सफल भएको दावी गरे। यस्तै प्रदेशको राजधानी विराटनगरलाई डुवान मुक्त बनाउन केशलिया  नदिको व्यवस्थापन र रानी दुहवी करिडोर निर्माणको गुरुयोजना तयारपारी निर्माण प्रक्रिया थालिएको जानकारी दिए।  

प्रकाशित: २० पुस २०७९ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App