२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ। दुई दिन (शनिबार र आइतबार) चलेको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले संगठन निर्माणमा लाग्नुपर्ने धारणा राखेपछि यसलाई महाभियानकै रूपमा अघि बढाउन पार्टी जुट्ने भएको हो।

बैठकले तत्काल अन्य पार्टीसँग एकताभन्दा पनि तल्लो तहसम्म संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउने कार्ययोजना अघि सारेको छ। बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिनेमा समान धारणा बने पनि सरकारमा जाने/नजानेबारे मत बाझिएको छ। धेरै सदस्यले सरकारमा सहभागी हुनुपर्ने र केहीले सहभागी हुन नहुने धारणा राखेका थिए। पार्टी नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले स्थायी कमिटीका धेरैजसो नेताको धारणा दाहाल नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने रहेको बताए।

‘गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहेको छ। हामीले पार्टी पुनर्गठनको महाअभियान थाल्ने तयारी गरेका छौं। नेताहरूले आआफ्ना धारणा राख्नुभएको छ,’ तुलाधरले भने। उनका अनुसार केही नेताले मात्रै सरकारमा जान नहुने धारणा राखेका थिए।

नेकपा एसले दाहाल नेतृत्वको खिचडी सरकार आफ्नो पार्टीले समर्थन नदिए पनि चल्न सक्ने निष्कर्ष निकालेको छ। ‘हामीले समर्थन नदिए पनि सरकार चल्छ। तर हिजो हामीसँगै हिँडेका दाहाल प्रधानमन्त्री भएकाले समर्थन दिनुपर्छ भन्ने धारणा बैठकमा आएको छ। सरकारमा जान हतार गर्न हुँदैन तर समर्थन गर्ने कुरा फरक हो’, उपमहासचिव तुलाधरले भने। उनले अहिले कुनै पनि पार्टीसँग नेकपा एसको एकता नहुने दाबी गरे।

पार्टी एकताको हल्ला एमालेका केही नेताले चलाएको तर त्यसतर्फ नेकपा एसको चासो नभएको तुलाधरले बताए। ‘पार्टी एकताको विषयमा एमालेका केही नेताले मात्रै हल्ला चलाएका छन्, एकताका लागि माओवादी र जसपाका नेताहरूसँग पनि कुरा भइरहेको छ तर अहिले एकता हुँदैन’, उनले भने। तुलाधरका अनुसार बृहत्तर वाम एकताका लागि पहल गर्ने पक्षमा नेकपा एस छ तर कुनै एक पार्टीसँग एकता गर्ने कुराचाहिँ भएको छैन।

उनले पार्टी अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि एमालेले अहिलेसम्म कुनै प्रस्ताव नगरेको बताए ।

प्रकाशित: १८ पुस २०७९ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App