४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

२१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक

नेपालमा २१ वर्षपछि राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता भएको छ।

नेपाल जिम्न्यास्टिक संघको आयोजनामा पोखरामा २०६१ सालमा राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताको १३औं संस्करण भएको थियो। दुई दशक पूरा भएपछि १४औं राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिता शुक्रबारदेखि भक्तपुरको जगातीस्थित लिवालीमा सुरु भएको छ। कम्पिटिसन वानमा टिम (भल्ट र फ्लोर एक्सरसाइज) को प्रतिस्पर्धा भइरहेको छ। पुरुषतर्फ भल्टमा बागमती प्रदेशले शीर्ष स्थानबाट अग्रता बनाएको छ। विभागीय टोली नेपाल आर्मी र एपिएफ क्लबले बागमतीलाई पछ्याइरहेका छन्। आर्मीको ३७.८ स्कोर र बागमतीको ३६.७ स्कोर रहेको छ। एउटा टिममा ६ जना खेलाडी समावेश हुन्छन्। अहिले महिला एक्सरसाइज प्रतिस्पर्धा भइरहेको छ।

व्यक्तिगततर्फ भल्ट र फ्लोरको प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगिता एक सय १४ जनाले प्रतिस्पर्धा गरिरहेका छन्। पछिल्लो १३औं संस्करण २०६१ सालमा पोखरामा भएको थियो। २१ वर्षपछि १४औं संस्करण आयोजना भएको छ।

 त्यति बेलाको टिम च्याम्पियन भक्तपुर हो। अलराउन्डरमा पुण्यराम घेमसु च्याम्पियन हुँदा श्रीप्रसाद कोजु उपविजेता भएका थिए। कोजु यस प्रतियोगिता आयोजक भइसकेका छन्। दुईदिने प्रतियोगिताको स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम, नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान र संघका उपाध्यक्ष राजकुमार कार्कीलगायतले उद्घाटन गरेका थिए।

सो अवसरमा मन्त्री गौतमले जिम्न्यास्टिक खेलमा फोकस र कन्सनट्रेसन धेरै हुने भएकाले यो खेलको विशेष महत्त्व रहेको बताइन्। यो खेलले पढ्न र जीवनलाई सहज रूपमा अगाडि बढाउन पनि मद्दत दिने उनको विश्वास छ। पछिल्ला समय देशमा धेरै नकारात्मक कुराहरू आइरहने भएकाले आफू मन्त्री भएपछि मानसिक स्वास्थ्यलाई ध्यान दिएर अगाडि बढेको उनले उल्लेख गरिन्।

खेलले मस्तिष्कलाई सकारात्मक बनाउन मद्दत मिल्ने भएकाले यसको विशेष महत्त्व रहेको र खेलकुदले मानसिक स्वास्थ्य राम्रो गर्ने उनी बताउँछिन्। टिम भावना र सहकार्यजस्ता आधारभूत सीप खेलकुदबाट नै सिक्न पाइने भएकाले यसको विशेष महत्त्व रहेको उनको बुझाइ छ।

मन्त्री गौतमले खेलकुदले मानिसको जीवनमा आत्मविश्वास बढाउने बताइन्। प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ क्लबका एक सय २० खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य तथा पछिल्ला संस्करणका उपविजेता श्रीप्रसाद कोजुले जानकारी दिए।

 संघका अध्यक्ष प्रधानले लामो समयपछि प्रतियोगिता हुँदा विभाग र सातै प्रदेशका खेलाडीहरू धेरै उत्साहित भएर खेलेको बताए। यो प्रतियोगिताले नेपालमा जिम्न्यास्टिक खेलले उचाइ प्राप्त गर्ने उनको विश्वास छ। सरकारले यो खेललाई प्राथमिकता दिन थालेको उनी बताउँछन्।

नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा संघका नेपाल जिम्न्यास्टिक संघ उपाध्यक्ष राजकुमारी कार्कीले यस प्रतियोगितामा पुरुष/महिलामा समान आठ गरी १६ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको बताए।

प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिम्न्यास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने कार्कीले जानकारी दिए। उनले यो प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन मद्दत पुग्ने आशा व्यक्त गरेका छन्।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरूले लामो समयपछि नेपालमा राष्ट्रिय च्याम्पियनसिप हुँदा उत्साहित भएको बताएका छन्। उनीहरूले पछिल्ला समय नेपालमा जिम्न्यास्टिक खेल पुनर्जीवित हुने संघारमा रहेको आशा व्यक्त गरेका छन्।    

प्रकाशित: १७ माघ २०८२ ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App