६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बने पनि सरकारबाट विमुख हुनुपर्ने अवस्था आउनुका कारण, त्रुटि वा कमीकमजोरीमा खुला र पारदर्शी रूपमा छलफल हुनुपर्ने बताएका छन्।  

‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका अवसरमा शनिबार उनीहरूले प्रतिनिधिसभा निर्वाचन परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षी बन्न पुग्दा कार्यकर्तामा गम्भीर असन्तुष्टि, आक्रोश र उदासीनता छाएको उल्लेख गर्दै यस्तो अवस्था किन आयो भनेर पार्टीभित्र खुला र पारदर्शी रूपमा छलफल गर्नुपर्ने बताएका हुन्। उनीहरूले नेताकार्यकर्तामा आक्रोश बढ्नु अस्वाभाविक नभएको पनि बताएका छन्।

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्। उनीहरूले तत्कालीन सत्ता गठबन्धन दलहरूसँगको वार्तामा आफूहरूलाई सहभागी गराएको भए अहिलेको अवस्था नआउने धारणा पनि राख्दै आएका छन्। सभापति देउवासहित संस्थापन पक्षका नेताले भने कांग्रेसका जिम्मेवार पदाधिकारीहरू पार्टीले राजकीय तहमा सबै कुरा गुमाउँदा उत्पन्न परिस्थतिलाई सम्हाल्न लाग्नुको साटो ‘खुच्चिङ’ भन्दै दोषारोपणमा मात्रै उत्रेको बताएका छन्। संस्थापन पक्षले कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभामा ठुलो दलको हैसियतमा नयाँ सरकारको नेतृत्व पार्टीले लिने निर्णय गरेको र त्यसैअनुसार सभापति देउवासहितका नेताहरू वार्तामा जुटेको प्रस्टीकरण दिँदै आएका छन्।  

महामन्त्रीद्वय थापा र शर्मासहित संस्थापन इतर पक्षका नेताले सभापति देउवाको अधिक पदलोलुपताले अहिलेको अवस्था आएको बताउँदै आएका छन्। महामन्त्रीद्वयले शनिबार संयुक्त विज्ञप्ति जारी गरी आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदारीपूर्वक समीक्षा गर्ने पहिलो दायित्व पार्टीका सामु आएको जनाएका छन्। त्यस्तै सरकारको नेतृत्व लिन नसक्नुमा पार्टीका तर्फबाट भएका असावधानी, कमजोरी र गल्तीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गरी अबको मार्गचित्र तय गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन्।

विज्ञप्तिमा लेखिएको छ, ‘कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नुपर्छ। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन।’  

निर्वाचनको समीक्षासहितका विषयमा छलफल गर्न कांग्रेसले यही पुस २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ। महामन्त्रीद्वयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा गठित सरकारलाई जनताप्रति जवाफदेही बनाउन कांग्रेसले जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्ने धारणा पनि सार्वजनिक गरेका छन्।

प्रकाशित: १७ पुस २०७९ ००:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App